• Breaking News

    5.25.2017

    “हेरौं, तपाईं कसरी प्रधानमन्त्री बन्नुहुन्छ ?” भन्दै देउबासँग ओली कड्किएपछि


    काठमाडौं, जेठ १२ । “म प्रधानमन्त्री हुँदा तपाईलाई के को अप्ठ्यारो हो ?” देउबाले ओलीलाई सोधे ।

    “म पनि हेर्छु, तपाई कसरी प्रधानमन्त्री बन्नुहुन्छ ?” कड्किँदै देउबातर्फ शब्द फ्याँक्दै ओलीले भने । देउबाले जवाफ फर्काएनन् । ओली बाहिरिए ।

    यो दृश्य थियो प्रधानमन्त्री प्रचण्डले राजिनामा दिएको अघिल्लो साँझ ६ बजेको । त्यो दिन एक बजे प्रधानमन्त्री प्रचण्डले व्यवस्थापिका संसदमा राजिनामा दिने कुरा थियो । एमालेले अघिल्लो दिन नै प्रचण्डको राजिनामाको बिरोध गर्दै संसद अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुखले शीर्ष नेताबीच छलफल गर्न बैठक डाकेकी थिइन ।
    तर नेकपा एमाले अध्यक्ष ओली बैठकमा आउन मानेनन् । देउबा, प्रचण्ड र सभामुखले फोन गर्दा समेत उनी आएका थिएनन् । पछि आफ्नै सांसदहरुले समेत अनुरोध गरेपछि देउबा बैठकमा सहभागी भएका थिए ।
    तर त्यो बैठक सौहाद्रपूर्ण हुन सकेन । प्रचण्डले राजिनामा दिने कुरामा ओलीले आपत्ती जनाए र ओलीको कुरामा देउबा चर्किए । यही चर्काचर्कीबीच ओलीले निस्किंदै भने– हेरौं तपाई कसरी प्रधानमन्त्री बन्नुहुन्छ ?
    त्यसको भोलीपल्ट समेत डाकिएको बैठकमा एमाले अध्यक्ष ओली आएनन् । पछि प्रचण्डले सिंहदरबास्थित आफ्नै कार्यकक्षबाट राष्ट्रका नाममा सम्बोधन गरेर राजिनामा दिए ।
    देउबालाई प्रधानमन्त्री बन्न नदिने कसरतमा एमाले
    देउबालाई प्रधानमन्त्री बन्न नदिने संकेत ओलीले त्यही बैठकमा दिइसकेका थिए । त्यसपछि प्रचण्डले राजिनामा दिएपछि पनि ओलीले सार्वजनिक प्रतिक्रिया दिँदै सहमतीय सरकारको वकालत गरे । ओलीको भनाईलाई राष्ट्रपतिले समेत समर्थन गर्दैै सहमतीय सरकारका लागि दलहरुलाई आव्हान गरेकी छिन् । यसको अर्थ हो– ओली र एमालेले देउबालाई प्रधानमन्त्री देख्न चाहेको छैन ।
    यो कुरालाई एमालेको बैठकले समेत अनुमोदन गर्यो । एमालेले स्थानीय तहको थपिएको संख्यामा पुनर्विचार नगरिएमा सरकारको नीति तथा कार्यक्रमको बिरोध गर्ने, संसद अवरुद्ध गर्ने निर्णय गरेको छ । यसको अर्थ एमालेले सकेसम्म सरकार गठनको प्रक्रिया लम्ब्याउन खोजेको छ । यसो भएको खण्डमा स्थानीय तहको दोश्रो चरणको निर्वाचन सम्पन्न भएपछि एमालेसहितको सरकार बनाउने रणनीति एमालेको छ ।

    खासगरी प्रदेश र केन्द्रको निर्वाचन अहिलेको गठबन्धनले नै गर्न दिने अवस्थामा पार्टीलाई अप्ठ्यारो पर्ने बुझाई एमालेको छ । यही भएर ओलीले एउटा टेलिभिजनको अन्र्तवार्तामा समेत “देउबा या जसको नेतृत्व भएपनि विगतका आलोचना र तिक्तता बिर्सेर एमाले सरकारमा सहभागी हुन चाहन्छ” भन्ने कुरा व्यक्त गरेका थिए ।
    यो अवस्थाले राजिनामा दिएपनि प्रचण्ड नेतृत्वको सरकार लम्बिने संकेत गरेको छ । नेकपा एमालेले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबालाई प्रधानमन्त्री बन्न नदिने कसरत गरेको देखिएको छ । यसको संकेत नेकपा एमाले अध्यक्ष ओलीले दिएका हुन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र