• Breaking News

    5.04.2017

    साउदी गएका छोराले नेपाललाई अमेरिका बनाउँछु भनेपछि परिवार दंग !


    वैशाख २१ – साउदीबाट टेलिफोन गरेर दाइ शिवशम्भुले नेपाललाई अमेरिका बनाउँछु भनेपछि भाइ शंकर एकछिन त अचम्ममा पर्नुभयो, ‘के भनेका होलान् !’ १६ महिनाअघि साउदी गएका दाइलाई एक्कासी के भयो र देशको यति विघ्न चिन्ता गरे भनेर शंकर अचम्मित हुनुभएको हो । 
    शिवशम्भुले कहिले आफ्नो ज्यान खतरामा रहेको, कहिले नेपाललाई अमेरिका बनाउने त कहिले दुई लाख साउदी रियालको चिठ्ठा परेको भनेर बैंकमा खाता खोल्न भन्ने । परिवारका सदस्यहरुलाई विदेश गएको छोराको व्यवहारले पर्नु सम्म पिर पर्यो ।
    धनुषाको उमाप्रेमपुर गाविस चारका शिवशम्भु महतो घरका जेठा छोरा हुन् । शिवशम्भुले ७ कक्षासम्म मात्रै पढ्नुभएको छ । पढाइ कम भएकाले काम र कमाइ नभएपछि उहाँ रोजगारी खोज्दै मलेसिया जानुभयो । त्यतिबेला उहाँ १८ वर्षको मात्रै हुनुहुन्थ्यो । मलेसियामा ५ वर्ष बस्नुभयो । कमाइ ठिकै थियो । त्यसैले जाँदा लिएको अनि पहिल्यैदेखि रहेको परिवारको ऋण पनि तिर्नुभयो । घर फर्किएर काठको घर बनाएका शिवशम्भुले बिहे पनि गर्नुभयो ।
    तर एक वर्ष नबस्दै व्यवहार फेरि पनि पहिलाको जस्तै हुन थाल्यो । घर चालउन पैसा नभएपछि ऋण नै लिनुपर्ने भयो । त्यसैले फेरि विदेश जाने हुनुभयो । गाउँकै एजेण्टलाई साउदी जान एक लाख पाँच हजार रुपैयाँ बुझाएका शिवशम्भुलाई उनले अर्कै एजेण्टको जिम्मा लगाए । ती एजेण्टले ललितपुरको धोविघाटमा रहेको चन्द्रमा ओभरसिजबाट साउदी पठाए । 
    २०७२ मंसिरको दोस्रो हप्ता साउदी पुगेका शिवशम्भुले कन्स्ट्रकसन लेबरको काम गर्नुहुन्थ्यो । उहाँको तलब महिनाको ८ सय रियाल थियो । काम र कमाई ठिकै छ भनेर फोन गरिरहने शिवशम्भुले गएको एक महिनादेखि भने असमान्य व्यवहार देखाउन थाल्नुभयो । घरमा फोन गर्दा पनि अनौठा कुरा गर्ने गरेको परिवारका सदस्यहरु बताउँछन् । ‘मलाई एक दिन दाइले रुँदै फोन गरेर सुरुमा मेरो ज्यान खतरामा छ भन्नुभयो तर पछि बोल्दा बोल्दै नेपाललाई म अमेरिका बनाउँछु भनेपछि म छक्क परें’ शिवशम्भुका माइला भाइ शंकर महतो भन्नुहुन्छ ।
    त्यसपछि घरमा फोन गर्दा अरुसँग पनि अनौठा कुरा गरेपछि परिवार के गर्ने के नगर्ने भन्ने अन्योलमै थियो । गएको वैशाख ११ गते शम्भूले बुबालाई पनि फोन गर्नुभएको थियो । ‘त्यतिबेला उहाँले मलाई दुई लाख साउदी रियालको चिठ्ठा परेको छ । अब यति धेरै पैसा कहाँ राख्ने हो । बैंकमा राख्ने हो भने खाता खोल्नु पर्छ भन्नुभएछ’ शंकर भन्नुहुन्छ । 
    भाइसँग होस हराए जस्तै कुरा गरिसकेकाले शिवशम्भुले बेहोसीमै कुरा गरेका होला भन्ने लागेर बुवाले साथीहरुलाई फोन गर्नुभयो । तर साथीहरुले कुनै चिठ्ठा नपरेको बताएपछि परिवार शिवशम्भुको मानसिक अवस्था गुमाएको निष्कर्षमा पुग्यो । त्यतिकैमा बुवालाई शिवशम्भुका साथीहरुले फोन गरेर उहाँले मानसिक अवस्था ठिक नभएको जस्तो व्यावहार देखाइरहेकाले छिट्टै घर फर्काउन भने ।
    शिवशम्भुले फोनमा गरेका कुरा अनि साथीहरुले भनेपछि परिवार शिवशम्भुको मानसिक अवस्था ठिक नभएको निष्कर्षमा पुगे तर कसरी उद्धार गर्ने केही थाहा थिएन । त्यतिबेला शंकर काठमाडौंमै हुनुहुन्थ्यो । त्यसैले घरबाट आएका बुवालाई लिएर म्यानपावर खोज्दै हिँडे । एक हप्तापछि बल्ल पत्ता लागेको म्यानपावरले शिवशम्भुलाई उद्धार गरिदिने आश्वासन दियो । 
    म्यानपावरले आश्वासन दिएको हप्तासम्म पनि केही नभएपछि शिवशम्भुको परिवारले गाउँकै शत्रुधन महतोलाई पनि गुहारे । उनले केहीदिनमै श्रम र परराष्ट्र मन्त्रालय मार्फत साउदीमा रहेको नेपाली दूतावासमा पत्र पठाइदिएको छु भने । तर शिवशम्भुका साथीहरुलाई फोन गरेर सोध्दा उनीहरुले दूतावास कुनै पत्र नआएको बताए । 
    साथीहरुले कम्पनीलाई गुहारे तर सहयोग माग्न गएकाहरुलाई नै कम्पनीले उसले नाटक गरेको हो भन्दै सहयोग माग्न आउनेहरुलाई जाने मन भएको हो भने टिकट काटेर पठाइदिने धम्की दिएको सुनाए । म्यानपावरले फोन गरिदिएपछि भने त्यसको तीन दिनमै कम्पनीले शिवशम्भुलाई नेपाल पठाउन टिकट गरिदिएको जानकारी साथीहरुले घरमा दिए ।
    तर उहाँ फर्किने भनेको दिन परिवारका सदस्य उहाँको फोन पर्खिरहेका थिए । तर उहाँको फोन आएन । साथीहरुले फोन गरेर शिवशम्भु कोठाबाटै हराएको बताए । ‘उनीहरुले गएको १४ गते बिहानको ३ बजेको टिकट भएकाले टिकट लिएर राती ९ बजे आउँदा ऊ कोठामा थिएन । कहाँ गयो केही थाहा छैन भन्दै फोन गरे’ शंकरले भन्नुभयो ।
    दाइ हराएपछि भाइ शंकर खोजिदिन आग्रह गर्दै धनुषामा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा पनि पुग्नुभएको छ । सूचना केन्द्रले उहाँका बारेमा जानकारी लिइरहेको जनाएको छ । 

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र