• Breaking News

    9.08.2015

    अमेरिकी डलर १ सय ७ नाघ्यो, अझै कति बढ्ने ? नेपाली अर्थतन्त्रमा ठुलो हानी

    विश्व अर्थतन्त्रमा नेपाली मुद्रा कमजोर बनेको छ। अमेरिकी डलर मजबुत बन्दै गएपछि भारुसँगै नेपाली मुद्राको मूल्य ह्रास भएको हो।
    बुधवार अमेरिकी डलरको भाउले १ सय ७ रुपैयाँ नाघेको छ। यस दिनका लागि नेपाल राष्ट्र बैंकले डलरको विक्रीदर मूल्य १ सय ७ रुपैयाँ २२ पैसा तोकेको छ। वाणिज्य बैंकहरुमा भने १ सय ८ रुपैयाँभन्दा माथि कारोवार भएको छ। अमेरिकी र समग्र यूरोको अर्थतन्त्र मजबुत बन्दै गएपछि डलर महँगो भएको विश्लेषकहरुको तर्क छ। अमेरिकी अर्थतन्त्र मजबुत बन्दै गएपछि लगानीकर्ताहरुमा उत्साह थपिएको र डलर मजबुत बनेको विश्लेषकहरु बताउँछन्।



    राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले डलरको भाउ मजबुत हुनुको मुख्य कारण अमेरिकी अर्थतन्त्रकै प्रभाव रहेको बताउँछन्। उनले अमेरिकी बैंकले निर्धारण गर्ने व्याजदरमा समेत डलरको भाउ निर्भर रहने बताए। ‘अमेरिकाको अर्थतन्त्र र नीति जसरी अघि बढ्छ, त्यसले डलरमा प्रभाव पार्दै जान्छ’ उनले भने।

    यसरी डलर मजबुत बन्दै जाँदा नेपाली मुद्रा स्वतः कमजोर सावित हुन्छ। नेपाली मुद्रा कमजोर भइसकेपछि नेपालको अर्थतन्त्रमा यसले ठूलै नकारात्मक असर पार्ने पंगेनी बताउँछन्।
    डलरको मूल्य बढ्दा सबैभन्दा धेरै रकमको आयात हुने पेट्रोलियम पदार्थको भाउमा पनि असर पर्दछ।

    डलर महँगिदा नेपालले पेट्रोलियम पदार्थमा धेरै रकम खर्चिनुपर्छ। यद्यपी पछिल्लो पटक कच्चा तेलकै मूल्यमा आएको गिरावटका कारण डलरको मूल्य बढे पनि यसमा असर कम देखिएको विश्लेषकहरुको भनाई छ। नेपालमा सबैभन्दा धेरै मूल्यको आयात हुने पेट्रोलियम पदार्थमै रकम बढी खर्चिनुपर्ने भएपछि व्यापार घाटामा यसले सघाउ पुग्नेछ।

    पेट्रोलियम पदार्थ मात्र नभई तेस्रो मुलुकहरुबाट आयात हुने अटोमोवाइल्स तथा पार्टपूर्जा, इलेक्ट्रोनिक्स, खाद्यान्न तथा लत्ताकपडा, औषधीजन्य बस्तुहरु, मेसिनरी सामानहरु सबैको मूल्य बढ्न जान्छ। यसले गर्दा नेपालबाट बाहिरिने रकम पनि ठूलो हुन जान्छ र व्यापार घाटामा बृद्धि हुन्छ।

    डलरको मूल्य बढ्दा राष्ट्रिय स्तरका आयोजनाहरुलाई समेत असर पर्ने योजनाविदहरु बताउँछन्। कतिपय सम्झौताहरुमा डलरको मूल्यले प्रभाव पार्ने हुँदा सम्झौताका बुँदाहरु नै हेरफेर गर्नुपर्ने बाध्यताहरु समेत हुने गरेको योजनाविदहरु बताउँछन्। त्यस्तै निर्माणाधिन आयोजनाहरुलाई पनि डलरको मूल्यले असर पार्ने गर्दछ। योजनाविद भन्छन् ‘निर्माणका लागि आवश्यक सामानहरु आयात गर्दा महँगो पर्न जान्छ, यसले सम्पूर्ण लागत बढ्न गई आयोजनाका कामहरुमा नै अवरोध समेत हुने गर्दछ।

    अर्कोतर्फ विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुका लागि लागत बढ्न जान्छ। डलरको मूल्य बढेपछि यहाँबाट पलायन हुने मुद्रा पनि बढ्न जाने हुँदा राष्ट्रले थप घाटा ब्यहोर्नुपर्ने अवस्था आउने कन्सलट्यान्सी प्रमुखहरुको भनाई छ।

    कतिपयले रेमिट्यान्समा सकारात्मक असर पर्ने बताउने गरे पनि राष्ट्र बैंकका प्रवक्ता पंगेनीले भने रेमिट्यान्समा फाइदा पुग्छ भनेर विश्लेषण गर्न नमिल्ने तर्क गर्छन् ‘समग्र राष्ट्रको मुद्रा कमजोर भइसकेपछि, यहाँ धेरै रकम देखिए पनि त्यो मुद्रा विश्वव्यापी रुपमा मूल्यवान हुन सक्दैन’ उनले भने।



    भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र