• Breaking News

    7.21.2014

    पुटिनलाई एउटा मर्मस्पर्शी खुल्ला पत्र–‘मेरी छोरी मारेकोमा धेरै धेरै धन्यवाद’

    काठमाडौं, श्रावण ६ । नेदरल्याण्डस्को आम्स्टर्डमबाट मलेशिया जाँदै गरेको मलेशिया एअरलायन्सको विमानमा कामका साथै बिदा मनाउन जानेहरुको संख्या अधिक थियो । संसार विचरण गर्न उन्मुक्त भएर उडिरहेकाहरुलाई के थाहा थियो र जमीनबाट शक्ति र सत्ताको उन्मादमा पागल भएकाहरुले मिल्काएको मिसायलले सबै सपनालाई क्षणभंगूर पारिदिन्छ ।
    विमानमा रहेका सबै त जलेर खरानी भैगए तर बाँचेकाहरु भने पीडाको समुन्द्रमा डुब्दैछन् यतिबेला । यस्तै पीडामा रहेका एक डच बाबुले आफ्नी छोरीसहितका यात्रुहरुको मृत्युको कारक रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलाई ठहर्‍याएका छन् र लेखेका छन् यो मर्मस्पर्शी खुल्ला पत्र ।
    विमान दुर्घटनामा आफ्नी प्यारी छोरीसहित परिवारजन गुमाएर पीडामा रहेका एक डच बाबुले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनका नाममा मर्मस्पर्शी खुल्ला पत्र लेख्दै घटनाको जिम्मा लिन भनेका छन् ।
    १७ वर्षीया स्कूले छोरी एल्सेमीइक दि बोर्सेटको सम्झना गर्दै बाबु हान्स दि बोर्सेटले पुटिनलाई लेखेका छन्, मेरी छोरी मारेकामा तिमी र पृथकतावादी यूक्रेनीलाई धेरै धेरै धन्यवाद । उनी अब मसँग त रहिनन्, युद्ध मच्चिएको विदेशी भूमिको हावामै मारिइन् । तर मेरी छोरी जस्तै अरु थुप्रैं युवाको विनाकारण ज्यान लिन पाएकामा त तिमीहरुले गर्व गरेका हौंलाउ नि होइन पुटिन ?
    आँशुमा डुबेका बोर्सेटले प्रश्न गरेका छन् । छोरी गुमाउँदाको दुःखमा डुबेका बाबुले लेख्छन्, तिमीहरुको त्यो कालो कतूर्तयुक्त अनुहार एक पटक ऐनामा उभिएर हेर त कस्तो देखिँदैछ ? परिवारै गुमाउँदाको पीडा व्यक्त गर्नेक्रममा पुटिनलाई दैत्य शब्दले सम्बोधन गर्दै बोर्सेटले भनेका छन्, मेरी छोरी आउँदो वर्ष अन्तिम परीक्षाको तयारीमा थिइन् ।
    उनकी साथी जुलिया र मारिना झै स्कूलमा उनले राम्रो गरिरहेकी र उच्च शिक्षामा इञ्जिनियरिङ पढ्ने योजना थियो । उक्त विमान दुर्घटनामा एल्सेमीइकसँगै उनकी आमा, सौतेला बाबु र भाई पनि मारिएका थिए ।
    बोर्सेट जस्तै सयौं डचहरुको आँखा यतिबेला साउने भेलझै भएको छ भने आक्रोशले दाँत किटकिटाएको छ । तैपनि आफ्ना प्रियजनहरुको टुक्रै भएपनि शव आउने प्रतीक्षामा पूर्वतर्फ आँखा बिच्छ्याएर बस्नुको विकल्प छैन । कहालीलाग्दो दुःखको पहाडले एकै पटक थिचिएका उनीहरुको मुखबाट कुनै शब्द निस्कँदैन । सिवाय आक्रोश र पीडाको उछ्वास निःशब्द । केही दिन अघि युक्रेनमा मलेसियन एयरलाइन्सको विमान खसालिंदा २ सय ९८ जनाको मृत्यु भएको थियो । (एजेन्सी)

    भिडियो हेर्न तल  क्लिक गर्नुहोस :


    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र