जम्मा पाँच पैसाको पनि चेक काटेर भुक्तान गरेको कहीँ सुन्नुभएको छ ? ५ पैसाको चेक काट्ने भन्ने कुरा अनौठो तथा अपत्यारिलो लाग्छ । तर भारतमा भने एक व्यक्तिले चेक काटेरै ५ पैसा भारु भुक्तानी गरेका छन् ।
भारतीय स्टेट बैंकका एक ग्राहकले उक्त बैंकमा बाँकी ५ पैसा भारुको बक्यौदा तिर्नका लागि बकाइदा चेक काटे ।
भारतको बैंगलोरस्थित मैसूरमा बस्ने एस सतिस नामका युवाले स्टेट बैंकको विजयनजर शाखाको क्रेडिट कार्ड पाँच वर्षदेखि प्रयोग गरिरहेका थिए । तर उनले अब आफ्नो अकाउन्ट बन्द गर्न चाहे । तर उनले क्रेडिट कार्डबाट आफ्नो अकाउन्टमा भएको भन्दा ५ पैसा बढ्दा रकम निकालेका रहेछन् । उक्त ५ पैसा भारु नतिरेसम्म अकाउन्ट बन्द गर्न नसकिने जानकारी बैंकले गरायो ।
सुरुमा सतिशले खाता बन्द गराउनका लागि तिर्नुपर्ने ५ पैसा भारु तिर्नका लागि १० भारु दिने र बाँकी फिर्ता लिने सोँच बनाएका थिए । तर उनलाई एकजना साथीले जम्मा ५ पैसा भारुको चेक काटेर बक्यौदा भुक्तान गर्न सुझाव दिए ।
जब उनी ५ पैसा भारुको चेक लिएर बैंकमा पुगे, तब बैंकका सबै कर्मचारीमा हाँसो छायो । अहिलेसम्म ५ पैसा भारुको चेक त बैंकका कसैले पनि देखेका थिएनन् । अन्ततः बैंकले त्यो ५ पैसा भारुको चेक स्विकार गर्यो र उनको क्रेडिट कार्ड अकाउन्ट बन्द गरिदियो । एजेन्सी