२२ भदौ, काठमाडौं ।
स्वाभाविक हो, निर्देशक र नायकबीच मतभेद हुँदा अभिनय, संवाद र दृश्यमा असर पर्छ । तर, त्यस्तो परिस्थितिमा पनि निर्देशक दीपक रायमाझी र नायक राजेश हमालले पहिलो सिनेमा ‘युगदेखि युगसम्म’मा राम्रै काम गरे । बोलचाल नभएको यो जोडी सम्बन्धमा मामा–भान्जा थिए भने ‘सिन्दूर’मा बोलचाल नभएका जोडी प्रकाश थापा र विश्व बस्नेत मामाका छोरा र फुपूका छोरा थिए ।
मामा दीपक रायमाझीले ‘भाग्य रेखा’बाट निकालिदिएपछि राजेश हमाल क्रूद्ध भए । त्यही चलचित्रबाट डेब्यु गर्न चाहेकी कृष्टि पनि निकालिइन् । यसले यी तीनजनाको सम्बन्ध बिगार्यो । राजेश हमाल र कृष्टिको बोलचाल त परै जाओस्, लामो समयसम्म ‘हाई हेल्लो’ पनि भएन । तर पनि, यी जोडीले कैयौँ हिट फिल्म दिए । ‘युगदेखि युगसम्म’ र ‘अधिकार’ यो जोडीका सम्झनलायक फिल्म हुन् ।
यी दुईको सम्बन्ध सहज बनाउन निर्देशक, निर्माताले प्रयास पनि गरे । तर, सम्बन्ध असहज भए पनि यो जोडीले गरेका फिल्म भने सफल रहे ।
कृष्टि अमेरिका पलायन भएपछि राजेशका नायिकाका रूपमा गौरी मल्ल, करिश्मा केसी, मौसमी मल्ल, सिर्जना बस्नेत, जल शाह, विपना थापा, निस्ता मल्ल, मेलिना मानन्धर, निरुता सिंह, रेखा थापा आए । तर, गौरी मल्लसँग बाहेक राजेश हमालले अन्य कुनै नायिकासँग ‘सुटिङ स्पट’मा छलफल गरेनन्, विचार–विमर्श गरेनन् । उनी ती नायिकासँग बोलेको पनि कमै देखियो ।
द्वन्द्वमा मिहिनेत गर्ने नायक राजेशले रोमान्टिक दृश्यमा कमै मिहिनेत गरे पनि उनको करिश्मासितको जोडीचाहिँ पछिल्लो चरणमा ‘करिश्म्याटिक’ नै रह्यो । दुई एक–अर्कालाई बुझेजस्तो पनि गर्ने, दुई एक–अर्काको मत र भावनाको सम्मान पनि गर्ने कारणले मौन भावमै निकै घनिष्ट देखिए, तर दुवैले एक–अर्कालाई सम्मान गरेको नै देखिन्थ्यो ।
करिश्मा र राजेशको जोडी चामत्कारिक रूपले अघि बढिरहेका वेला करिश्माका पति विनोद मानन्धरले मुहूर्त भइसकेको शिवशक्ति फिल्म्स्को पहिलो फिल्म ‘पृथिवी’मा राजेश र करिश्मालाई सँगै खेल्न नदिने निर्णय गरेपछि यो जोडीको परिचय संकटमा पर्यो ।
०४९ सालमा टुटेको यो जोडी पछि निकै छलकपटपूर्वक राजविक्रम शाहको ‘प्रतीक्षा’ फिल्मबाट दोहोरिन सफल भयो । छलकपटपूर्वक यस अर्थमा कि निर्देशक शाहले प्रतीक्षाको सुटिङ घान्द्रुकमा एकै ‘सेड्युल’मा गर्ने बताएका थिए । उनले फिल्मका कलाकारबारे जानकारी पनि दिएका थिएनन् ।
घान्द्रुक पुगेपछि राजेश र करिश्मा दुवै दंग परे । राजेशले नायिका मौसमी मल्लको ठाउँमा करिश्मालाई भेटे, करिश्माले नायक धीरेन शाक्यको ठाउँमा राजेशलाई भेटिन् । काठमाडौंमा उनीहरू दुवैलाई ढाँटिएको रहेछ ।
यो जोडीको पुनरागमन गराउनुमा निर्देशक राजविक्रम शाहको देन छ । यो जोडीले यसपछि पनि अन्य फिल्म गर्यो, तर बोलचालविना ।
नयाँ पत्रिका दैनिकको फिचरबाट साभार अंश
भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :
No comments:
Post a Comment