• Breaking News

    9.17.2014

    आखिर हिन्दूत्वमाथि प्रहार गर्ने को त ?

    दिपक भट्टराई
    प्रकृतिको वरदानले शोभायमानले मेरो देश नेपाल अनि हामी सबै नेपाली यति बेला स्वय प्रकृति आफै अनि हाम्रा दाजुभाई लागि गरेका छन, अच्चम्म छ चाहेर पनि चुपचाप रहन सकेन यो प्रवासी कलम । मुटुभरी अमिलो पीडा अनि गहभरी आँसु पार्दै आफ्नी जननीको पवित्र छातीमा नाची रहेका उनकै सन्तानले आमाको पुकार सुनेकै छैनन, मात्र आफ्नो स्वार्थको लागि आमालाई चोटै चोट पु¥याई रहेका छन् । कसैले आफ्नो फाइदाको लागि महातारीको मृगौला, त कसैले आँखा गर्दै शरीरका सबै पार्ट पूर्जा छुट्याउनका लागि अधिकारको कुरा गरेका छन् । तसर्थ सबै सन्तानको यतिखेर प्रश्न छ– के मेरी आमा हैनन् ? के मेरो अधिकार छैन ?
    प्रशंग अति संवेदनशिल पनि छ यतिखेर, पंक्तिकार स्वंयलाई थाह छ कलमको भाषालाई तरबार देखाएर तर्साउनेहरुको ठूलो जमात छ वरीपरी, तरपनि सत्य, यथार्थता लेख्न नकाप्ने कलम दौडाउनु अवश्य पनि आवश्यक ठानी पाठकहरु समक्ष पस्कने तयारीमा छु ।
    यतिखेर गायिका अञ्जु पन्तको छाँया वरीपरी देशका नेताहरु वाक युद्धमा लागिरहेका छन । धर्मको लडाईबाट टाढा रहेको मेरो देशमा अधर्मीहरुले विगुल फुकि रहेका छन । अनि भित्र भित्र सम्पूर्ण तयारी गरि अवोध चेली मार्फत विगुल फुकेका छन । २०६२–०६३ को आन्दोलन पूर्व नै सबैभन्दा बढि हिन्दुत्वमाथि प्रहार भएको थियो । जसरी भूमिगत शैलीमा प्रहरी चौकी, आर्मी ब्यारेक, प्रशासन कार्यालय, विद्यालय, हस्पिटल माथि तत्कालिन जनसेनाबाट प्रहार भए त्यसरी नै ति नेपाल आमाका सपुतहरुको सोझोपनको फाईदा उठाउदै नेतृत्व गर्ने टाउकेहरुले हिन्दुत्व माथि प्रहार गरेका थिए । ‘ललिपप देखाएर विष ख्वाउन सिपालु’ नेताहरुले सोझा लाल सेनाको बलमा उनै लालसेना अनि उनैका बुबा आमालाई बिष मिलाएर खाना खुवाएका थिए । त्यतिबेला राष्ट्र लाचार थियो, अनि आफै गलत बाटोमा हिडेकोले अर्काको गलत कसरी औल्याउने हिम्मत गथ्र्यो ? वास्तवमै २०५२ पछि राजनीतिक यात्रा शुरु गरेका प्रचण्ड र बाबुराम नै हिन्दु विरोधी हुन् । बिचारा हिजोकी अञ्जु पन्त स्पिकरको रुपमा प्रयोग भएकी छिन । भूमिगत जीवनमा काज क्रियामा बसेका ठाँउमा पुगी मर्ने मरेर गए, के को काजक्रिया ? भनि उनिहरुले भनेकै हुन । मासु त मासु भनि दुर्गम क्षेत्रमा राष्ट्रिय जनावर गाई काट्न लगाउने यिनै हुन । मगरहरुको घना बस्ती भएको पाल्पामा पुग्दा मगरात, पूर्वको इलाम र झापामा पुग्दा किराँत, गण्डकीमा पुग्दा तमुवान, मेधश छिर्दा मधेशवाद, कहि थरुहट, कहि बाहुन क्षेत्री आदि संगठन खोल्ने यिनै हुन । के राष्ट्रिय एजेण्डा बोकेको राजनिति गर्न जानेका छन् यिनीहरुले…?
