काठमाडौं, १२ चैत । उपत्यकाको सडक विस्तार, पुराना सवारीसाधन र उद्योगबाट उत्पन्न हुने प्रदूषण र सडक पेटीमा राखिएका निर्माण सामग्रीका साथै असरल्ल छाडिएका तारहरूले उपत्यकावासीमा श्वास प्रश्वासदेखि पैदल यात्रा गर्नसमेत सकस भएको छ ।
काठमाडौंको वायु प्रदूषण विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा पाँच गुणा बढी पाइएको छ । राजधानी दैनिकले समाचार छापेको छ ।
काठमाडौंको वायु प्रदूषणलाई समयमै नियन्त्रण नगरे काठमाडौंवासीको स्वास्थ्यमा गम्भीर असर पार्ने विशेषज्ञले बताउँदै आएका छन् । पछिल्लो समयमा वायु प्रदूषणका कारण काठमाडौंका अस्पतालहरूमा श्वास प्रश्वास र मुटुरोगीको संख्या उल्लेख्य रूपमा बढेको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार उपत्यकामा बस्ने हरेक मानिस वायु प्रदूषणको सिकार भइरहेका छन् । परिषद्को अध्ययनअनुसार उपत्यकामा घरभित्रै बस्ने मानिसमा पनि फोक्सो, मुटु, आँखा र छाला रोगको जोखिम बढेको छ ।
वायु प्रदूषणका कारण लाग्ने विभिन्न रोगबाट विश्वभर बर्सेनि ३५ देखि ७० लाख मानिसको अकालमा मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भइरहँदा त्यसबाट बच्न अहिले नै कुनै ठोस प्रयास सुरु नभएकाले सन् २०६० सम्ममा यो संख्या ६० देखि ९० लाखसम्म अर्थात् प्रत्येक चार–पाँच सेकेन्डमा एक व्यक्तिको मृत्यु हुने अनुमान गरिएको छ ।
‘दि इकोनोमिक कन्सेक्वेन्सिज अफ आउटडोर एयर पोलुसन’को आर्थिक सहयोग तथा विकाससम्बन्धी अन्तर्राष्ट्रिय संगठन ९ओईसीडी० को प्रतिवेदनले २०१६ मा वायु प्रदूषणका कारण आगामी ४५ वर्षमा २० करोड मानिसको मृत्यु बताएको छ ।
यस्तै धुलो–धुँवाले काठमाडौंको वायुमण्डल ध्वस्त भइरहेकै बेला विश्व स्वास्थ्य संगठनको ‘इन्टरभेन्सन्स फर हेल्दी इन्भायरोमेन्ट’ विभागका संयोजक डा. कार्लोस डोराले उपत्यकामा धूमपानले (१६ हजार) भन्दा झन्डै दोब्बर मानिसको प्रदूषित हावाले (३० हजार) ज्यान गइरहेको तथ्यांक सार्वजनिक गरेका छन् ।
‘बिहानको समयमा धुलोका कण अत्यधिक मात्रामा देखिएकाले काठमाडौं उपत्यकामा बिहानको समयमा बढी प्रदूषण हुने गरेको पाइएको छ,’ जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले राजधानीसँग भने,‘उपत्यकाको वायू प्रदूषणको मुख्य कारण यातायातका साधनबाट निस्कने धुँवा र सडक तथा त्यसको छेउछाउबाट उड्ने धुलो र त्यसपछि उपत्यकाको आसपासमा रहेका इँटा उद्योगहरू रहेको पाइएको छ ।’
मानिसले श्वास लिँदा नाक मुखबाट छिरी असर गर्ने प्रदूषणलाई पीएम भनिन्छ । प्रदूषणको मात्रा बढी हुनुको कारण मानव सिर्जित प्रदूषण भएको पाइएकाले त्यसको नियन्त्रणका लागि सरकारले काम थालनी गरेको छ ।
