मिस हेरिटेज इन्टरनेशनल २०१४ मा सहभागी हुन नेपाल आइपुगेका विभिन्न देशका सुन्दरीहरु नेपालका विभिन्न ठाउँ घुम्नमा व्यस्त छन् ।
‘बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन र सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ ईप्लानेट नेपालको आयोजनामा नेपालमै पहिलोपटक संचालन हुन लागेको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा भाग लिन आएका सुन्दरीहरु नेपालका विभिन्न ठाउँमा घुम्न व्यस्त भएका हुन् ।
मिस हेरिटेज इन्टरनेशनल २०१४ मा बंगलादेश, म्यानमार, सिंगापुर, सेरालीयोन, थाइल्याण्ड, जाम्बिया, जिम्बावे, युगाण्डा, भारत, नेपाल, रसिया र बेलारुस गरी बाह्र राष्ट्रका सुन्दरीहरुको सहभागिता छ । प्रतियोगिताका प्रतियोगी यतिखेर नेपालको कला संस्कृति, सम्पदा र पर्यटन क्षेत्रको चिनारी र प्रवद्र्धनमा जुटेका छन् । प्रतियोगिताको तयारी र ग्रुमिङ संगै सहभागिहरु पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, बसन्तपुर स्क्वायर, पशुपतिनाथ, स्वयम्भुक्षेत्रको अवलोकन भ्रमण गरी नेपाली कला संस्कृति, सम्पदा तथा पर्यटन क्षेत्रको महत्वपुर्ण जानकारी हासिल गरेका छन् । यही क्रममा सहभागिहरुलाई बौद्ध जन्मस्थल लुम्बिनी तथा चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी समेत गरेका छन् । सोही अवसरमा सहभागिहरुले सौराहमा थारु समुदायको मौलिक साँस्कृतिक प्रस्तुतिको अवलोकन समेत गरेका थिए ।
‘मिस हेरिटेज इन्टरनेशनल २०१४’ को कोरियोग्राफी संचारकर्मी एवं कोरियोग्राफर रोजिन शाक्यले गरिरहेका छन् भने उनीसित थाइल्याण्डका अनुरत कोसाकुलले सहकार्य गर्दैछन् । ग्राण्ड फिनाले अन्तर्गतको एउटा चरणका लागि भने फेसन डिजाइनर समा बानुले पहिरनहरु तयार पारेकी छिन् । नगरकोट स्थित नगरकोट हिलसाइड भिलेज रिसोर्टमा क्लोज क्याम्प प्रशिक्षण संचालन हुने बताइएको यो प्रतियोगिताको ग्राण्ड फिनाले प्रस्तुतिकरणको तयारी बाहेक सहभागिहरुलाई नेपाली कला संस्कृति, पर्यटन देखि आम संचार, महिला सशक्तिकरण आदिका बारेमा समेत अवगत गराइनेछ । प्रतियोगितामा सहभागीहरुले मुख्य उपाधि बाहेक नेशनल कस्ट्युम, वातावरण सचेतना जगाउने पहिरन, इभिनिङ गाउन राउन्डका लागि प्रतिस्पर्धा गर्नेछन् भने अन्य विभिन्न विधागत अवार्डका लागि पनि विजेता चयन हुनेछ । कार्यक्रमको अन्तिम प्रतिस्पर्धा आगामी डिसेम्बर ५ तारिख (मंसिर १९ गते, शुक्रबार) राजधानीको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा गरिनेछ ।
No comments:
Post a Comment