• Breaking News

    7.15.2014

    मेसीको दुखेसो : मेरो दुखको कुनै औषधि छैन

    मंगलबार , ३१ असार
    अर्जेन्टिनी फुटबल कप्तान लियोनेल मेसीले विश्वकप फाइनलमा जर्मनीसँग हारेपछिको दुख मेट्न आफूलाई अन्य कुनै पुरस्कार वा उपाधि औषधि बन्न नसक्ने बताएका छन् ।
    विश्वकप फाइनलपछि प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी चयन भएका अर्जेन्टिनी खेलाडी लियोनेल मेसी ‘गोल्डन बल’ पाउँदा कत्ति पनि मुस्कुराएनन् । उपाधि जित्न नसक्दा आफ्ना अन्य साथीहरुजस्तै नरोए पनि मेसीभित्रको पीडा उनको अनुहारमा प्रस्टै देखिन्थ्यो ।
    विश्वकपको सबैभन्दा ठूलो व्यक्तिगत पुरस्कार लिन जाँदै गर्दा उनलाई जर्मनीका खेलाडीहरुले सान्त्वना दिएका थिए । बास्तियन स्वाइनस्टाइगरले उनलाई अंगालो हालेका थिए ।
    मेसीले ‘गोल्डन ग्लोब’ पुरस्कार पाएका जर्मनीका गोलकिपर म्यानुएल नोएयरलाई बधाई दिए ।
    विश्वकप उपविजेताको पदक साथीहरुसँगै लिएपछि उनले भने, “अहिले कुनै पनि पुरस्कारले मेरा लागि औषधिको काम गर्दैन ।”
    “हाम्रो एउटामात्र लक्ष्य विश्वकपलाई घर लैजानु र आफ्ना देशवासीसँग उत्सव मनाउनु थियो” मेसीले भने, “हामी जीतको हकदार थियौं तर पनि उपाधि जित्न नसक्नु निकै पीडादायी भएकोे छ ।”
    ब्राजिलको माराकाना स्टेडियममा उपाधिका लागि भएको प्रतियोगितामा जर्मनीले अर्जेन्टिनालाई १–० ले हराउँदै विश्वकपमाथि चौथो पटक कब्जा जमाएको छ ।
    जर्मन टोली २४ वर्षपछि विश्वकप च्याम्पियन बन्यो भने अर्जेन्टिना २४ वर्षपछि फाइनलमा पुगेर पराजित भयो ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र