काठमाडौं, चैत १९ : सरकारले मधेसी मोर्चाको माग पुरा गर्न बैशाख ३१ गते घोषणा गरेको स्थानीय तहको चुनाव एक हप्ता पर सार्ने आन्तरिक तयारी गरेको छ ।
शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले सयुक्त लोकतान्त्रीक मधेसी मोर्चामा आवद्ध दलहरुसँग गरेको वार्ता सकरात्मक भएपछि हप्तादिन चुनाव सार्ने तयारी सुरु भएको हो । प्रधानमन्त्री निकट उच्चस्रोतका अनुसार मधेसी मोर्चासँग आईतबार सहमति भएपछि तराईमा मतदाता नामावली संकलनका लागि केही समय चाहिने र संविधान संशोधनको लागि पनि दुई हप्ताको समय आवस्यक पर्ने भएकाले एक हप्ता चुनाव धकेलिने भएको हो । ‘आईतबार मोर्चासँग सहमति भयो भने चुनाव बढिमा हप्तादिन पर सार्ने गरि अघि बढ्छ’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘केही प्राविधिक कारणले मात्रै सानुपर्ने अवस्था आउन लागेको हो ।’
स्रोतका अनुसार चुनाव सार्ने विषयमा प्रधानमन्त्री दाहालले निर्वाचन आयोगका अध्यक्षसँग अनौपचारिक कुरा गरिसकेका छन् । आयोगका अध्यक्ष अयोधिप्रसाद यादवले जेठ ७ गते अर्को चुनावको मिति घोषणा गर्न सकिने सुझाव दिएका छन् ।
चुनाव हप्ता दिन सार्ने लगभग निश्चित जस्तै भएपनि यस विषयमा औपचारिक निर्णय भने वैशाख पहिलो हप्ता मात्रै गरिने बताइएको छ । तत्काल चुनाव सार्ने घोषणा गर्ने चुनावप्रति नकरात्मक सन्देश जाने भन्दै वैशाख पहिला साताभित्र उक्त विषयमा निर्णय गरिने भएको छ ।