• Breaking News

    5.24.2017

    पार्टी सभापति देउवामाथि आफ्नैबाट आक्रमण !

    एटा भनाइ नै छ ‘मित्रबाट मलाई बचाइदेऊ शत्रुबाट म आफै जोगिन्छु ।’ राजनीतिमा त झन स्थायी शत्रु र मित्र कहिल्यै कोही पनि हुँदैन । तर घात र अन्तरघातको शिकार भने नेपालका राजनीतिक दलहरु भइरहेका हुन्छन् ।

    त्यस्तै घातको शिकार यतिबेला नेपाली काँग्रेस भइरहेको देखिन्छ । मुलुकले सहनुपरेको भूकम्पको महाविपत्ति, त्यसपछि संविधान जारी भएपछि आइलागेको नाकाबन्दीको सकसकाबीचमा रहेका एमाले नेतृत्वको केपी ओली सरकारले उखानटुक्कामा चलाएको देशको जिम्मेवारी नेपाली काँग्रेसको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा आयो ।

    हावाबाट बिजुली, पाइपबाट ग्यास र रेल चढेर पूर्वपश्चिम हुइकिने हावादारी सपना बाँडेर चर्चा कमाएको ओली सरकारपछि जारी भएको संविधानलाई लागू गर्ने ठूलो जिम्मेवारी काँग्रेस समर्थनको अहिलेको सरकारलाई थियो । त्यही जिम्मेवारी मनन् गर्दै वर्तमान सरकारले संविधान बमोजिम आगामी माघभित्र गरिसक्नुपर्ने तीनवटै निर्वाचनको सुरुवात स्वरुपम स्थानीय तहको पहिलो चरणको निर्वाचन गराएरै छोड्यो ।

    आफू हारेर पनि काँग्रेस, माओवादी केन्द्रले संविधान कार्यान्वयन र मुलुकलाई बलियो बनाउने काममा कम्मर कसेपछि इतिहासले उच्च मुल्यांकन गर्ने डरले यतिबेला मनगणन्ते विश्लेषण र आरोपहरु लगाइन थालेका छन् ।न्यायको उच्च पदमा बसेर वर्षौँदेखि अन्यायमा परेकालाई अन्देखा गर्ने अनि नियतबस प्रेरित भएर कसैलाई बाटैमा न्याय दिन उद्धत हुने प्रधानन्याधिसको अभियोगलाई लिएर सँधै फाइदाको टपरी बोकेर हिँड्ने काँग्रेसी नै काँग्रेस खुइल्याउने खेलमा परिचालित भए । सरकारको क्षेत्रअभिकार र न्यायालयको मर्यादालाई पनि हेक्का नराखेर स्वघोषित विद्वानहरु आफ्नै आस्थाको नेतत्वलाई नांगेझार पार्न पाउँदा ठूलै बाघ मारेको फुर्तिमा देखिए ।

    हुँदै नभएको टिकापुर हत्याकाण्डलाई जोडेर दोस्रो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनमा पनि काँग्रेसलाई कमजोर बनाउने खेलमा फेरि केही वर्ग र व्यक्ति लागेका छन् । पार्टी भित्रका असहमति, विमतिलाई छताछुल्ल बनाएर पार्टीलाई नै कमजोर बनाउने गठजोरमा लागेर पार्टीकै नगर नेतृत्वदेखि पार्टीको निकट भनिने विचारवादीहरु नै पार्टीको सत्तोसरापमा लाग्नुले उनीहरुको आफ्नै अनुहारको उद्घाटन गरिरहेको बुझ्न त्यति असहज छैन ।

    हो पार्टी सभापति शेरबहादुर देउवाले गर्नैपर्ने धेरै काम बाँकी होलान र छन् । दशकौंसम्म नेतृत्वमा रहेकाले भत्काए, बिगारेका सांगठनिक अबयबहरुलाई दुरुस्त बनाउनतिर देउवाले भरमग्दुर प्रयत्न गर्नैपर्छ तर यो गर्न पनि समय लाग्छ भन्ने हेक्का स्वकल्ड विद्वानहरुमा हुनुपर्ने हो ।

    खराब मात्रै देख्ने अनि समाधान पहिल्याउन सकिने ठाउँमा पनि समस्या बल्झाउने हाम्रो प्रवृतिमा सुधार नआएसम्म पार्टी, सरकार र मुलुकमा सुधारको आसा गर्नुपनि बेकार सावित हुने छ । नराम्रो मात्रै देख्ने आँखाले शेरबहादुर देउवाले पार्टीको नेतृत्वमा आएको झण्डै एक वर्षमा एक दशकसम्म तत्कालि नेतृत्वले गर्न नसकेका काम सफल रुपमा सम्पन्न गरेको नदेख्नु देउवाको भन्दा नदेख्नेहरुको दृष्टि दोश हो ।

    २०६४ सालदेखि नै लथालिङ अवस्थामा रहेको, महाधिवेशन हुन नसकेका पार्टीका तीन ठूला भातृ संगठनको निर्वाचन देउवा नेतृत्वमा आएको छ महिनामै भएका हुन् । नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ र नेपाल तरुण दलको महाधिवेशनले आज मुलुरभर पार्टी यो स्थानमा आउन सम्भव भएको हो कि ? भन्ने कोणबाट पार्टीभित्रकै नेता, कार्यकर्ताले अनुमान गर्ने उदारता देखाउन सकेनन् ।

    हो वर्तमान सरकार निर्माणका क्रममा काँग्रेस र माओवादी केन्द्रबीच केही सहमति भए होलान । भद्र सहमतिलाई विगतमाजस्तो तोडेर सहमतिको बदनाम गर्नुहुन्न भन्ने पक्षमा देउवा र दाहाल रहेको देखिन्छ । तर यो भन्दैमा विपक्षिले भनेजस्तो काँग्रेस सभाति देउवाले सत्ताका लागि कहीँकतै बोलेको देखिँदैन । न त उनले प्रधानमन्त्री दाहाललाई सत्ता त्याग्न दवाव दिँदै सार्वजनिक वक्तव्य नै दिएका छन् । विपक्षी नेता ओलीले मनगणन्ते रुपमा बनाएको सत्ताका लागि र्याल काडेको कुरामालाई विश्वास गरेर कौवाको पछि लाग्ने कि कान छाम्ने ? त्यो विवेकशील हरेकले विचार गर्ने विषय हो ।

    श्रोत : युगवाणाी ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र