नेपालको इतिहास – यो वर्षमा माघे सङ्क्रान्तिका दिन सात ग्रह एकदम नजिकै पर्न आउने संयोग परेको छ । त्यस बखत पृथ्वीमा कतै केही नराम्रो घटना हुन सक्छ भनि ठाउँ–ठाउँमा फलित ज्योतिषीहरुले भविष्यवाणी गरिरहेका थिए । काठमाडौँका एक जना नवयुवक ज्योतिषीले त २ गते ठूलो भुकम्प नेपालमा गई जनधनको ठूलो हानि हुनेछ भनि किटान गरि भविष्यवाणी गरेकाले यहाँको जनमानसमा त्राश फैलिएको थियो । यो कुरा थाहा पाएर नायब बडागुरुज्यू पाण्डेले ती ज्योतिषीलाई बोलाएर यस्तो नचाहिँदो कुरा कुन आधारमा प्रचार ग¥यौँ ? भनि हप्काए ।
गुरुज्यूको यस्तो डाँट–दपेट सहन नसकी ती युवक ज्योतिषीले घाँटीमा पासो लगाएर आत्महत्या गरे । यसले गर्दा यहाँको धर्मभीरु जनतामा अझ बढी त्राश फैलियो र माघको सङ्क्रान्तिका दिन के हुन्छ भनि धेरै जना तर्सेका थिए । सङ्क्रान्ति आयो तर त्यो दिन कतै केहि भएन । ग्रहह्ररुको असर पृथ्वीमा परेन , ज्योतिषीहरुको भविष्यवाणी झूटो सावित भयो भनि सबैजना खुसी भई आफ्नो– आफ्नो कामकाजमा लागे ।
त्यस बखत आइतबार र बिहीबार टुँडिखेलमा पल्टनको कवाज दिउँसो हुन्थ्यो अरु दिन बिहान कवायत खेल्थे । माघे सङ्क्रान्ति आइतबार परेको र त्यो दिन बिदा पर्दा भोलिपल्ट सोमबार दिउँसो पल्टन सामेल भई एकबजे देखि टुँडिखेलमा नियमित कवायत सुरु भएका थियो । जङ्गी लाठ लगायत सबै अफिसरहरु खरिको बोटमा हाजिर भइ सकेका थिए । मुख्तियार मुलुकी अड्डाका हाकिमकारिन्दाहरुका साथमा आफ्नै घरको दलानमा कचहरी गरिरहेका थिए । महाराज जुद्ध सिकार क्याम्प कैलालीमा थिए र चितुवा घेरामा प¥यो भन्ने खबर पाएर हात्ती चढी चितुवा मार्न गएका थिए ।
यसैबखत दिउँसो २ बजेर २४ मिनेट जाँदा काठमाडौँमा महाभुकम्प गयो । भारतको भुकम्प नाप्ने यन्त्रमा यो भुकम्पको शक्ति ८.३ रेक्टर स्केल देखिएको थियो । भुकम्प जाँदा जमिन थरथर कामेको थियो र ठूलो आवाज आएको सुनिएको थियो । पहिलो धक्का पूर्वबाट पश्चिमतर्फ गयो र यसपछिको अर्को भयानक धक्का दक्षिणबाट उत्तरतर्फ गयो । यो धक्का त कसैले धान्नै सकेन । धरहरा, घण्टाघर , राजदरबार लगायत ठूला–साना दरबार र घर छिनभरमै ढलेर टुक्रा–टुक्रा भए । चारैतिर धुलोको मुस्लोबाहेक अरु केहि देखिएन । राजदरबारको भग्नावशेषमा राजाका दुई जना छोरीहरु पुरिएर समाधिस्थ भए । हजारौँ मानिसहरु पुरिएर मरे र कैयौँ हजार घाइते भए । प्रधानमन्त्री जुद्धशमशेर कैलालीमा हात्ती चढेर जंगलभित्र घुमेको मौकामा यो भुकम्प गएकाले उनले थाहै पाएनन् । पछि क्याम्पमा फर्केर आएपछि गुरुज्यू हेमराज पाण्डेले २ बजेर २५ मिनेट जाँदा यहाँ सामान्य भुइँचालो गयो , सायद अन्त कतै ठूलो भुइँचालो गएको हुन सक्छ भनि जाहेर गरे ।
