• Breaking News

    10.29.2014

    सरकार !! हामीलाई बाटो मात्र बनाई देऊ

    दोलखा १२कात्तिक- तिब्बती सीमानामा बस्ने लप्चीबासीले राज्यसँग हिड्ने बाटो मात्र माग गरेका छन् । लामाबगर १ हिमालपारीका गाउँ लप्चीबासीले आफ्नै देशमा पनि हिड्ने राम्रो बाटो नहुँदा आफूहरुलाई कठिन भएकाले राम्रो गोरेटो बाटो मात्र भए पुग्ने बताएका छन् ।
    लप्ची दोलखाको लामाबगर वडा नं. १ मा पर्छ । जुन लामाबगरको वडा नं. २ लामाबगरबाट लप्ची पुग्न २ दिनको कठिन यात्रा गर्नुपर्छ । लप्ची तिब्बतको सीमा नजिकै पर्छ । करिब ४ हजार मिटरको उचाइमा पर्ने लप्चीमा केही उब्जाऊ हुँदैन । उनीहरुको पेशा चौरीपालन नै हो । “हाम्रो जीविकोपार्जन भनेको पशुपालन हो” लप्चीका छेनन् शेर्पाले भने “अरु स्रोत केही छैन, हुनेखाने काठमाडौें र अमेरिका छन् हामी गरिब जति गाउँमा ।” लप्ची जान आउनका लागि बाटो सबैभन्दा कठिन छ । “लप्ची बस्दा नेपाल तर्फ प्रयाप्त खर्क नभएकाले तिब्बततिर चौरी चराउन लैजानु पर्छ” उनले भने  सदरमुकाम चरिकोटबाट ६८ कोष टाढा लामाबगर पर्छ । त्यत्तिकै दुरीमा लामाबगरकै वडा नं. १ को लप्ची गाउँ पर्छ ।
    हुनेखानेहरु लप्ची आउँदा हेलिकप्टर चढेर आउँछन् यहाँ गाउँमा बस्ने बाटो पनि राम्रो हिड्न नपाउने उनले बताए । लामाबगरदेखि लप्ची जाने बाटोको लुम्नाङसम्मको एक दिनको बाटो धेरै कठिन छ । त्यहाँसम्म भोटेकोसी किनारको दाउँरा र गल गाडेर बनाएको अस्थायी बाटो हिड्नु पर्छ । त्यो पनि ठाउँ ठाउँमा भत्केको । थोरै मात्र खुट्टा चिप्लिए एकै चोटी नदीमै पुगिने अवस्था छ । लुम्नाङदेखि लप्चीसम्मको बाटोका लप्ची खोलाको ५ ठाउँमा फड्के बनाएको छ । त्यो पनि वर्षात्मा ठूलो बाढी आउँदा फड्के बगाउँदा त्यो बाटो पनि अबरुद्ध हुन्छ ।
    लप्चीमा रेडियो पनि राम्रो सुनिदैन । एक वर्ष अघि नेपाल टेलिकमले भीस्याट फोन राखिदिएपछि अहिले गुम्बासम्म राहत पुगेको छ । लप्चीको च्छोरा गेफेलिङ् गुम्बा ९ सय ४५ वर्ष अघि स्थापना भएको गुम्बा हो । यहाँ संसारभरका बुद्धमार्गीहरु लामो समय ध्यान गर्न आउँछन् । बुद्ध ग्रन्थका लेखक मिलेरेपाले लप्चीमै बसेर ग्रन्थ लेखेका बौद्र्धमार्गीहरुको भनाई छ । स्वदेशी तथा विदेशी धेरै लप्ची आउँन चाहे पनि बाटोकै कारण समस्या भएको लप्चीका कर्मा शेर्पाले बताए ।
    चौरीबाट उत्पादित घिऊ छुर्पी, स्योस्यो, लगायतका वस्तुको बजार तिब्बत नै हो । खाद्यान्न र लत्ता कपडा पनि सबै तिब्बतीयन बजारको  भर पर्नुपर्छ । लप्चीबाट अहिले दुईदेशको सिमाना पुग्न १ घण्टा लाग्छ । सिमानाबाट तिब्बतको बजार छुप्साङ पुग्न अर्को १ घण्टा लाग्छ । छुप्साङसम्म उताबाट गाडी समेत चल्छ । नेपाल तर्फ लामाबगरसम्म गाडी पुगेपछि त्यहाँबाट भीर र खोलाको कठिन बाटोका कारण बजार पनि सबै छुप्साङ नै हो ।
