• Breaking News

    3.23.2017

    तराईका गरिब जनतालाई सेनाको निःशुल्क उपचार, प्रधानसेनापति नै खटिए

    काठमाडौं, १० चैत । प्रधानसेनापति राजेन्द्र क्षत्रीले स्वास्थ्य मन्त्रालय तथा नेपाली सेनाको संयुक्त आयोजनामा रौतहट जिल्लाको गौरमा नेपाली सेनाको मोबाईल अस्पताल प्रयोग गरी सञ्चालन भईरहेको साता व्यापी ‘पहिलो निःशुल्क घुम्ती सघन स्वास्थ्य शिविर २०७३’ को निरीक्षण गर्नुभएको छ ।

    निरीक्षणको क्रममा प्रधान सेनापति क्षत्रीले स्वास्थ्य शिविरमा प्रयोग भएको मोबाइल हस्पिटलका विभिन्न वार्डहरुको निरीक्षण गर्नुको साथै रौतहट जिल्ला अस्पतालबारे जानकारी लिनुभएको थियो ।

    संयुक्त रुपमा आयोजना गरिएको उक्त शिविर सुलभ स्वास्थ्य सेवाको पहुँच भन्दा टाढा, पिछडिएका विपन्न वर्ग र विशेष गरी महिला वर्गलाई प्राथमिकतामा राखी सञ्चालन गरिएको छ ।

    साताव्यापी लामो शिविरमा पत्थरी, पित्तथैलीको रोग, हाईड्रोशिल, हर्निया तथा महिलाहरुको पाठेघरको रोग र आङ खस्ने लगायतको रोगहरुको उपचार तथा शल्यक्रिया समेत गरिदै आएको छ । उक्त शिविरमा हालसम्म महिला १७१८ तथा पुरुष १७१४ गरि जम्मा ३४३२ जनालाई उपचार गरिएको छ भने पुरुष १२ र महिला ८ जना गरि जम्मा २० जनाको शल्यक्रिया समेत गरिएको छ ।

    स्वास्थ्य शिविरको निरीक्षण पश्चात प्रधान सेनापति क्षत्रीले भिमानस्थित श्री आर्टिलरी तालिम शिक्षालय एवं श्री हवाई सुरक्षा तालिम शिक्षालय, रौतहटस्थित श्री इन्द्रबक्स गण र पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको समेत निरीक्षण भ्रमण गर्नुभएको छ ।

    निरीक्षण भ्रमणको क्रममा क्षत्रीले उक्त तालिम शिक्षालय, गण तथा तालिम केन्द्रको स्थलगत बस्तुस्थिति बिवरण, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुभएको थियो । सोही अवसरमा प्रधान सेनापति क्षत्रीले धनुषा जिल्लाको भिमानस्थित श्री आर्टिलरी तालिम शिक्षालयद्वारा प्रस्तुत गरिएको फायरिङ्गको समेत अवलोकन गर्नुभएको थियो ।

    त्यसैगरी वँहाले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालस्थित नेपाली सेनाको श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा नेपाली सेना र अमेरिकी सेनाको ‘अभ्यास शान्ति प्रयास—३’ को समेत अवलोकन गर्नुभएको थियो ।

    उक्त निरीक्षण भ्रमण सम्पन्न गरी प्रधान सेनापति क्षत्री आजै काठमाण्डौ फिर्ता हुनुभएको छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र