• Breaking News

    8.21.2015

    सूचना दिनुहोस्, अब गुन्डा बाँकी बस्दैनन्

    ७ वर्षअघि प्रहरीको गोलीबाट घाइते मात्र भएका राजधानीका डन कुमार घैंटे बिहीबार प्रहरीसँगको दोस्रो मुठभेडमा मारिएका छन् । महानगरीय अपराध महाशाखाका प्रहरीसँगको मुठभेडमा उनी कपुरधारामा मारिए । घटनापछि गुण्डाबाट पीडित सयौँ सर्वसाधारण तथा व्यवसायीले फोन गरेर एसएसपी सर्वेन्द्र खनाललाई बधाई दिए । प्रधानमन्त्री सुशील कोइरालाले समेत एसएसपी खनालको हिम्मतको प्रशंसा गरेका छन् । तर नेपाली काँग्रेसका केही सभासद्ले भने घैंटेको प्रहरीबाट हत्या भएको भन्दै छानबिन माग गरेका छन् । एसएसपी खनाल भने गुण्डागर्दी गर्नेविरुद्ध कारबाही अभियान नरोकिने बताउँछन् ।
    डन कुमार घैंटे कसरी मारिएका हुन् ?
    हामीलाई गुन्डागर्दीलगायत आपराधिक गतिविधिको मौखिक तथा लिखित उजुरी आइरहेका थिए । राजधानीमा शान्तिसुरक्षा कायम राख्न सिभिल र युनिफर्ममै विशेष टोलीहरू खटिरहेका थिए । त्यही क्रममा प्रहरीको चेकिङलाई कडा रूपमा अघि बढाइरहेको अवस्था छ । डिकीमा हतियार लुकाएर हिँड्ने गरेको र विगतमा पनि आपराधिक गतिविधिमा संलग्न भएको सूचनाका आधारमा हामीले पिछा गरेर कुमार घैँटेको सर्च गर्न खोजेका थियौँ ।
    प्रहरी हौँ भन्दाभन्दै पनि जाइलागे । त्यति मात्र होइन, प्रहरीमाथि पछाडिबाट उसका अरू सदस्यले हेलमेटले आक्रमण गरे । उसले हतियार निकालेर फायर गरेपछि आत्मरक्षाका लागि पनि गोली हान्न प्रहरी बाध्य भयो । त्यस्तो अवस्थामा गोली हान्नुबाहेक अर्को विकल्प प्रहरीसँग थिएन । घाइते उनीहरू तीनैजनालाई प्रहरीकै गाडीमा उपचारका लागि टिचिङ अस्पताल पठाइयो । त्यसक्रममा प्रहरीका पनि तीनजना घाइते भएका छन् ।
    दुईजना असइ र एक प्रहरी जवानले वीर अस्पतालमा उपचार गराइरहेका छन् । प्रहरीको गोली लागेर घाइतेमध्ये कुमार घैँटे भन्ने मान्छेले समाजमा आतंक फैलाइरहेको थियो । धेरै पहिलादेखि विभिन्न आपराधिक घटनामा संलग्न भएको र कुनै पनि व्यवसाय राम्रोसँग सञ्चालन गर्न नदिने र दबाब दिएर आतंक मच्चाउने काम गर्दै आएको थियो । उसका गतिविधिको अनुसन्धान भइरहेको छ । उसको कारण केही मान्छे नेपालमा बस्न नसकेर दुबई गएकोसमेत जानकारी हाम्रोमा आएको छ । कन्स्ट्रक्सन कम्पनी पनि आफैँले लिने, बालुवाको ठेक्का पनि आफैँले लिने काम गर्दै आएको थियो । प्लटिङ, होटेल र म्यानपावरलाई पनि आतंकित गर्ने काम गर्दै आएको थियो ।
    आफन्त र केही सभासद्ले योजनाबद्ध रूपमा मारिएको आरोप लगाएका छन् नि ?
    सबैको अभिव्यक्ति स्वतन्त्रता छ । गुन्डाहरूको को–कोसँग कनेक्सन छ भन्ने कुरा पनि हामी अनुसन्धान गरेर बाहिर ल्याउँछौँ । कानुन हातमा लिने काम नहोस् र जनताले सुरक्षित महसुस गरून् भनेर समाज आतंकित बनाउनेहरूविरुद्ध हामी कडा रूपमा प्रस्तुत भएका हौँ । धेरैका भेस्टेड इन्ट्रेस्ट पनि होलान्, त्यसकारण कसले के भन्यो भन्ने विषयमा म टिप्पणी गर्न चाहन्नँ ।
    घटनापछि तपाईंलाई कस्तो प्रतिक्रिया आएको छ ?
    सबैबाट राम्रो प्रतिक्रिया आएको छ । होटेल एसोसिएसनबाट फोन आएको थियो । उसले दुस्ख दिएको रहेछ, धन्यवाद दिनुभयो । विदेशबाट समेत फोन गरेर खुसी व्यक्त गरेका छन् । एकजनाको कन्स्ट्रक्सन कम्पनी नै हडपेर ती व्यक्तिलाई विदेश जान बाध्य बनाएको रहेछ । सामाखुसी क्षेत्रमा पनि धेरैलाई दुस्ख दिएको रहेछ । उसको आतंक बन्द हुने भयो भन्दै धेरैले मलाई फोन गरेका छन् । मलाई कसैले पनि रिसाएर फोन गरेको छैन ।
    राजधानीमा अरू धेरै गुन्डा नाइकेसमेत छन्, उनीहरूलाई के हुन्छ ?
    हामीले सबै कनेक्सन बुझिरहेका छौँ । कतिको उजुरी आउँछन्, त्यस आधारमा हामीले कारबाही गर्ने हो । सबैको गतिविधि बुझिरहेका छौँ । अब गुन्डाराज चल्नेवाला छैन । हाम्रो लक्ष्य भनेको ‘फ्रि अफ फियर सोसाइटी’ बनाउने हो । समाजमा गुन्डाको भय शून्यमा झार्ने हाम्रो लक्ष्य छ । गुन्डाका कारण धेरैजना यहाँ पीडित हुनुहुँदो रहेछ । गोप्य रूपमा सूचना दिन म आग्रह गर्छु । गुन्डाहरूबाट कोही पनि डराउनुपर्दैन, कसैले दुस्ख दिएका छन् भने गोप्य रूपमा सूचना दिनुहोला, गोप्यता कायम राखेर हामी कारबाही गर्छौँ । गुण्डागर्दी गर्ने कसैलाई पनि हामी छुटे दिनेवाला छैनौं । दृष्टिन्युजडटकम बाट ।

    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    1 comment:

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र