• Breaking News

    3.23.2017

    एमाले सांसद तथा मधेसी नेतृको काठमाडौंमा निधन, शीर्ष नेताहरू अस्पतालमा

     चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद दुलारी देवीको विहिबार राति निधन भएको छ ।

    गत चैत ५ गते सामान किन्न सीमावर्ती भारतको सीतामढी बजारतर्फ जाने क्रममा सवारी दुर्घटनामा गम्भीर घाइते भई राजधानीको ग्वार्काेमा रहेको बी एन्ड बी अस्पतालमा उपचाररत दुलारीको राति ९ बजेतिर निधन भएको एमाले केन्द्रीय सदस्य हिक्मत कार्कीले दैनिक नेपाललाई जानकारी दिए ।

    दुलारीको निधनपछि एमालेका नेता कार्यकर्ता अस्पताल पुगेका छन् ।

    दुलारी सर्लाहबाट एमालेकी समानुपातिक सांसद थिइन् । सर्लाही ब्रह्मपुरी–८ घर भएकी ४८ वर्षीया दुलारी हाल कामपा–३४ शान्तिनगरमा बस्दै आएकी थिइन् । उनका पति, दुई छोरा र दुई छोरी छन् ।

    पार्थिब शरीरलाई विहान पार्टी कार्यालयमा राखिने
    एमाले महासचिव ईश्वर पोखरेलका अनुसार, दुलारीलाई अन्तिम श्रद्धाञ्जलि दिन भोलि बिहान ८ देखि १० बजेसम्म उनको पार्थिब शरीर नेकपा एमाले केन्द्रिय कार्यालय धुम्बराहीमा राखिने छ । दुलारीलाई श्रद्धाञ्जलि दिनका लागि उपस्थित हुन एमालेले सबै नेता कार्यकर्तालाई आग्रह समेत गरेको छ ।

    दुई दिन अघिमात्रै खुट्टा काटिएको थियो
    सवारी दुर्घटनामा गम्भीर घाइते भएकी सांसद दुलारीको दुई दिनअघि मात्रै खुट्टा काटिएको थियो । एमाले सर्लाही क्षेत्र नम्बर ४ का पूर्व इन्चार्ज जयप्रकाश यादबका अनुसार दुलारीको उपचारका क्रममा बी एण्ड बी अस्पतालमै दायाँ खुट्टा काट्नु परेको थियो । दुलारीलाई घटनाको भोलिपल्ट यादवले नै काठमाडौं ल्याएका थिए ।

    यसरी भएको थियो दुर्घटना, चालक घटनास्थल मारिए
    चैत ५ गते विहान सामान किन्न सीमावर्ती भारतको सीतामढी बजारतर्फ मोटरसाइकलमा जाने क्रममा भारतको रामनगरा चोकमा ट्रकले ठक्कर दिँदा दुलारी गम्भीर घाइते भएकी थिइन् । उनीसँगै गएका मोटरसाइकल चालक रवीन्द्र साहको घटनास्थलमै मृत्यु भएको थियो ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र