• Breaking News

    7.14.2014

    सबैभन्दा पुरानो वेश्यालय बन्द

    ढाका, ३१असार । बङ्गलादेशमा स्थानीय धर्मगुरु तथा राजनीतिज्ञहरूको दबाब तथा मुसलमान बहुसंख्यक भएको यस मुलुकमा परम्परावादीको विस्तार हुँदै गरेको अवस्थामा मुलुकको सबैभन्दा पुरानो वेश्यालय बन्द भएको जानकारी प्रहरीले सोमबार दिएको छ ।
    ताङ्गाइल नगरमा करिब २ सय वर्षदेखि चलिरहेको कान्दापारा वेश्यालयका ७ सय ५० वेश्यालाई यहाँ बनेका घरहरूको समूहबाट बाहिर जान आइतबार बाध्य बनाइएको एक अधिकारीले बताए । यी घरहरूका मालिकहरूले नै यी घर बन्द गर्न आदेश दिएका हुन् ।
    मुसलमान धर्मगुरु तथा नागरिक कार्यकर्ताहरूले गत साता यहाँबाट यौनकर्मीहरूलाई हटाउन माग गरेपछि यहाँका घरमालिकहरूले यस्तो निर्णय गरेको जानकारी जिल्ला प्रहरी प्रमुख सलेह मोहम्मद तनवीरले दिए । आइतबार वेश्यालयका घर मालिकले सबै यौनकर्मीलाई यहाँबाट जान आदेश दिएको सूचना जारी गरेको तनवीरले बताए । यी यौनकर्मीले यस निर्णयको कुनै विरोध नगरेको पनि उनले उल्लेख गरे ।
    परम्परावादीहरूको विरोधबाट इस्लामी तथा अन्य कार्यकर्ताहरूको मनोबल बढेको छ र उनीहरूले हालका वर्षमा मुलुकका विभिन्न भागमा करिब एक दर्जन वेश्यालय बन्द गराइदिएका छन् । यस्ता वेश्यालयमा राजधानी ढाकामा अवस्थित सबैभन्दा ठूलो वेश्यालय तनबजार पनि परेको छ ।
    बङ्गलादेशमा वेश्यावृत्ति गैरकानुनी मानिन्छ तर सरकारले यी वेश्यालयल मुलुकमा सञ्चालन भएको कुरालाई हालसम्म ध्यान दिएको थिएन । कान्दापारामा यौनकर्मीहरूको नेतृत्व गर्ने मोनोवारा बेगमले सत्ताधारी दलका नेता स्थानीय नगर प्रमुखले यी वेश्यालय बन्द गर्न आदेश दिएको र महिलालाई हिंसा हुने चेतावनी दिएको बताइन् ।
    उनले मेयरले दर्जनौँ युवकलाई वेश्यालय पठाएको, उनीहरूको हातमा लट्ठी भएको र उनीहरूले यौनकर्मीले आफ्नो निवास एक घण्टामा खाली नगरे त्यसलाई जलाइदिने चेतावनी दिएको बताइन् । उनले त्यसपछि घरमालिकहरूले आफ्नो घर भत्काउन थालेको पनि उल्लेख गरिन् ।
    उनले उक्त वेश्यालयमा रहेका ७७३ बालिका त्रासमा रहेको र उनीहरूले उक्त स्थान छोड्दा सातवटा ट्रकमा राखिएको उनीहरूको टेलिभिजन, फ्रिज तथा फर्निचर स्थानीय व्यक्तिहरूले लुटिदिएको बताइन् । यहाँको नगरप्रमुखलाई सम्पर्क गर्न खोज्दा उनी फेला पर्न सकेका छैनन् ।
    बेलायती लोककल्याणकारी संस्था एक्सनएडको बङ्गलादेश शाखाले स्थानीय यौनकर्मीहरूको अधिकारका विषयमा काम गरिरहेको छ । यस संस्थाले कान्दापारा वेश्यालय गत २ सय वर्षदेखि सञ्चालनमा आएको र बेलायती शासनकालमा स्थापना भएको जानकारी दिएको छ ।
    भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र