• Breaking News

    7.11.2014

    कसले बाजी मर्ला विश्वकप ?

    काठमाडौ, असार २८ – विश्वकप फुटबल फाइनलमा भोलि (आइतबार) राति ब्राजिलमा हुने खेल निकै रोमाञ्चक हुनेछ, जहाँ २४ वर्षपछि ‘फाइनल–भिडन्त’ मा आमनेसामने भएका अर्जेन्टिनासँग लियोनल मेसी छन् भने जर्मनीसँग आयोजक ब्राजिललाई चकनाचुर पारेर आर्जेको आत्मविश्वास ।
    इङल्यान्डका पूर्वकप्तान गेरी लिनेकरले भनेजस्तै ‘फुटबल सामान्य खेल हो, २२ जना मान्छे ९० मिनेट बल खेल्छन् र अन्त्यमा सधैं जर्मनीले जित्छ’ पनि हुन सक्छ । तर, तथ्यांकले भने त्यस्तो भन्दैन । अर्जेन्टिना र जर्मनीका बीच भएका २० खेलमा ९ खेल अर्जेन्टिनाले जितेको छ भने जर्मनीले ६ मात्र । पाँच खेल बराबर भए । सबै खेलमा गरी दुवै टिमले एकअर्काविरुद्ध बराबर २८–२८ गोल गरेको फिफाको तथ्यांक छ ।
    डिएगो म्याराडोनाको उत्कृष्ट खेलसँगै अर्जेन्टिनाले सन् १९८६ को विश्वकप उपाधि जितेको थियो । अर्जेन्टिनाले फाइनलमा जर्मनीलाई ३(२ ले हराएको थियो । त्यसबेलाका सबैभन्दा ठूला स्टार म्याराडोनाको टिम अर्जेन्टिनाको चार वर्षपछि १९९० मा पनि फाइनलमा जर्मनीसँगै भेट भयो । मेक्सिकन रेफ्रीले दुई अर्जेन्टिनी खेलाडीलाई रातो कार्ड देखाएको फाइनलमा विवादास्पद पेनाल्टी गोलसँगै जर्मनी १(० ले बदला लिँदै तेस्रोपल्ट विश्वकप च्याम्पियन भयो ।
    त्यसको २४ वर्षपछि फेरि यिनै दुई टिम भिड्दै छन् । र, यस पटक अर्जेन्टिनासँग फेरि आफ्नो समयका सबभन्दा ठूलो फुटबल स्टार छन् –मेसी । कीर्तिमान चारपल्टका फिफा वर्ष खेलाडी मेसीकै उत्कृष्ट खेलसँगै अर्जेन्टिना योपल्ट फाइनलमा पुगेको हो । अर्जेन्टिनी टिम नै मेसी केन्द्रित बनाइएको छ । किनभने प्रशिक्षक अलेजान्ड्रो साबेला मेसीलाई ‘मरुभूमिको पानी’ मान्छन् । विपक्षीको कडा निगरानीका कारण हुन सक्छ, पछिल्ला दुई खेलमा मेसीको स्वाभाविक खेल देखिएको छैन ।
    ब्राजिललाई ७–१ ले ध्वस्त पारेको जर्मन टिम एकै खेलाडीमा निर्भर छैन । उसका २३ मध्ये १८–२० खेलाडी उस्तै स्तरका छन्, जसलाई मैदानमा उतारे पनि हुन्छ । दुईपल्टको च्याम्पियन अर्जेन्टिनालाई भने यो सुविधा छैन । ‘सुपरस्टार’ मेसीबाहेक टिमका अरू खेलाडी औसतका मात्र मानिन्छन् । मेसीका अलावा हाभियर मास्केरानो, एन्जेल डी मारिया र गोञ्जालो हिगुइन पनि केही खेलमा चम्किएका छन् ।
    रोममा २४ वर्षअघि म्याराडोनाको टिमले बेहोरेको हारको बदला रियो दि जेनेरियोमा लिने अवसर मेसीको टिमलाई छ । उही म्याराडोना प्रशिक्षक भएको चार वर्षअघिको विश्वकपमा मेसीको टिमलाई जर्मनीले ४(० ले हराएको थियो । पुरानो घाउको चोट ठूलो भए पनि यो ताजा हारको बदला लिन सके मेसी आफैं अन्तर्राष्ट्रिय फुटबलमा म्याराडोनाको दाँजोमा पुग्नेछन् । क्लबमा जस्तै उत्कृष्ट खेल राष्ट्रिय टिमबाट नखेलेको आरोप उनले बेहोर्दै आएका छन् ।
    सुरुका चार खेलमा ‘म्यान अफ दि म्याच’ भएका मेसीले समूह चरणका गरेका चार गोल लोभलाग्दो थिए । अन्तिम १६ मा स्विट्जरल्यान्डविरुद्ध उनकै पासमा गोलको मुभ बनेको थियो ।
    नेपाली राष्ट्रिय टिमका पूर्वफरवार्ड हरि खड्का मेसीकै खेलमा अर्जेन्टिना फाइनल पुगेको मान्छन् । ‘उनले फाइनलमा जादुयी खेल देखाउन सक्छन्,’ उनले भने,‘डी मारिया पनि टिममा फर्कदै छन् । भाग्यले पनि अर्जेन्टिनालाई साथ दिइरहेको छ । तर, जुनसुकै पोजिसनमा जसले पनि खेल्न सक्ने क्षमता भएकाले जर्मनीले विश्वकप जित्छजस्तो लाग्छ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र