कपिलवस्तु, असोज ७– कपिलवस्तु थुन्हिया ७, नयाँबस्तीका ३२ वर्षीय शुक्रराज गिरीले घरमा श्रीमती नभएको मौका छोपी आफ्नै ११ वर्षीय छोरी सुन्दली (नाम परिवर्तित) माथि यौन दुव्र्यवहार गरेको खुलासा भएको छ । श्रीमती दाङ गएको बेला गत भदौ २६ गते राति उनले आफ्नै छोरीलाई जबरजस्ती करणी गरेका हुन् । सोही ठाउँकी ७ वर्षीय अबोध बालिकालाई स्थानीय आनन्द वि.क.ले यौन दुव्र्यवहार गरेको घटना बाहिर आएपछि ती बालिकाले आफ्नो बाबुको कर्तुत बाहिर ल्याएकी हुन् । छोरीलाई डरधम्की दिई घटना लुकाइएको भएपनि हप्ता दिनपछि पीडित छोरीले आफैंले आमा र छिमेकीलाई बताएकी थिइन् । छोरीले घटनाबारे बताएपछि यौनाङ्ग हेर्दा सुन्निएको छिमेकीले बताए । घटना खुलासासँगै छिमेकीको सूचनाको आधारमा प्रहरी त्यहाँ पुगेको थियो । प्रहरीको आएको थाहा पाउने बित्तिकै अधर्मी बाबु फरार भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष रोकाले जानकारी दिए । घटनाबारे बुझ्न अधिकारकर्मी, संचारकर्मीको टोली त्यहाँ पुगी यथार्थ जानकारी लिएका थिए ।
नाबालिकामाथि बलत्कार जस्ता जघन्य अपराध हुँदा समेत प्रहरीले चासो नदेखाएको आरोप लगाउँदै मानव अधिकारका क्षेत्रमा कार्यरत विभिन्न संघ–संस्थाले गम्भीर ध्यानाकर्षण गराएका छन् । जिल्लाका पश्चिमी क्षेत्रका अधिकारकर्मी र संचारकर्मीको टोलीले संयुक्त प्रेस विज्ञप्ती प्रकाशित गर्दै घटनाका दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न जोडदार माग गरेका छन् । अधिकारकर्मी र संचारकर्मीको टोली वडा प्रहरी कार्यालय पुगी प्रहरी निरीक्षक सन्तोष रोकालाई प्रेस विज्ञप्ती बुझाएका थिए ।
No comments:
Post a Comment