२७ वैसाख, काठमाडौं।
‘ए हुँदैन, हुँदैन ! कमरेड, हुँदै हुँदैन क्या ! राजेश हमाल रिसाउँछ बा !’ एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई फिल्मी नायक कति मनपर्दो रहेछ भन्ने यही संवादबाट बुझिहालिन्छ।
स्थानीय निर्वाचनका लागि पहिलो चरणको कार्यक्रमअन्तर्गत १६ गते मनोनयन पत्र दाखिला गर्ने समय झण्डैझण्डै गुज्रिन लागिसकेको थियो। तर, एमालेको कोटेश्वरस्थित ३नं प्रदेश सम्पर्क कार्यालयमा पड्कापड्की जारी नै रह्यो। यसरी अभिनेता राजेश हमालका कारण एमालेहरु टेबुल ठोक्ने अवस्थामा पुगेको कारणचाहिँ एउटा वडाध्यक्षको टिकटका लागि मात्र थियो। कपुरधारा, अर्थात् काठमाडौं महानगरपालिका साविकको २९ र अहिले कायम २६ नम्बर वडामा वडाध्यक्षका दुई दाबेदार थिए, अर्जुनलाल प्रधान र निमा गुरुङ। यसमध्ये पार्टी केन्द्रीय सदस्यसमेत रहेका अर्जुनलाललाई अष्ट आफैँले अघिल्लो दिन भोलिको मनोनयनमा जाने गरी तयार हुन भनेकी थिइन।
पार्टीको पत्रसाथ निर्वाचन कार्यालयमा गएर नोमिनेशन गर्न भनी कोटेश्वर पुगेका अर्जुनलाल त्यतिबेला छक्क परे, जब अष्टलक्ष्मी बातैपिच्छे, ‘हुँदैन, हुँदैन’ भन्दै कराउन थालिन्।
स्थानीय कार्यकर्ता भन्दै थिए, ‘अर्जुनलाल नहुने भए निमाको नाममा सही गरेर चिठी दिनुस्।’ त्यसमा पनि अष्टले ‘हुँदैन, हुँदैन’ नै भनिन्। ‘अनि के हुन्छ त ?’ भनेर कार्यकर्ताले पाखुरै सुर्किन थालेपछि भनिन्, ‘राजेश हमाल रिसाउँछ बा, यो मेरो बाढ्यता हो !’
अर्थात्, कपुरधारामा अभिनेता राजेश हमालको घरसंगै घर भएका देवेन्द्र रिमाललाई टिकट दिनका लागि हमाल आफैँले लबिङ गरेका रहेछन्। उनले पार्टी अध्यक्ष केपी ओलीलाई मनोनयन पत्र दर्ता गर्ने दिन बिहानमात्रै पाँच पटक फोन गरिसकेका रहेछन्। केपीले आफूले अष्टलक्ष्मीलाई भनिसकेको भन्दै उनीसंग सम्पर्क गर्न भने। यसअनुसार, राजेशले अष्टलाई एक-एक छिनमा फोन गरेर ‘म्याडम, भएन?’ भन्दै अत्याइरहेका थिए। अष्टले सुरुमा त ‘गाह्रो छ, मलाई एकदमै गाह्रो भयो’ भनिन्। तर, फेरि राजेशले कपीलाई यही कुरा भनेर अष्टको मोबाइलमा केपीको फोन गराए। वास्तवमा अष्ट आफैचाहिँ अर्जुनलाललाई नै दिने पक्षमा थिइन्। केपीले, ‘राजेश हमालजत्तिको मान्छेले भनिसकेपछि किन नाइँनास्ती गर्नु ? भोलि उनीजस्ता मान्छे हाम्रो पक्षमा आउँदा, प्रचारमा हिँड्दा त्यसले अर्कै सन्देश दिन्छ। त्यसैमा हाम्रा साथीहरुलाई सम्झाएर पठाउनुस्, टिकटचाहिँ उहाँले भनेको रिमालजीलाई दिनुस’ भने। अष्टले यो कुरा त्यहाँका कार्यकर्तालाई सुनाइन्। तर, उनीहरुले मानेनन्। सिफारिसमा परेकी निमा ०५४ मा वडासदस्य जितेकी सक्रिय कार्यकर्ता हुन् भने अर्जुनलाल त केन्द्रीय सदस्य नै भइहाले। देवेन्द्र रिमालचाहिँ सामान्य समर्थक मात्र हुन्। स्थानीय निर्वाचनको लहर आएपछि पार्टीको संगठित सदस्यता नवीकरण गरेका थिए। कुनै पनि कमिटीमा छेनन्। आजको जनआस्था साप्ताहिकमा खबर छापिएको छ।
No comments:
Post a Comment