• Breaking News

    3.26.2017

    सिंहदरबारमा दुई मन्त्रीबीच बाझाबाझ, नहुने भयो पृथ्वीजयन्तीमा बिदा

    काठमाडौं, चैत १३ – पृथ्वीजयन्तीको दिन सार्वजनिक दिने विषयमा सरकारका दुई मन्त्रीबीच चर्को विवाद भएको छ । मन्त्रिपरिषद् अन्तर्गतको सामाजिक समितिको बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री दिलनाथ गिरीबीच विवाद भएको हो ।
    आगामी २०७४ सालमा वर्षभरी दिइने सार्वजनिक बिदालाई औपचारिकता दिन सिंहदरबारमा बसेको बैठकमा पृथ्वीजयन्तीको (पुस २७ गते ) दिन दिइने भनिएको सार्वजनिक बिदा हटाइएको पाइएपछि पर्यटनमन्त्री गिरीले प्रश्न उठाएका थिए ।

    गिरीले पृथ्वीजयन्तीको दिन बिदा नदिइए बिदाको सूचि पारित गराउन आफ्नो समर्थन हुन नसक्ने बैठकमा बताएपछि दुई मन्त्रीबीच विवाद सुरु भएको बताइएको छ ।

    ‘पृथ्जीजयन्तीको दिन क्याबिनेटबाटै निर्णय भएको समाचार छ, कसरी अहिले एकाएक बिदा हट्यो ? ‘ भन्दै निधिमाथि गिरीले कडा प्रश्न गरेका थिए ।
    जवाफमा निधिले क्याबिनेटबाट कुनै निर्णय नभएको मात्रै राजनीतिक सहमतिको आधारमा आवश्यक परे पछि बिदा दिइने समझदारी मात्रै भएको जवाफ दिएका थिए ।

    त्यसपछि थप आक्रामक बनेका गिरीले यसमा आफ्नो कुनै पनि हालतमा सहमति नरहने भन्दै ‘कसरी निर्णय गर्नुहुन्छ हेरौंला’ भन्दै जंगिएका थिए ।
    दुई मन्त्रीबीच यही विषयमा लामो समयसम्म चर्काचर्की हुन पुगेको एक सचिवले रातोपाटीलाई जानकारी दिए ।

    ति सचिवका अनुसार विवादका बीच पनि पृथ्वीजयन्तीको दिन बिदा नदिने गरी बिदाको सूचि पारित गरिएको छ ।

    यसबारे मन्त्री गिरीसँग बुझ्दा पृथ्वीजयन्तीको दिन सार्वजनिक बिदा दिनुपर्ने आफूहरुले विगतदेखिनै आवाज उठाउँदै आएको र आजको बैठकमा पेश भएको बिदाको सूचिमा पृथ्वीजयन्तीलाई नसमेटिएकाले आफ्नो असहमति रहेको प्रतिक्रिया दिए ।

    उनले राष्ट्रिय एकताका धरोहर पृथ्वीनारायण शाहको सम्मानमा बिदा दिनुपर्छ भन्नेमा आफू अडिग रहेको समेत रातोपाटीलाई बताए ।

    क्याबिनेटबाट निर्णय नै नभएको पाइयो
    यस अघि पौष २७ गते राष्ट्रिय एकता दिवसको अवसरमा छुट्टी दिने भनेर समाचार सार्वजनिक भएपनि विदा दिने कुनै निर्णय नभएको पाइएको छ ।

    एक मन्त्रीका अनुसार क्याबिनेट बैठकमा बिदाबारे सामान्य छलफलमात्रै भएको तर निर्णय भने कुनै भएको थिएन । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डको  पनि पृथ्वीजयन्तीको दिन बिदा दिने चाहना नरहेकै कारण सो निर्णय नभएको र अहिले गृहमन्त्रालयले त्यसलाई कटौती गरेर सार्वजनिक बिदाको सूचि पेश गरेको हो ।

    बैठकमा गृहसचिवले पेश गरेको बिदाको सूचिमा क्रिशमसको दिन भने बिदा दिने उल्लेख  भएको  बताइएको छ । स्मरण रहोस् यसवर्ष पनि पृथ्जीजयन्तीको दिन बिदाको माग हुँदै आएकोमा सरकारले दिएको थिएन भने क्रिसमसको दिन भने अन्तिम समयमा आएर दिने गृहमन्त्रालयले निर्णय गरेको थियो ।

    चारमन्त्री मध्ये तीन जना मौन
    समितिबैठकमा मन्त्री निधि र गिरी सहित रक्षामन्त्री बालकृष्ण खाड र आपूर्ति मन्त्री दीपक बोहोरा सहभागि थिए भने मुख्य सचिव र सचिवहरू पनि थिए । तर दुईमन्त्रीबीच विवाद हुँदा अरु रमिते बनेर बसेको स्रोतले जनाएको छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र