मोरङ झुर्कियाका हेमन्त पौडेल, विराटनगरका तारामणि चौहान, धनकुटाका प्रकाश अधिकारी, सुनसरी इटहरीका मिलन तिमल्सिना, सुनसरी हाँसपोसाका सुवास बोहोरा, रमेश बोहोरा र विराटनगरका सन्तोष साहसँग उनले रकम उठाएका हुन्।
प्रतिव्यक्ति चार लाख ५० हजारका दरले रकम उठाएर ती युवकलाई फिलिपिन्ससम्म पुर्याएर उनी त्यहाँबाट फरार भएका थिए। साहले अन्य धेरै युवकलाई ठगेको हुनसक्ने आशंका प्रहरीको छ। साहलाई विराटनगरको ट्राफिकचोकबाट प्रहरीले सोमबार राति पक्राउ गरेको छ।
पीडित युवककै सहयोगमा प्रहरीले साहलाई पक्राउ गरेको हो। साह लामो समयदेखि गैरकानुनी रूपमा युवालाई विदेश पठाउने भन्दै रकम असुल्ने धन्दामा सक्रिय रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
जोर्डन लग्ने भन्दै ती युवकलाई साहले २०७० साल पुसमा भारतको नयाँदिल्ली पुर्याएका थिए। नयाँदिल्लीबाट इन्डोनेसिया हुँदै उनीहरूलाई फि लिपिन्स पुर्याइएको थियो। फिलिपिन्समा पुर्याएर अलपत्र बनाएपछि आफूहरू ठगिएको थाहा पाएको विराटनगरका तारामणि चौहानले बताए।
'हामीलाई जोर्डनमा गएर काम गर्न पाइन्छ। कुनै कानुनले छेक्दैन भनेर झुक्याइयो', तारामणिले भने, 'जोर्डन जान भारतको बाटो हुँदै जानुपर्छ।त्यहाँबाट गइयो भने सीधै जोर्डन पुगिन्छ भनेर ढाँटियो।'
लामो समयदेखि युवकलाई विदेश पठाइदिन्छु भन्दै दलालीको काम गर्दै आएका देवेन्द्रप्रसाद साहले आफ्नी पत्नीलाई साक्षी राखेर ती युवकसँग कागज गरेका छन्। आठजनालाई नै जोर्डन लैजाने र बीचमा कुनै समस्या आए आफूले तत्काल रकम फिर्ता दिने, पैत्रिक सम्पत्ति बिक्री गरेर भए पनि तिर्ने साहले गरेको कागजमा उल्लेख छ।
साहले युवकलाई जोर्डनमा पुगेपछि दैनिक १० घन्टा काम गर्नुपर्ने र मासिक एक लाख ५० हजार रुपैयाँ तलब पाउने प्रलोभन देखाएका थिए। साहले पैसा लिने बेलामा गरेको कागज र नक्कली भिसा पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरी हिरासतमा रहेका साहले आफूले पैसा फिर्ता दिने भन्दाभन्दै पक्राउ गरिएको बताए। मोरङका प्रहरी प्रमुख एसपी विश्वराज पोखरेलले साहले गरेका ठगीका धेरै प्रमाण फेला परेको बताए। साहलाई कारबाहीका लागि बुधबार वैदेशिक रोजगार विभागमा पठाइने पोखरेलको भनाइ थियो।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
No comments:
Post a Comment