• Breaking News

    12.21.2013

    आफ्नै बाबुबाट बेचिए अपाङ्ग छोरा

     कैलाली, पुस ७
    हरेक बालबालिकाले अफ्ठ्यारोमा पर्दा आमाको काख र बाबुको सहारा खोज्छ। त्यो उनीहरुका लागि आवश्यक कुरा पनि हो।

    आमाको काख र बाबुको सहारा पाउनु त परको कुरा तिनै जन्म दिने आमाबाबुले सन्तानलाई बेचेको खबर सुन्दा जोसुकैको मन कुँडिनु पनि स्वभाविकै हो।

    पश्चिम तराईका जिल्लाका रहेको कम्लहरी प्रथा विरुद्ध अभियान चलेको बेला यस्तै घटना भएको छ सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा।

    जिल्लाको लेकगाउँ गाविस घर भएका १५ वर्षका सुरेश धामीलाई उनकै बुबा चन्नी धामीले ६ वर्ष अघि बेचेको खुलासा भएको छ।

    अपाङ्गता भएका सुरेशलाई उनका बुबाले ३ हजार रुपैयाँमा स्थानीय मानबहादुर धामीलाई बेचेका थिए।

    स्थानीय मानबहादुर धामीको ३ हजार रुपैयाँ फिर्ता गरेर सदरमुकाम चैनपुरमा होटल व्यवशाय गर्दै आएका रणबहादुर जाग्रीले सुरेशलाई होटलमा काम गर्न लगाएका छन्।

    उनले होटलमा भाँडा माझ्ने, कोठा सफा गर्ने लगायतका काम गर्दै आएका छन्। सुरेशले जाग्रीको उपेन्द्र गेष्ट हाउसमा काम गर्न थालेको ३ वर्ष पुगेको छ। उनले होटलमा काम गरेको ज्याला समेत अहिलेसम्म पाउन सकेका छैनन्।

    राम्रोसँग खुट्टा नचल्ने सुरेशले काम गरेको ज्याला उपलब्ध गराई दिन नागरिक समाज र मानव अधिकारकर्मीहरुसँग आग्रह गरेका छन्।

    'बिहान ७ देखि राति १० बजेसम्म काम गर्दै आएको छुँ' सुरेशले भने–'तर पनि ३ वर्षदेखि पारिश्रमिक पाउन सकेका छैन।'

    उनले होटलमा काम गर्दा शारीरिक र मानसिक यातना भोग्नु परेको पीडा सुनाएका छन्।

    होटल सञ्चालक जाग्रीले सुरेशलाई पारिश्रमिक नदिएको स्वीकार गरेका छन्। उनले आफ्नै छोरा जस्तै गरी पालनपोषण गरेको दावी गरेका छन्।

    'मैले छोरा जस्तै गरी पालेको छुँ। त्यसैले पारिश्रमिक दिएको छैन' जाग्रीले भने।

    सानैमा आमाको मृत्यु पछि बाबुले आफुलाई बेचेर सानो भाइलाई साथमा लिएर हिँडेको बताए।

    उनले आफ्ना बाबु डोटीको बुडरमा रहेको फुपुको घरमा बस्दै आएको सुनेको बताए।

    सदरमुकाम चैनपुरमै एक बालक बेचिनु परेको र उनले कठिन काम गर्दा समेत पारिश्रमिक नपाएको घटनाले बालअधिकारका क्षेत्रमा काम गर्दै आएका संघसंस्थाहरुलाई लज्जित बनाएको अधिकारकर्मीले बताएका छन्।
    उनीहरुले सुरेशलाई न्याय दिलाउन पहल थालिने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।
    setopati

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र