प्रकाश सिलवाल
क्वालालम्पुर (मलेसिया), कात्तिक ९ – मलेसियाको नेम नामक सुरक्षा कम्पनीमा कामदार रहेका कास्कीका कृष्णप्रसाद ढकाललाई गर्धनमा पिलो आयो । उनलाई शल्यचिकित्सा गर्नुपर्ने भयो । साहुले उपचार खर्च दिएर आराम गराउने त कहाँ कहाँ उनलाई जागिरबाट हटाइयो । अन्ततः कामदार प्रवेशाज्ञाको अवधि बाँकी रहँदै ढकाल घर फर्कन बाध्य भए ।
ऋण गरेर रु दुई लाख खर्च गरेर आठ महिनाअघि कामदारका रुपमा मलेसिया आएका ढकाललाई चिनी रोगको पनि समस्या छ । पिलोको शल्यचिकित्सापछि घाउ निको भए पनि चिनीरोग दीर्घ समस्या हुन सक्ने भएकाले कम्पनीले हटाएको गुनासो गर्दै यही कात्तिक ४ गते उनी नेपाल फर्केका हुन् । उपचार खर्चमा मात्रै करिब रु दुई लाख लागेपछि थप उपचारमा अझ बढी खर्च हुने भयमा रहेका ढकाललाई एक प्रकारले जागिर छोड्नु नै उचित पनि लाग्यो ।
भाषा बुझिन्न । काम गर्न सजिलो छैन । नेपालबाट कामदार आउने सङ्ख्या बढिरहेकाले हप्तामा २८ घन्टाभन्दा बढी काम गर्न पनि मिलिरहेको छैन । जसका कारण उनीहरुको मासिक आम्दानी रु ३० हजारको हाराहारीमा हुन्छ ।
एउटै कोठामा २० जनासम्म बस्नुपरेको छ । काममा जानका लागि पोसाक किनेको रकम पनि साहुले तलबबाट कटाउने गर्दछ । कोही अनायासै बिरामी भएर मर्ने क्रम यहाँ नयाँ होइन । सुरुमा भनेको जति त तलब नपाउने र भनेको भन्दा अर्कै काम गर्नुपर्ने नेपालीका पीडा पनि धेरैपटक सार्वजनिक भइसकेका छन् । चालकका लागि आएकालाई रुख काट्ने काममा लगाइएका उदाहरण पनि छन् ।
दलित खडाल म्यानपावर कम्पनीबाट मलेसिया आएका ढकालले ऋण तिरेर अलिकति बचत त गरेका छन् तर विदेश गएर कमाएर यति ल्याएँ भनेर देखाउने रकम उनीसँग छैन । म्यानपावरले केही क्षतिपूर्ति दिन्छ कि भन्ने झिनो आशा पनि उनमा छ । पोखराको पर्यटकीयस्थल सारङ्गाकोटमा होटल भएका ढकाल त्यहाँ घाटा लाग्न थालेपछि विदेश हानिएका हुन् । अहिले सासूको निधन भएपछि श्रीमतीले पनि होटल चलाउन नसकेपछि बन्दको अवस्थामा छ ।
ढकालको यो सबै दुःख आफ्ना लागिभन्दा पनि छोराछोरीको पढाइ खर्च जुटाउन हो । आफूले ५ कक्षाभन्दा माथि पढ्न नपाएका कारण जीवनमा खेप्नुपरेको दुःख सन्तानमा नसरोस् भन्ने हुटहुटी छ उनमा । यति दुःख गरेर छोरालाई इञ्जिनियर बनाउने सपना पूरा गर्न उनी फेरि खाडी मुलुकमै राम्रो कामको खोजीमा छन् ।
ढकालसँगै डेङ्गु र क्षयरोगका आशङ्का भएपछि नवलपरासीका दलबहादुर कुमाल पनि सोही दिन नेपाल फर्केका छन् । “के भएको हो ? अझै पत्तो छैन । रोगी भएपछि साहुले निकाल्यो”, लामो खोकीका बीच कुमालले भने ।
काम छाडेर घर फर्कनुपरेकाको पीडा एउटा छ भने काममा खटिइरहेकाका समस्या पनि चिन्ताजनक छन् । क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा शौचालय सरसफाइ गर्दै रहँदा भेटिएका सिरहाका योगेन्द्र ठाकुर पहिला भनिए जति तलब नपाएको गुनासो गर्छन् ।
मलेसिया छिरेको पहिलो दिनमै उनलाई अत्यास लगेको थियो । विमानस्थलमा अवतरण गरेपछि कहाँ जाने ? के गर्ने ? भन्ने समस्या भयो । कामदार माग गर्ने कम्पनीले विमानस्थलमा लिन आउँछ भन्ने म्यानपावर कम्पनीको जानकारी त्यहाँ काम लागेन । दुई दिनसम्म सोही विमानस्थलमा भोकै सुत्नुपरेको स्मरण उनको मानसबाट हटेको छैन ।
जापान भ्रमणबाट नेपाल फर्कने क्रममा संयोगवश क्वालालम्पुर विमानस्थलमा भेटिएका शिक्षामन्त्री चित्रलेखा यादवलाई भेटेर योगेन्द्रले आफ्ना समस्या सुनाए । उनीहरुबीच मैथिली भाषामा कुराकानी भयो । मन्त्री यादव पनि सिरहा जिल्लाकै हुन् ।
मुलुकमा संविधान बनेर शान्ति र स्थिरता भई साधारण पढेकालाई पनि जागिर पाउने अवस्था हुनुपर्ने मागमा शिक्षामन्त्रीले तत्काल केही जवाफ दिन सकिनन् । सँँगै रहेका मन्त्री यादवका श्रीमान् डा श्रीकृष्ण यादवले अर्काको मुलुकका आएर शौचालय सफा गर्न सक्नेहरुले स्वदेशमा पनि जस्तो पनि काम गर्न तयार भएमा देश बन्ने प्रतिक्रिया दिए ।
सफाइ कामदार नै रहेका नुवाकोट काउलेका शेरबहादुर तामाङले यहाँस्थित समस्यामा परेका सबै कामदार एकजुट भएर शोषण गर्ने कम्पनीको विरोधमा आवाज उठाउने तयारीमा रहेको बताए । तामाङले भने, “सबै नेपाली कामदार एक भएमा साहूले हेप्न सक्दैन, कतिपय साथीहरु जागिरबाट हटाउँछ कि भनेर डराउँछन्, त्यसरी हाम्रो अधिकारको रक्षा हुन सक्दैन ।”
via -ratopati
No comments:
Post a Comment