    ‘यदि जात, भात र क्षेत्रीयता छोडी नेपाली जनताको भावना र त्यहाँको हावापानी अनुसारको राजनीतिक गर्ने क्षमता नेपालका कुनै पनि शिर्ष दलका नेतामा छ भने पंक्तिकार स्वयं उनिहरुसँग राजनीति गर्न तयार छ’ । विश्व राजनीतिको बारेमा लामो अध्ययन भएका बाबुराम भट्टराई जस्ता विद्धानहरु भन्दा नेपाली भु भाग अनि सम्पूर्ण हाम्रो समाजलाई सञ्चालन गर्न सक्ने कृषकको खाँचो छ यतिबेला, यतिखेर खोले र फाँडो ख्वाएर ६०१ अस्वस्थ व्यक्ति राख्नु भन्दा, ७५ जनालाई स्वस्थ्य र मिठो खाना खुवाएर सहि काममा प्रयोग गर्न चाहन्छौ हामी । खाडी मुलुकमा गएर पठाएको रेमिट्यान्स, पश्चिमी मुलकमा गएर नपाएको आफ्नोपन, भारत पाकिस्तानको सिमानामा अचानोे माथि शरिर राखी दिएको रेमिट्यान्स साथै उपद्रो मच्चाईएका इराक जस्ता ठाँउमा गएर शान्ति स्थापना गर्ने शान्ति सेनाको पसिनामा आहल खेल्दै देशमा भेद नितिको राजनीतिक विरुवा रोपेका छन, देशलाई विभाजनको मुल मुद्धा लिएर हिडेका उनिहरुले आफ्नो यथार्थता पहिलो संविधानसभाको निर्वाचन पछि देखाएका थिए । फलस्वरुप दोस्रो संविधानसभाको चुनावमा जनताले उनिहरुलाई धुँलो चटाएका थिए । पहिलो चुनाव जित्दा खुशीले उच्चरक्तचाप भएका प्रचण्डलाई दोस्रोमा उक्त रक्तचापको कारणले राजनीतिक प्यारालाईसेस भयो । फलस्वरुप अहिले शरिरको एउटा पाटो चलेको छैन, अर्थाथ वैद्य समूह बिना आफू अपांग भएको कुरा बारम्बार गरिरहेका छन् ।
    वास्तवमै उनिहरुको इतिहास आज दर्पण साबित भएको छ । जनयुद्धमा होमिएका स्वाभिमानी, देशप्रेमले ओतप्रोत भएका यूवाहरु माथि कुठाराघात भएको छ । आफुसँगै जंगलमा रात बिताएका साथीहरुलाई जंगल मै छोडी काठमाण्डौमा बिलासी जीवन व्यतित गरेका छन् उनिहरु । १२–१३ बर्षसम्म जंगलमा साथ दिएका साथीहरुलाई चटक्क छोडेर हेलिकोप्टर चढी काठमाण्डौ पुगेका प्रचण्डमाथि जनताले अहिलेसम्म पनि राम्रो कामको आश गरिरहेका छन् । उनि आज किन चिप्लिए यर्थाथता स्वीकार्न सक्छन भने म केहि बुँदाहरु दिन सक्छु । ‘राजा हटाउ देश बचाउ’ को नारामा सम्पूर्ण नारा समावेश भए त्यो शिर्ष नेताको हात्तीको जस्तै देखाउने र खाने दाँत जस्तै रहेछ । त्यो आन्दोलनको पर्दा पछाडीको षड्यन्त्र राजा हटाउनु मात्र नभई हिन्दुराष्ट्र हटाउनु रहेछ । के आन्दोलनकै बेलामा धर्म निरपेक्षताको कुरा चलाएको भए त्यो जनसागर उर्लन्थ्यो होला ? अहिले पनि एमाओवादीको सिद्धान्त र व्यवाहार एकदमै फरक छ । पार्टीका अध्यक्ष सिद्धान्तमा हैन पैसामा बिक्छन भन्ने कुरा वनमन्त्री भएका सच्चा देशभक्त र तत्कालिन माओवादी कै विचारधारावादी मातृका