    “वर्षामा पानीले जान सकिन्न, कात्तिकपछि हिउँले ढाक्छ” उनले भने “बजारमा जाने उपयुक्त महिना यही हो ।” असोज कात्तिकमा ल्याउने नुन लगायतका खाद्यान्नले बैशाख जेठसम्म पु¥याउनु पर्छ । हिउँ पर्न कम भएपछि बैशाख जेठमा अर्को पटक पुनः ६ महिनाका लागि खाद्यान्न लिन बजार जाने गरेका छन् ।
    चौरी चराए वापत चीनीया राज्य सरकारलाई बुझाउने खर्चरी महङ्गो भएकाले घटाइ दिन सरकारसँग स्थानीयले माग गरेका छन् । चौरी मात्र पाले आफ्नो जीविकोपार्जने गर्ने १६ घरका लप्चीबासीले घाँसका लागि वर्षात्को बेला तिब्बतियन खर्चमा चराउनु पर्छ ।
    लप्चीबासी वर्षात्को समय अर्थात जेठदेखि असोजसम्म लप्चीमा बस्छन् । यो बेला चौरी गोठ तिब्बतमा हुन्छ । चौरीलाई चरन नपुग्ने हुँदा तिब्बतको खर्चको भर पर्नु परेको लप्चीका नातर शेर्पाले बताए । कात्तिकदेखि गोठ सार्दै एक महिनामा लुम्नाङ ल्याउँछन् ।
    बैशाखमा जाडो सकिएपछि पुनः गोठ सार्दै लुम्नाङबाट लेकतिर लप्ची हुँदै तिब्बततिर लाग्छन् । उनीहरुको वर्षात्मा बस्ने घर लप्चीमा छ भने जाडो समयमा बस्ने घर लुम्नाङमा छ । दुवै ठाउँ लामाबगरको वडा नं. १ मा पर्छ । तर लुम्नाङ र लप्चीको बाटो १ दिनको यात्रा गर्नुपर्छ । लप्ची र लुम्नाङ बीचमा ५ वटा खर्क छन् । ति खर्कमा सबैका गोठ छन् । तल माथि चौरी ओहोरदोहोर गर्दा ३ दिन देखि ५ दिनसम्म बास राख्दै १ महिनामा उनीहरुको ओहोरदोहार हुन्छ ।
    तिब्बतीयन खर्चमा चौरी चराए वापत प्रति चौरी त्यहाँको स्थानीय सरकारलाई ४ घ्यामा अर्थात ३ घार्नी घिऊ बुझाउनु पर्छ । “विगतमा १ धार्नी घिऊ बुझाए पुग्थ्यो” स्थानीय कर्मा शेर्पाले भने “अहिले खर्चरी दर पनि बढेकाले चौरी पाल्नै समस्या भयो ।” लप्चीबासीले प्रति परिवार २० देखि १ सय वटासम्म चौरी पालन गरेका छन् । चौरीको संख्या बढी देखाउँदा बढी खर्चरी तिर्नु पर्ने डरले सही तथ्याङ्क समेत सबैलाई नभन्ने उनीहरुले पहिलो पटक तिब्बतीयन सीमाना लप्चीमा पत्रकार पुगेपछि कारोबारकर्मीसँग कुरागर्दै सरकारलाई खर्चरी घटाउन पहल गरिदिन आग्रह गरे ।
    नेपाली भाषा कष्टसँग बोल्ने तर उनीहरुको बोलीचारी रहनसहन तिब्बतीयनहरुसँग मिल्छ । “खर्चरी महङ्गो भयो” स्थानीय तेब्ते शेर्पाले भने “चिनीया प्रान्तीय सरकारसँग कुटनैतिक रुपमा खर्चरी घटाउन पहल गरिदिनु प¥यो ।” तिब्बतीयनहरुले खर्क दिएनन् भने पछि आफ्नो चौरी पालन व्यवसाय नै संकटमा पर्ने उनीहरुको गुनासो छ । दोलखाका प्रमुख जिल्ला अधिकारी प्रह्लाद पोखरेलले खर्चरीको बिषयमा दुवै देशका सीमा क्षेत्रका अधिकारीहरुको बैठकमा समेत उठाउँदै आएको र गृह मन्त्रालय मार्फत सरकारको उच्च तहमा पनि यसबारे जानकारी गराएको बताए ।
    दिलबहादुर केसी
     कारोबर बाट

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र