• Breaking News

    8.31.2015

    झापा, मोरङ सुनसरी मधेसमा राखे विद्रोह गर्छौ

    अरुणपारिका झापा, मोरङ र सुनसरीसहितका नौ जिल्ला लिम्बुवानको हो । ऐतिहासिक दसी, प्रमाण र तथ्यले यहि बोल्छन् । ऐतिहासिक पृष्ठभूमिका आधारमा लिम्बुवान क्षेत्रलाई स्वायत्तता दिने भनेर राज्यले हामीसँग २०६४ साल फागुन १८ र चैत ७ मा सम्झौता गरिसकेको छ । झापा मोरङ र सुनसरीको समथर क्षेत्रमात्रै हैन लिम्बुवानको भूमि टिस्टासम्म थियो । तर ऐतिहासिक घटनाक्रमले अहिले त्यो छिन्नभिन्न भयो । यसो भन्दैमा हामी जुन क्षेत्रमा बसिरहेका छौं यसको ऐतिहासिक पृष्ठभूमि खोतलेर हेर्दा अरुणपारिका नौ जिल्ला लिम्बुवान स्वायत्त प्रदेश हुनु पर्छ भन्ने हाम्रो माग हो । अहिलेको सात प्रदेशको सिमांकनमा अरुणवारिको किरात क्षेत्र पनि मिसाइएको छ । यो हामी मान्दैनौ ।
    तराईमा पनि अहिले मधेस केन्द्रीत राजनीति गरिरहेकाहरुले झापादेखि पर्सासम्मको समथर भाग मधेस प्रदेश हुनु पर्छ भनिरहेका छन् । अवसर पाउँदा सत्तामा जाने, नपाउँदा आन्दोलन गर्ने दलहरुले भन्दैमा झापा मोरङ सुनसरी मधेसको भाग हुन सक्दैन । यी तीन जिल्लाका पुराना बासिन्दा को हुन् ? यो कुरा मधेसमा आन्दोलन गरिरहेका दलहरुले केलाएर हेरुन् । यी तीन जिल्लाका पुराना बासिन्दा त धिमाल हुन् । धिमाल भनेको तराईमा सदियौंदेखि बसिरहेका लिम्बुहरु नै हुन् । धिमाल र लिम्बु एकै जाति हुन् । धिमालले जोगाएको झापा मोरङ सुनसरी अरु कसैले माग्दैमा हुँदैन । हुन दिदैनौं । यो लिम्बुवानको क्षेत्र हो । यदि कोही हामीले भनेको क्षेत्र लिम्बुवानको हैन भनेर आउँछ भने आओस् । सम्वादका लागि हामी खुला छौ । सम्वाद खुला होस्, हामीले भनेको क्षेत्र कसको रहेछ, प्रमाण पछार्न हामी तयार छौ । कसैले मसलको बल देखाएर हामीलाई उपेक्षा गर्न खोज्छ भने मसलको पावर हामीसँग पनि छ । इटाको जवाफ ढुंगाले दिन हामीलाई पनि आउँछ ।
    झापा मोरङ सुनसरी मधेसीले तपाईहरुलाई दिदैनन् पनि भन्ने कुरा पनि सुन्ने गरेको छु । कसैले दिदैमा हुने, नदिदैनमा नहुने के यी तीन जिल्ला कसैको पेवा हो र ? राज्यले सम्झौता गरेको छ । ऐतिहासिक पृष्ठभूमिका आधारमा प्रदेशको सिमांकन हुनु पर्छ ।
    यदि राज्यले मधेसवादीको माग पुरा गरेर झापा मोरङ सुनसरी मधेसमा हाल्यो भने अहिले तराईमा भएजस्तो आन्दोलन हामी पनि सुरु गर्छौ । हामी कुर्सी नपाएर आन्दोलन गरिरहेका दल हैनौं । हामी अधिकार र न्यायका लागि लडिरहेका दलहरु हौं भन्ने कुरा यस क्षेत्रका आमजनताले बुझेका छन् । हाम्रो आन्दोलनमा यस क्षेत्रमा बसोबास गर्ने क्षेत्री बाहुनसमेतले बुझेर समर्थन गरेका छन् ।
    हिलेसम्मको आन्दोलन हाम्रो शान्तिपूर्ण छ । शान्तिपूर्ण नै हुनेछ । तर यो शान्तिपूर्ण आन्दोलनलाई उपेक्षा गरेर जथाभावि हाम्रो क्षेत्र अरुलाई दिन खोजियो भने लाठीमुंग्रा के उठाउनु पर्ने हो हामी उठाउँछौ । लिम्बु जाति भनेको सुतेको बाघ हो । लिम्बुहरुको वीरता के हो ? इतिहास साक्षी छ ।
    यति हुँदा हुँदै पनि राज्यसँग हामी सम्वाद गर्न तयार छौं । प्रमुख दलहरुले कस्तो संविधान ल्याउँदैछ ? त्यो हामीले थाह पाएनौं । हामीसँग कुनै सल्लाह गरिएको छैन । निरन्तर संघर्ष गरिरहेका शक्तिसँग सल्लाह नगरी राज्य एकलौटी ढंगबाट अगाडि बढ्न खोजिरहेको छ ।
    नयाँ संविधानमा लिम्बुवान निश्चित हुन पर्छ । धर्मनिरपेक्षताको ग्यारेन्टी हुनु पर्छ । समानुपातिक प्रतिनिधित्व निश्चित हुनु पर्छ । थ्रेस होल्ड खारेज हुनु पर्छ । आन्दोलनरत शक्तिहरुसँग पनि छलफल गर्न वृहद गोलमेच सम्मेलनको आयोजना हुनु पर्छ । आन्दोलनरत पक्ष, राज्य र नागरिक समाजबीच छलफल गरेर सिमांकन टुंग्याउनु पर्छ ।यहि माग पूरा गर्न दबाब दिने उद्देश्यले सोमबार र मंगलबारका लागि दुई दिने बन्दको आह्वान गरेका हौं ।
    (अध्यक्ष लिम्बुसँग गरिएको कुराकानीमा आधारित)

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र