यादव जस्ता निर्भिक र स्वाभिमानीलाई उनले हटाए । सधै वैद्य र बाबुरामलाई बैशाखीको रुपमा प्रयोग गर्ने उनले चिन्न सकेनन् । बाबुराम माथि पनि बेला बखत खलल पु¥याउन उनि पछि परेका छैनन् । अब यहाँ जसरी ६२–०६३ को आन्दोलनमा प्रयोग गरिएका पर्दा पछाडीका कुराहरु छन । त्यसरी नै अबका दिनमा दुईचार जना राजनीतिक दलका भावी मुद्धाहरुलाई मैले चित्रण गर्न खोजेको छु । उहाँहरुको यथार्थ चित्रण गरेर मात्र उहाँहरुलाई समर्थन गर्न आग्रह गर्दै कमल थापा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता उहाँ यतिबेला टुहुरिएका नेपाली जनताका अविभावक बन्ने तयारीमा हुनुहुन्छ । वास्तवमै नेपाल र नेपालीका भावनालाई कदर गरिएको हिन्दुराष्ट्र नेपाल को नारा लिएर हिड्नु भएको छ, तर हिन्दुराष्ट्रसँगै संवैधानिक राजसंस्था नामक स्वार्थ उहाँले जोड्नु भएको छ तसर्थ स्पष्ट निति भएमा मात्र उहाँलाई साथ दिन आग्रह गर्दछु ।
    खुमबहादुर खड्का– नेपाली कांग्रेस का प्रभावशाली नेता हुनुहुन्छ । राजनीतिक कारण हो या जुनसुकै कारण होस, सम्माननीय न्यायलयबाट दोषी ठहरिएका उनि यतिबेला धमिलो पानीमा माछा मार्दै आफ्नो कलंक मेट्ने कोशिस गर्नुभएको छ र भन्नु हुन्छ –यदि अबको संविधानमा धर्म निरपेक्ष लेखियो भने, त्यो सबैभन्दा पहिले म जलाउछु । आफ्नै पार्टीले सरकारको नेतृत्व गरेको बेलामा उहाँको यो भनाई कक्तिको सान्दर्भिक छ, मुल्यांकन गर्नुपर्ने बेला आएको छ । तसर्थ यस्ता लोकप्रिय नारा दिएर अरु सबै नेताहरुले आम नेपाली माथि विश्वासघात प्रहार गरिसकेका छन, र अब पनि कुनै न कुनै प्रकारको लाँलीपप नेपाली बजारमा पसारेका छन ।
    सचेत हुँदै काम गर्न सम्पूर्ण नेपालीहरुलाई आग्रह गर्दछु । यसका साथै हाम्रो अबको समाज कस्तो होस, जो हिजो थियो, यसबारे तीन करोड नेपालीको चाहना र भावनाको बिषय बस्तुलाई चित्रण म आफु मार्फत गर्न चाहन्छु । नवलपरासी जिल्लाको हाल देवचुली नगरपालिका अन्र्तगत पृथ्वीनगर भन्ने ठाँउमा बाल्य काल बिताएको मेरो जीवन आफन्तपनले भरी भराउ छ । ९५ प्रतिशत मगर बस्ती रहेको मेरो गाउँ एकजुटताको लागि नेपालमै परिचय दिन सक्छ । म स्वयं स्पष्ट रुपमा मगर भाषा बोल्न सक्छु । पृथ्वी नगरबासी आमाहरुले मलाई कहिल्यै बाहुन भन्नु भएन, सधै आफ्नै छोरा सरह व्यवहार गर्नुभयो । पृथ्वीनगरका बुबा दाजूहरुले सानो सांस्कृतिक कार्यक्रम होस या, खेलकुद आज प्रवासमा भए पनि सम्झनुहुन्छ । जात जाति, धर्म र भाषाको बिषयमा फुट गराउन खोज्ने टाउकेहरु यदि हिम्मत भए, पृथ्वीनगर गएर देखाउ, तिम्रो राजनीतिक पावर हामीले हेर्न चाहन्छौ । अहिले सबै जातजाति मिलेर बसेको छ, त्यो ठाउँमा र भोलि पनि त्यो रहन्छ । अनि छिट्टै नै सम्पूर्ण नेपालले त्यहाँबाट सिकेर एक हुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु ।
