काठमाडौँस्थित कान्ति बाल अस्पतालमा उपचार गराइरहेका युशनको स्वास्थ्यमा केही सुधार आएपनि अझै चार वर्ष अस्पतालमै राख्नुपर्ने भएकाले खर्च अभाव भएको बुबा युवराज भट्टराईले बताउनुभयो । “अहिलेसम्म रु पाँच लाख ५० हजारभन्दा बढी खर्च भइसक्यो ।” उहाँले भन्नुभयो, “अस्पतालले अझै चार वर्ष यहीँ राख्नुपर्छ भनेको छ, खर्च अभावले छोराको जीवन बचाउन गाह्रो हुने भो ।”
बिष खुवाइएका बालकको उपचारमा सहयोगको निवेदन आएकाले समितिको तर्फबाट रु पाँच हजार उपलब्ध गराइएको जिल्ला बाल कल्याण समिति खोटाङका बाल अधिकार अधिकृत रविन राईले बताउनुभयो । “बालकका आफन्तले उपचार खर्च उपलब्ध गराइदिन हुन भनेर कार्यालयमा निवेदन दिएका थिए,” उहाँले भन्नुभयो, “उनको आर्थिक अवस्था पनि कमजोर भएकाले रु पाँच हजार सहयोग गरेका हौँ ।”
काकीले खुवाएको बिषका कारण गम्भीर बिरामी परेका युशनलाई जिल्ला अस्पताल खोटाङमा उपचार हुन नसकेपछि थप उपचारका लागि हवाईजहाजमार्फत काठमाडौँ लगिएको थियो ।
घरमा जेठाजुसँग भएको विवादपछि गत साउन १० गते सँगै विद्यालय गएका भतिजालाई विमलाले मुसा मार्ने बिष खुवाएकी थिइन् । विमला युशन पढ्ने सोही गाविसको सिर्जनशील बोर्डिङ स्कुलकी शिक्षिका हुन् ।
विमलाले खाजा खाइसकेपछि चिसो पेय ड्यूको बोतलमा मुसा मार्ने बिष घोलेर खान दिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनापछि विमलालाई साउन ११ गते पक्राउ गरेर अनुसन्धान गर्दा उनले भतिजालाई मार्ने उद्देश्यले मुसा मार्ने बिष खुवाएको बताएकी प्रहरीले जनाएको छ ।
घरैबाट पक्राउ परेकी उनीविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरेर कारबाही थालिएको छ । घटनालगत्तै पक्राउ परेकी विमलालाई जिल्ला अदालत खोटाङको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो ।
घरमा बुबासँग भएको अंश विवादपछि बुहारीले यस्तो व्यवहार गरेको पीडित बालकका बुबा युवराजले बताउनुभएको छ । “यसअघि बुबाले हामी छोराहरुको नाममा नभई कान्छी बुहारीको नाममा जग्गा पास गर्ने तयारी गर्नुभएको रहेछ ।” उहाँले भन्नुभयो, “त्यो कुरा मैले थाहा पाएपछि मालपोत कार्यालयमा गएर रोक्का गरेँ ! त्यसैको झोँकमा बुहारीले मेरा नाबालक छोरालाई बिष खुवाइ दिइन् ।”
युशन आफ्नो एक मात्र सन्तान भएको युवराजले बताउनुभएको छ । उहाँले भन्नुभयो, “तीनवटी श्रीमतीको एउटा छोरा, त्यो पनि यस्तो अवस्थामा हुँदा दुःख लागेर आउँछ !”
स्थानीयका अनुसार दोर्पाचिउरीडाँडा–७ का रामप्रसाद भट्टराईका छ भाइ छोरा छन् । तीमध्ये कान्छा छोरा मोहन भट्टराई र बुहारी विमलासँग बुबा रामप्रसाद बस्दै आएका छन् ।
dainiknepal
भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :
No comments:
Post a Comment