संयोगवश दिउँसोको कवाजको दिन यो भुइँचालो गएकाले जनतालाई तत्काल राहत प¥याउन फौज तयार हुनसक्यो । मुख्तियार रुद्रशमशेर भुइँचालो जाना साथै टुँडिखेलमा पुगेर फौजलाई खटनपटन गरी सहरका विभिन्न भागमा पुरिएका मानिसहरुको उद्धार गर्न लागे । उद्धार कार्यको सुपरिवेक्षण र निरीक्षण गर्न एउटा उच्चस्तरीय टोली गठन गरे । जङ्गी असवाबखानामा भएका पालसायरहरु ल्याएर टुँडिखेलमा टाँगी घरबारविहिन भएकाहरुका निम्ति अस्थायी शिविर निर्माण गराए । घाइतेहरुको तत्काल उपचार गर्न पर्याप्त मात्रामा अस्पताल नहुँदा टुँडिखेलको एक भागमा सायरले घेरी अस्थायी अस्पताल तुरुन्त तयार गराइयो । त्यहीँ ल्याएर हजारौँ जना घाइतेहरुको उपचार भयो । देशमा यस्तो ठूलो आपत् परेको बखत केही असामाजिक तत्वहरुले मौकाको लाभ उठाएर लुटमार मच्चाउन नपाऊन भनि सहरवरिपरि दिनरात सैनिक गस्ती गराइयो । यो भुइँचालोमा उपत्यकामा २ लाख ७ हजार ७ सय ४० वटा ठूला साना घरहरु भत्किए , ८ हजार ५ सय १९ जना मानिस मरे र १५ हजार मानिसहरु घाइते भए ।
भुइँचालो गएको केही दिनपछि तारहरु महाराजकहाँ पुगेपछि सबै बेहोरा थाहा पाए र अब तुरुन्त काठमाडौँ फर्कने भनी तयारी गर्न थाले । भुइँचालोको विस्तृत बेहोरा थाहा पाएपछि महाराज निकै चिन्तित र अस्थिर देखिन्थे । अब राजधानी पुगेपछि केही ठूलै राजनीतिक परिवर्तन ह्न्छ की भनी त्यहाँ धेरै जनाले अनुमान पनि गरे । २९ तारिखका दिन वनबासा स्टेशनबाट रेल चढी महाराज सदलबल काठमाडौँतर्फ हिँडे । फेब्रुअरी ५ तारिखका दिन सबैजना काठमाडौँ पुगे । महाराज थानकोटबाट सोझै टुँडिखेलमा गई त्यहाँ अस्थायी शिविरमा बस्नेहरुलाई सान्त्वना दिँदै एउटा छोटो भाषण गरि दरबार गए ।
एउटा उच्चस्तरीय भुकम्प सहयोग समिती र ‘भुकम्प पीडितोद्धारक फन्ड’ समेत राजधानीमा तुरुन्त स्थापना गरी आवश्यक पर्नेहरुका लागि विना ब्याजमा रकम सापटी दिने योजना तुरुन्तै कार्यन्वयन गरियो । यो कामका लागि जम्मा ५ लाख रकम छुट्टयाउने ठहर गरी केहि रकम सरकारी ढुकुटीबाट हाल्ने र बाँकी पशुपतिनाथको गुठीबाट झिकेर हालि पुरा गर्ने निर्णय भयो । सापटी दिने र अन्य राहत काममा जम्मा रकम २९,८२,३१६÷६२ खर्च भयो । भारत लगायत अन्य केहि देशका समाजसेवी सङ्घ–सङ्गठनहरुले नगद तथा जिन्सी सामानहरुसमेत पठाएर नेपालका भुकम्पपीडितहरुलाई सहायता पठाउन महाराजसँग अनुरोध गरी पत्रहरु पठाए ,तर के कारणले हो बिदेशबाट कुनै सहायता लिन यिनले चाहेनन् । भुकम्पपीडितहरुले पुन र्निर्माण कार्य प्रारम्भ गरेपछि अधि कोषबाट सापटी लिएको सम्पूर्ण रकम सबैलाई माफी गरिदिए ।

No comments:
Post a Comment