झापा, ८ भदौ-कैलालीको टीकापुरमा सोमबार भएको दुःखद घटनाप्रति दुःख व्यक्त गर्दै झापाका व्यवसायीले मंगलबार बिर्तामोडमा शोकसभा गरेका छन् ।
बिर्तामोड नगरपालिकामा रहेका व्यवसायीले स्वतःस्फूर्त रुपमा चोकमा भेला भएर मंगलबार दिउँसो शोकसभाको आयोजना गरेका हुन् ।
थरुहट आन्दोलनलाई साम्य बनाउन पहल गरिरहेका बेला झापाको चन्द्रगढी घर भएका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित अन्य प्रहरीको हत्या गरिएको भन्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसभा गरिएको झापा उद्योग वाणिज्य सङ्घ बिर्तामोडका अध्यक्ष बलराम कार्कीले बताए । उनले आफ्ना मागका विषयमा शान्तिपूर्ण आन्दोलन गर्नुपर्नेमा जनताको जीउधनको रक्षाका लागि खटिएका प्रहरीको निर्ममतापूर्वक हत्या गरिनु आफैँमा दुःखद भएको बताए ।
सेती अञ्चल प्रहरी कार्यालय धनगढीमा कार्यरत न्यौपानेको तस्बिरमा माल्यार्पण गर्दै घटनामा मारिएका सबैको आत्माको चिरशान्तिको कामना गरिएको थियो । शोकसभामा बिर्तामोडका सयौँ व्यवसायीको सहभागिता थियो । सभामा स्थानीय व्यवसायी चण्डी अधिकारी, दीपक गुरागार्इं, हनुमान अग्रवाल गौरीशङ्कर गुप्ता टिङ्कुलगायतले शोक मन्तव्य राखेका थिए ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
No comments:
Post a Comment