    गत माघ महिनामा नेपाल जाँदा ४ जना साना बालकले बाटोमा मलाई ऊ बाँहुन आयो भनेका थिए । बाटोमै सम्झाए, म तिम्रो घरको सदस्य हँु । मलाई त्यसो भन्नु हुँदैन । १२ बर्षसम्म जातीयताको हावा फैलाएका कारणले त्यो बाल मष्तिस्कमा पनि फुट निति पलाईसकेको रहेछ । साँझ उहि बालकको घरमा गएर खाना खाई उनका परिवार समक्ष तपाई मगरात राज्यको पक्षमा हुनुहुन्छ ? भनेर सोधे । हामी नेपाली हुँ, सबै हाम्रा दाजूभाई हौ । एउटै चन्द्र र सूर्य अंकित ध्वजाको छायामा बस्न चाहन्छौ भन्नुभयो । गहभरी आँशु बनाई राति घर फर्के । अब यसपटक पनि ति अबोध बालकलाई भेट्ने प्रयासमा छु । अर्को तर्फ मेरो घरदेखि पश्चिम तर्फ तीन मिनेटको दुरीमा चर्च रहेको छ । हिजोसम्म गीता पाठ गर्दै भिक्षा लिने भिक्षुक म घर पुग्दा जय मुसी भनेका थिए । अचम्म मान्दै केहिबेर कुराकानी गरेर घर फर्के । दोस्रो दिन उनिहरुको घरदैलो अभियान रहेछ । हिजोसम्म आकाशबाट पानी परेन भने, शनिष्चरी माताको पूजा आराधाना गर्न जाउ भन्दै घरघर पैसा उठाउन आउने मेरा निकटतम आले थरका बिशालटार निवासी दाजु मलाई क्रिश्चन बन भन्दै घरदैलो अभियानमा जुटेका थिए । गीता, रामायण हुँदै बाईबल र कुरानको सबै सार तत्व मैले बुझेको अनि पढेको छु । तसर्थ म सँग भेट हुँदा कृपया धर्मका कुरा नगर्नु होला भनि पठाए ।
    अर्को तिर नवलपरासी कै रजहर गाविस वडा न २, कुज्यौलीमा शोभायमान मेरो ससुराली गाउँमा बास्तवमै थारु जातिहरुको बाहुल्यता छ । मेरा आफ्नै ससुरालीहरुका जम्मो टिमनै भए पनि वरीपरि रहनुभएका सम्माननीय थारु अविभावक एंव साथीहरुको मायाले नै मलाई बारम्बार त्यहाँ जान बाध्य वनाउछ । म प्रवासमा छु, तर पनि हरेका चाडपर्वमा उहाँहरुले फोन गर्नुहुन्छ । छिमेक मै रहेका उहाँहरुको माया र आर्शिवादलाई अहिलेका यि नेताहरुले चलाएको थरुहट राज्यमा गाभिएर कतै मलाई पनि माया मार्नुहुन्छ की ? भनेर नजिकै रहेका महतो थरका दाजु (जेठान) लाई सोधेको थिए । बाबु बरु देश भारत या अमेरिकाले लियोस । हाम्रो नाता टुट्न सक्दैन, नेपाल आउँदा हजुर यहाँ नआए हामी दुःखी हुनेछौ भन्नुभयो ।
