बिहिबार, चैत्र ३, २०७३
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्को झड्का लागेको छ । आजैदेखि लागु हुने तयारीमा रहेको ट्रम्पले जारी गरेको नयाँ कार्यकारी आदेशलाई अमेरिकी एक अदालतले रोक लगाएपछि अर्को झण्डा का लागेको हो । अदालतले तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । मुस्लिम बाहुल्य ६ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने गरी भएको आदेश कार्यान्वयन रोक लगाएको हो । अमेरिकाको हवाइ राज्यको संघीय अदालतले राष्ट्रपति ट्रम्पको नयाँ यात्रा प्रतिबन्धसम्बन्धी कार्यकारी आदेशविरुद्ध फैसला गरेको हो ।
संघीय जिल्ला अदालतका न्यायाधीश डेरिक वाट्सनले राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश तत्काल कार्यान्वयन नगर्न आदेश दिनु भएको हो । ट्रम्पको आदेशविरुद्ध अमेरिकाका विभिन्न अदालतमा मुद्दा दायर गरिएको थियो । राष्ट्रपति ट्रम्पले सिरिया, इरान, लिबिया, सुडान, यमन र सोमालियाका नागरिकलाई ९० दिनसम्म नयाँ भिसा नदिने सम्बन्ध आदेश जारी गर्नु भएको हो । राष्ट्रपति ट्रम्पले कुनै पनि शरणार्थीलाई १ सय २० दिनसम्म अमेरिका प्रवेशमा रोक लगाउनेसम्बन्धी निर्देशन पनि जारी गर्नु भएको थियो । ट्रम्पको पछिल्लो आदेश आजदेखि लागू हुने थियो । तर हवाइका न्यायाधीशले विपक्षमा फैसला गरेपछि राष्ट्रपतिको आदेश कार्यान्वयन हुनेमा शंका उत्पन्न भएको छ ।