सोमबार, 7 भदौ,
विमला महत पण्डित सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितकी श्रीमती हुन । उनले अाफ्नो विवाहलार्इ यसरी सम्झेकी छन् ।
०५९ सालमा मैले पहिलोपटक उहाँ (लालबाबु)लाई देखेकी हुँ । उहाँसँग मेरो बिहेको कुरा एमाले नेतृ सुशीला नेपाल दिदीले ल्याउनुभयो । त्यसपछि उहाँलाई भेट्न गएँ । सुशीला दिदीले नै भेटघाटको चाँजोपाँजो मिलाउनुभयो । सिंहदरबारमा भेट्ने कार्यक्रम निश्चित भयो ।
त्यतिवेला म ३७ वर्षकी थिएँ । उहाँ त्यतिवेला ४४ वर्षको हुनुहुन्थ्यो । म ३७ की र उहाँ ४४ को भएकाले होला, सुशीला दिदीले हाम्रो बिहे गराउन खोज्नुभएको ।
म सुशीला दिदीलाई निकै आदर गर्थेँ । दिदीले मेरै हितमा कुरा गर्नुभएको हो भन्ने लाग्यो । त्यसैले, सुशीला दिदीसँग धेरै सोधखोज गरिनँ । सुशीला दिदीले भन्नुभएको थियो, ‘हाम्रो पार्टीका एक नेता छन्, उहाँसँग तिमीले बिहे गर्दा हुन्छ ।’ उहाँसँग भेट्ने तय भएपछि एक्लै जान अप्ठ्यारो लाग्यो । गाउँले काकीलाई सँगै जान अनुरोध गरेँ ।
काकीले सहजै स्विकार्नुभयो । काकी र म सिंहदरबार गयौँ । सिंहदरबारमा एमाले संसदीय दलको कार्यालयमा म र काकी पुग्दा सुशीला दिदीसँगै एमाले नेताहरू भरतमोहन अधिकारी, ईश्वर पोखरेल हुनुहुन्थ्यो । अर्को एकजना पनि हुनुहुन्थ्यो । उहाँलाई त्यसअघि मैले देखेको थिइनँ ।
हामी पुग्नेबित्तिकै सुशीला दिदीले त्यही अपरिचित अनुहारलाई देखाउँदै भन्नुभयो, ‘उहाँ नै हो केटा ।’ देख्नेबित्तिकै मेरो मन कुँडियो । सुशीला दिदीले मेरा लागि छान्नुभएको केटा होचो लाग्यो । हेर्दा मेरो मन त्यति खुसी भएन । ‘यो मान्छेसँग केही पनि छैन होला,’ मेरो मनमा खेल्यो । त्यहाँ विवाहसम्बन्धी कुरा हुन थाले । भरतमोहन र ईश्वर कमरेडले हामी दुईको जोडी मिल्ने बताउनुभयो । तर, मैले निर्णय लिन सकिनँ । एकैछिन गफिएपछि भरतमोहन कमरेडले भन्नुभयो, ‘अहिले नै पठाइदिउँm यी दुईलाई बिहे गराएर ।’ सुशीला दिदीले पहिलोपटक बिहेको कुरा गर्दा निश्चिन्त भएको मेरो मन दोधारमा पर्यो । ठोस जवाफ दिन सकिनँ ।
मैले भनेँ, ‘होइन, घरसल्लाह पनि गर्नुपर्छ । अहिले नै म एक्लैले कसरी निर्णय गर्नु ?’ यस्तो होचो मान्छेसँग विवाह गर्नु र † भन्ने मनमा खेलेको थियो । धेरै पछिसम्म यही कुरा मनमा खेल्यो । साथीहरूलाई पनि भनेँ, ‘केटा त हेरेँ, तर होचो रहेछ ।’
लामो समयसम्म मनमा यही कुरा खेलिरह्यो । पार्टी कार्यालयमा बिहे मैले निर्णय लिन सकेकी थिइनँ । तर, लामो समयसम्म काकीले सम्झाउनुभयो, ‘मान्छे इमानदारजस्ता लाग्छन् । तेरो उमेर पनि धेरै भइसक्यो । अब ढिलो नगर । बिहे गर्दा हुन्छ ।’ काकीले सम्झाएपछि मेरो मन झन् अन्योलमा पर्यो । सुशीला दिदीले पनि सम्झाउनुभयो । उहाँको इमानदारिताको चर्चा गर्नुभयो । चार महिनापछि बल्ल निर्णय गरेँ । मैले ‘हुन्छ’ भनेँ । हाम्रो बिहे हुने भयो । बिहेको पूरै तारतम्य सुशीला दिदीले नै मिलाउनुभयो । एमाले पार्टी कार्यालय बल्खुमा प्रगतिशील विवाह गर्ने उहाँले नै सुनाउनुभयो । हामीले ०५९ साल फागुनमा बिहे गर्यौँ । नयाँ पत्रिका दैनिकले लालबाबुकी श्रीमती विमलाको अनुभव छापेको छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
No comments:
Post a Comment