    यसैगरी पर्वत जिल्लाको बेउली बास गाविस वडा नं. ७ भट्टराई डाँडाबाट आउनु भएका मेरा माता पिता तर्फ त्यहाँका स्थानीय एक बृद्धको स्वभावले मलाई भावविह्ल बनायो । विश्वकर्मा थरका ति बृद्ध ‘बास्कोटे कान्छा’ को नामले परिचित हुनुहुदो रहेछ । आज भन्दा ४०–५० बर्ष अघि मेरा पिताजीको अनुपस्थितिमा दुई छाक टार्न मुस्किल भएकी मेरी जननी र मेरा दुई दाजुलाई उहाँले अविभावकको भूमिका निर्वाह गर्नु भएको रहेछ । वास्तवमै मेरा मावलीहरुले भन्दा उहाँले म माथि जो सद्भाव राख्नु भो त्यहाँ पनि उहि प्रश्न दोहो¥याए । अब आदिवासी, जनजातिको मान्छे हजुर‘हामी यहाँ आउदा अप्ठारो हुन्छ कि’?..के को जाति जति भावनाले हामी नजिक छौ, त्यो संगठन छैन । म त के मेरा छोरा नातीले पनि जीवनभर तपाई यहाँ आउदा स्वागत गर्ने छौ ।
    अनि फेरी आफन्तहरुसँगै व्यवहारिक मामलामा फस्नु भएका मेरा पिताजीलाई पाखीमास र हिलेका गुरुङ यूवाहरुले मामा हामी छौ भन्ने बचन दिंदा खुशी भएका मेरा पिताजीले उहि शब्द दोहो¥याउनु भएछ । बाबु हो यो आदिवासी जनजातिको भाषा प्रयोग गरी माया मार्नु हुन्छ कि ? मामा हामी हाम्रो स्वाभिमान बेच्दैनौ, नुनको धर्म निभाउने हाम्रो बानी छ । नुनको सोझाको निम्ति कश्मिरमा गोला बारुदको बीचमा सुतेका छौ । हामी बेलायती सेना मार्फत इराकमा लडेका छौ । पैसा त हामीले त्यहाँ पाउछौ तर, आफन्तपनको आभास पाउन नेपालमै आउछौ । यदि कसैले जातिय राज्यको नाउँमा हजुर हामीलाई फुटाउन खोज्छ भने, हामीले जानेको शिप तिनै टाउकेहरुलाई प्रयोग गर्छौ ।
    र यतिखेर पंक्तिकार स्वयं प्रवासी जीवन व्यतित गरिरहेको छ । म सँगै सुदूरपश्चिमका मित्र तथा गजलकार हर्क बिवश खनाल र अरुणखोला नवलपरासीका मित्र सागर भण्डारी बस्नुहुन्छ । पूर्वका सुमन थुलुङ राईले लेखेका कविता म पढ्ने गर्छु, बाबिया चौर सुर्खेतका कमल परियार जलन आँशुका गजलले मलाई झकझकाउछ । अछामका बुद्धिजिबी भरत रावलले मलाई नेपालीहरुको छाता संगठनमा आवद्ध गर्नु भयो, भने स्याङग्जाका मास्टर थापा र भरत कँडेलले मलाई परेका बेला सहयोग गर्नुहुन्छ । डोटीका देवेन्द्र विक्रम शाह दाजु मेरो अविभावक हुनुहुन्छ । गुल्मीका रामलाल पन्त र पोखराका बीरेन्द्र पौडेल सरसँग मेरो बैचारिक छलफल हुन्छ अनि प्रवास स्थित सबै राजनीतिक दलका नेताहरुसँग बेला बेलामा देशको बिषयमा चर्चा हुन्छ । लगभग सबैको एउटै ठम्याईरहेको छ, कुनै पनि हालतमा सिंगो नेपाल अलग–अलग राज्य हुनुहुँदैन, मेची देखि महाकालीसम्मको नेपाल चन्द्र सुर्य अंकित झण्डामा नै ओतिनु पर्छ, र हिन्दुराष्ट्र नेपाल भनेर चिनिनु पर्छ अरे । शुभकामना नयाँ बन्ने संविधान लाई प्रवासमा रहेका नेपालीहरुका तर्फबाट ।
    (लेखक नेपाल दर्पण दैनिक, मुम्बईका पत्रकार  हुन् ।)
    www.ratopati.com

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र