काठमाडौँ, पुस ८ – नेपाल मानव अधिकार सङ्गठनले वीर अस्पतालमा अनशनरत अधिकारी दम्पत्तिको जीवन रक्षाको माग गरेको छ ।
संगठनले अधिकारी दम्पत्तिको स्वास्थ्य स्थिति अत्यन्तै चिन्ताजनक रहेको भन्दै अविलम्ब उनीहरूको माग पूरा गरी जीवन रक्षाका लागि सरकारलाई आग्रह गरेको हो ।
गोरखा जिल्ला फूजेल निवासी नन्दप्रसाद अधिकारी र गङ्गामाया अधिकारीका कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई २०६१ जेठ २४ मा तत्कालीन माओवादीका कार्यकर्ताले निशस्त्र अवस्थामा नियन्त्रणमा लिई हत्या गरेकाले दोषीलाई कानुनी कारबाहीको माग गर्दै उनीहरू ६० दिनदेखि वीर अस्पतालमा आमरण अनशनमा रहेका छन् । अधिकारी दम्पत्तिको यो दोस्रो पटकको अनशन हो ।
सोही विषयलाई लिएर विभिन्न अधिकारकर्मीले आज वीर अस्पताल अगाडि विरोध प्रदर्शन गर्दै दिउँसै मैनबत्ती बालेर न्याय मागेका थिए ।
अस्पतालभित्र फरक दृश्य
बाहिर अधिकारकर्मीहरुले अधिकारी दम्पत्तिको स्वास्थ्य अवस्था नाजुक भन्दै प्रदर्शन गरिरहँदा अस्पतालभित्रको दृश्य भने फरक देखिन्थ्यो । आमरण अनसनमा बसेका अधिकारी दम्पत्तिलाई स्लाइनको मद्दतले ग्लुकोज र प्रोटिन प्रशस्त मात्रामा दिइरहिएको थियो । वीर अस्पतालकै एक डाक्टरका अनुसार उनीहरुलाई सामान्य मानिसलाई दैनिक चाहिने पौष्टिक तत्व तथा तागत त्यही प्रोटिन र ग्लुकोजबाट मिलिरहेको पनि बताए । हेर्नुहोस् तस्विर
ratopati.com

No comments:
Post a Comment