बन्दकर्ताहरू आफ्ना पार्टीका माग पूरा गराउन जनतालाई दुखकष्ट हुनेगरी बजार बन्द गराउँदै हिंडेका बन्दकारीलाई धरान बजारमै जनताले रामधुलाई गरेका छन् ।
संविधान घोषणा हुने खुशीयालीमा धरान‐ १७ रेल्वेका स्थानीयवासी दिपावली मनाउने तयारी गरिरहेका बेला बजार बन्द गराउँदै हिँडेका संघीय समाजवादीका कार्यकर्तालाई स्थानीयले कुटपिट गरी लघारेका हुन् ।
करिब ११ वटा मोटरसाइकलमा झण्डै २२ जनाको संख्यामा बिहान ११ बजे रेल्वेचौकमा बन्द गराउँदै बन्दकर्ताहरु पुगेका थिए ।
रेल्वे बुक डिपोमा बन्द गराउन खोजेपछि स्थानीयले यसको एकमुखले विरोध गरे । उनीहरुले तपाईंका माग पूरा गराउन हामीलाई किन दुख दिनुहुन्छ भनी असहमति जाहेर गरे । तर बन्दकर्ताहरु जबर्जस्ति बन्द गराई छाड्ने भन्दै आक्रामक रुपमा प्रस्तुत भएपछि स्थानीय जनता पनि भिड्नु परे भिड्ने तर बन्द नगर्ने पक्षमा रहे । यसबीचमै दुई पक्षबीच झडपको स्थिति बन्यो ।
स्थानीय जनता ढुंगा, ईंटा, चिर्पट र फलामका रड सहित लिएर बन्दको प्रतिकार गर्न तयार भए । दुई पक्षबीच झडप भयो । भिडन्तमा स्थानीयको प्रहारबाट संघीय युवा संघ सुनसरीका सचिव कुमार दर्नाल, विद्यार्थी नेता सन्तोष कुरुम्बाङ, युवा नेता ताजुव लिम्बु लगायत ८ जना घाइते भएका छन् ।
बाक्लो संख्यामा प्रहरीको तत्कालै उपस्थिति भएकाले आन्दोलनकारी थप घाइते हुनबाट बचेका छन् । घाइतेमध्ये बढी चोटपटक लागेका दर्नालको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार गरिएको छ ।
स्थानीय सुवास राईको पुस्तक पसल रेल्वे बुक डिपोमा कार्यरत उर्मिला राईले पसल बन्द गर्न नमानेको र बन्दकर्ताले उक्त बुक डिपोका सिसा फुटाइदिएका थिए ।
स्थानीय मनोज भट्टराईका अनुसार जनता स्वतःस्फूर्तरुपमा खुशीयाली मनाउने क्रममा रहेका बेला बन्दकर्ताले पुर्याएको अवरोधलाई पन्साउँदा सामान्य झडप भएको हो ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी सुदमकुमार सिजापतिले स्थिति सामान्य रहेको प्रतिक्रिया दिए ।
No comments:
Post a Comment