काठमाडौं, २१ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच विवाद सुरु भएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको माग र प्रधानमन्त्री कुर्सीको विषयलाई लिएर विवाद उत्पन्न भएको हो ।
प्रधानमन्त्री प्रचण्ड र दाहालबीच विवाद सुरु भएपछि स्थानीय निर्वाचन र प्रहरी महानिरीक्षक नियुक्तिको विषय अन्योलमा परेको छ । सोमबार भएको द्विपक्षीय बैठकमा पनि यस विषयमा कुनै निष्कर्ष निस्केन । विवादले आज पेश हुने भनेको संविधान संशोधनको ‘पूरक संशोधन’ प्रस्ताव पनि अन्योलमा परेको छ ।
सभापति देउवाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा नआए पनि निर्वाचनमा जानुपर्ने अडान राखिरहेका छन् भने प्रधानमन्त्री दाहालले मोर्चालाई मनाएर मात्रै निर्वाचनमा जानुपर्ने बताइरहेका छन् ।
मोर्चाले मिति सारेर निर्वाचनमा जानुपर्ने सर्त राखेपछि देउवाले प्रधानमन्त्रीलाई सत्ता लम्ब्याउनका लागि प्रयास गरेको आरोप लगाएका छन् । दाहालले आगामी बजेटसमेत कांग्रेस नेतृत्वको नयाँ सरकारलाई ल्याउन दिने भन्दै देउवालाई आश्वस्त पार्ने प्रयास गरेका छन् ।
प्रधानमन्त्री दाहाल मोर्चाले माग गरेअनुसार स्थानीय तहको संख्या बढाइने क्षेत्रमा दोस्रो चरणमा निर्वाचन गराउनुपर्ने सोचमा रहेको स्रोतले बताएको छ ।