• Breaking News

    5.10.2017

    भरतपुरमा रेणुले यसकारण जित्ने भइन्, मिल्यो कुरा

    भरतपुर, २८ वैशाख । गत बिहीबार जिल्ला निर्वाचन कार्यालयमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिले पत्र पठाएर क्रमशः भरतपुर महानगर प्रमुख र उपप्रमुख पदका उम्मेदवारको उम्मेदवारी रद्द गराएपछि कांग्रेस वृत्तमा देखिएको आक्रोश र असन्तोष क्रमशः मत्थर हुँदै गएको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

    मुख्य चार दलमध्ये अग्रस्थानमा रहेको र जितको नजिक रहेको कांग्रेसले महानगर प्रमुखमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाललाई जिताउन गठबन्धन गरेपछि असन्तुष्ट बनेका अधिकांश कांग्रेसी नेता र कार्यकर्ता अहिले महानगर प्रमुखमा रेणु दाहाल र उपप्रमुखमा पार्वती शाहलाई नै भोट दिने टुंगोमा पुगेका छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

    नेपाल महिला संघकी जिल्ला सदस्य शर्मिला पण्डितले कांग्रेस र माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको सुन्नेबित्तिकै आफ्नो रिस थेग्न सक्नुभएन ।

    तत्काल फेसबुकमा आफ्नो आक्रोश व्यक्त गर्नुभएकी पण्डितले अहिले उक्त फेसबुक स्टाटस आफ्नो टाइमलाइनबाट हटाइसक्नु भएको छ ।

    भरतपुर महानगरपालिका वडा नम्बर दसमा बुधबार गठबन्धनका उम्मेदवार महानगर प्रमुख पदकी उम्मेदवार दाहाल र उपप्रमुख पदकी उम्मेदवार शाहका लागि मत माग्दै घरदैलोमा हिँड्नु भएकी पण्डित भन्नुहुन्छ, ‘सुरुमा जति नैराश्यता कार्यकर्तामा थियो, अहिले त्यस्तो छैन । सुरुका दिनमा मलाई पनि मन बुझाउन गाह्रो भएको थियो । अर्को पार्टीको उम्मेदवारलाई कसरी भोट दिनु भन्ने लागेको थियो । तर, राजनीति भनेको सोचेजस्तो हुँदोरहेनछ, केही प्राप्त गर्नका लागि केही गुमाउनु पर्नेरहेछ भन्ने अहिले हामी कार्यकर्ताले बुझ्न थालेका छौँ । हाम्रो भोट प्रमुख पदमा रेणु दाहाल र उपप्रमुख पदमा पार्वती शाहलाई नै जान्छ ।’

    नेपाली कांग्रेसबाट महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिन आकांक्षा राखेका ३४ जनामध्येका एक महेन्द्र श्रेष्ठ नेपाली कांग्रेसका पुराना नेता हुनुहुन्छ ।

    विगतमा कांग्रेस जिल्ला समितिको सहसचिव भएर काम गरिसक्नु भएका श्रेष्ठ नेपाली कांग्रेस केन्द्रीय समितिले आवश्यकता अनुसार नै चुनावी तालमेलको निर्णय गरेको बताउनुहुन्छ ।

    ‘पार्टी केन्द्रीय समितिले गरेको सहमति पालना गर्नु हरेक कांग्रेसीको कर्तव्य हो’, उहाँ भन्नुहुन्छ, ‘गठबन्धनको निर्णयप्रति देखिएको असन्तुष्टिले गठबन्धनका उम्मेदवारको जितमा कुनै असर पार्दैन । महानगर प्रमुखमा माओवादी केन्द्रकी दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसकी शाहको जित सुनिश्चित भइसकेको छ ।’

    गठबन्धनपछि तत्काल देखिएको आक्रोश र असन्तुष्टि मतदानको दिनसम्म पूर्णरुपमा समाप्त भइसक्ने नेता श्रेष्ठ बताउनुहुन्छ । दुईचार जनालाई छाडेर बाँकी सबैजसो कांग्रेसी कार्यकर्ताको भोट गठबन्धनका उम्मेदवारलाई नै जाने उहाँको बुझाई छ ।

    नेपाल महिला संघ चितवनकी नगर सचिव निर्मला पण्डित माओवादी केन्द्रसँग चुनावी गठबन्धन भएको सुनेपछि सुरुका दुई दिनसम्म नेपाली कांग्रेसका धेरै कार्यकर्ताले चित्त दुखाएपनि अहिले पार्टी नेतृत्वप्रति कुनै गुनासो नरहेको बताउनुहुन्छ ।

    ‘चितवनमा चुनावी तालमेलको कुरा सुनेर सुरुमा मन दुखाएपनि अहिले हामी सम्हालिएका छौँ,’ उहाँ भन्नुहुन्छ, ‘पार्टी नेतृत्वले गठबन्धनका उम्मेदवारलाई जिताउन निर्देशन गरेको छ। हामीले पार्टीको निर्देशन मानेर गठबन्धनका उम्मेदवारलाई जिताउने छौँ, हामीले जित्छौँ पनि ।’ सच्चा कांग्रेसीहरु पार्टीको निर्देशन विपरीत कहिल्यै नजाने उहाँको भनाइ छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र