कञ्चनपुर, भदौ २ – जोगबुढा नदीमा आएको बाढीले घरभित्र राखिएको लत्ताकपडासँगै सबै अन्न बगाएर लगेपछि दोधारा–९ कुतियाबरकी मायादेवी सुनारले नदी किनारामा उम्रिएको घाँस पकाइ गुजारा चलाउँदै आएका छन् ।
छोरा र छोरीसँग बस्दै आएकी उनले अन्नको अभावमा घाँस पकाएर खाने गरेका हुन् । साउन पहिलो साता आएको बाढीका कारण विस्थापनमा परेकी सुनारले बाढीको पानीले घरभित्रको अन्न बगाएर लगेपछि विचल्लीमा परेको बताए ।
ओढ्ने, विछ्याउने कपडाको अभावमा बालबालिका बिरामी परेपछि घरमा जडान गरेको सोलार प्यानल बेचेर उपचार गर्नुपरेको दुःखेसो उनले पोखे ।
श्रीमान्ले अर्को विवाह गरेर लगेपछि मायादेवी छोरा अर्जुन र छोरी आरतीसँग उनी बस्दै आएकी छिन् । बाढीले विचल्लीमा पारेपछि उनका कक्षा ७ मा पढ्दै आएका छोराले विद्यालय छाडेर भारततर्फ मजदुरीका लागि पलायन भएका छन् ।
केही दिन छिमेकीसँग अन्न मागेर गुजारा चलाउँदै आएकी सुनारले भनिन्, “माग्दामाग्दै लाज लाग्न थालेपछि बाध्य भएर नदी किनारामा उम्रिएको काँडे घाँस खान थालेका हौँ ।”
घाँस खाँदै आए पनि सरकारी निकायबाट कुनै किसिमको राहत सामग्री पाउन नसक्दा बिजोग भएको उनले रुँदै दुःखेसो पोखे । दुई दिनअघि निड्स नामक गैरसरकारी संस्थाले कारितास नेपालको सहयोगमा सुनारलाई २० किलो चामल, दाल, तेल, नुनलगायतको खाद्य सामग्री प्रदान गरेको छ ।
खाद्य सामग्री पाएकी सुनारले भने, “सरकारले वर्षभरि खान पुग्ने गरी पुनःस्थापन गरे सहज हुने थियो ।”
दोधाराका किशोर सुब्बाले घाँस खाने अवस्था आउँदासमेत स्थानीय प्रशासनले बाढीपीडित परिवारको अवस्थाका बारेमा नबुझ्नु दुःखद् भएको बताए । “यसले सिङ्गो महाकाली पारीका बाढीपीडितको पीडालाई उजागर गरेको छ”, उनले भने ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment