बुधबार, जेष्ठ १०, २०७४
रामचन्द्र पौडेलले जसै स्थानीय निर्वाचनमा पार्टी पराजयको कारण खोतल्न थाले, सभापति शेरबहादुर देउवा भुतभुताउँदै कार्यकक्ष छाडेर हिँडे । घटना अघिल्लो बिहीबार बिहानको हो । सानेपास्थित केन्द्रीय कार्यालय, सभापतिको कार्यकक्ष । उपस्थिति थियो, महेश आचार्य, सशांक कोइराला, रामचन्दै पौडेल र सभापति देउवाको । कुराकानीकै क्रममा रामचन्द्रले फ्याट्ट सोधे, ‘पहिले हामीले जितेको ठाउँमा दोस्रो भएर एमालेको पछिपछि हिँड्नुपर्ने अवस्था आउनुको कारण के हो ? यही चाल हो भने अर्को चरणमा तेस्रो पोजिसनमा नझरिएला भन्ने के ग्यारेन्टी ? सचेत मतदाताले हामीलाई नराम्ररी तिरस्कार गरेको देखियो । किन यस्तो हुन गयो ?’ रामचन्द्र कराउँदै गए, ‘अदालतले संसद्को अधिकारमाथि हस्तक्षेप गर्नेगरी हामीले के काम ग¥यौं ? त्यस्तो काम किन भयो ? संसद्को मानहानी हामीले हेर्ने हो कि अदालतले ?’ उनी परिणामकेन्द्रित भएर झन् झोक्किए, ‘महानगरहरु सबै एमालेको पोल्टामा किन पुगे ? नवलपरासीको गैंडाकोट र चितवनजस्ता हाम्रो पकट क्षेत्र सबै एमालेको गोजीमा कसरी पुगे ? परम्परागत मतदाता भएका ग्रामीण क्षेत्रमा आफ्नो सामाजिक प्रतिष्ठाकै कारण हाम्रा स्थानीय नेताले मत पाए । त्यो व्यक्तित्वको कारण हो, पार्टीको कारणले होइन । हामी सचेत र शहरका जनताबाट उपेक्षामा प¥यौं । यसको कारण चाहियो ।’ यति सुन्दासुन्दै कुर्सीबाट देउवा जुरुक्क उठे र केही भुतभुताउँदै हिँडे । कतै एकछिन गएका होलान् भनेर अरु त्यहीं बसिरहे तर उनी फर्किएनन् । – आजको जनआस्थाबाट
No comments:
Post a Comment