विभागले दिएको तथ्यांकअनुसार उपत्यकामा सवारीसाधनबाट निस्कने धुँवाले पीएम २.५ को ३८ प्रतिशत भाग लिन्छ । यसैगरी सडकको धुलोका कारण २५ प्रतिशत, कृषिका कारण १८ प्रतिशत, इँटाभट्टाका कारण ११ प्रतिशत, घरबाट खाना पकाउँदा वा अन्य कारणले ३ प्रतिशत, डढेलो वा फोहोर जलाउने कारणबाट एक प्रतिशत, उद्योगधन्धाबाट तीन प्रतिशत र अन्य कारणहरूबाट एक प्रतिशत पीएम २.५ को मात्रा वायुमण्डलमा फैलिन्छ ।
पीएम २ दशमलव ५ ले मानिसलाई विभिन्न रोग लाग्ने र त्यसबाट अन्य रोग सिर्जित भई मृत्युसम्म हुन्छ । गर्मीभन्दा जाडोयाममा धेरै वायु प्रदूषण हुने गरेको विभागका सिनियर डिभिजन केमिस्ट शंकरप्रसाद पौडेलले बताए ।
पछिल्लो समयमा काठमाडौंमा यातायातका साधन वृद्धि भएको र विस्तारित सडक समयमै मर्मत तथा निर्माण नहुँदा प्रदूषणको मात्रा झनै बढेको छ । तर, यसतर्फ सम्बन्धित निकाय मौन छन् ।
सरकारी निकायले यातायातका साधनको गुणस्तर मापन गर्न नसक्दा प्रदूषणको मात्रा कति बढ्यो वा घट्यो भन्ने तथ्य नै सार्वजनिक गर्न सकिरहेको छैन ।विज्ञहरूका अनुसार अत्यधिक वायु प्रदूषणका कारण घामको ताप कम हुने, हुस्सु लाग्ने र असहज स्थिति सिर्जना हुने गर्छ ।
त्यस्तै, एसिडयुक्त वर्षाको पनि खतरा रहन्छ । सामान्यतया कपालको रौं पीएम ६० आकारका हुन्छन् । पीएम १० भन्दा ठूला धुलोका कणलाई नाकका रौंले छेक्न सक्छ ।
तर, त्यसभन्दा साना ७–८ पीएमका धुलोका कण नाक र मुखबाट सोझै पसेर घाँटीमा टाँसिन्छन् र तत्कालै खोकी लाग्छ । तर, त्योभन्दा पनि धेरै मसिना पीएम २.५ कण मानिसले सास लिँदा सोझै फोक्सोमा पुग्ने गर्छन् ।
‘नेपालको वायु प्रदूषणका कारण सडक दुर्घटनामा भन्दा बढीको मुत्यु भएको पाइएको छ,’ यूएन ह्याबिटाटका दक्षिण एसिया प्राविधिक सल्लाहकार भूषण तुलाधर भन्छन्, ‘सडक दुर्घटनाभन्दा प्रदूषणका कारण हुने रोगबाट ज्यान गुमाउनेकोे संख्या प्रतिवर्ष २ हजार हुने गरेको पाइएको छ ।’
विश्व स्वास्थ्य संगठनले वायु प्रदूषणका कारण ठूलो मात्रामा धनजनको क्षति भएको तथ्यांक सार्वजनिक गरेको छ । संगठनका अनुसार स्वच्छ हावा नपाउँदा मानिसको मृत्युका कारण वायु प्रदूषण नै भएको पाइएको छ ।
‘काठमाडौं उपत्यकाको प्रदूषणको मुख्य कारणको रूपमा सवारी प्रदूषण नै रहेको छ,’ वातावरणविद तुलाधरले भने, ‘२० प्रतिशत गाडीले ५० प्रतिशत धुँवा फालिरहेका हुन्छन् ।’
त्यसमा पनि २० प्रतिशतले सबैभन्दा बढी धुँवा फालिरहेको उनले बताए । सन् २००५ मा ट्राफिक प्रहरीको सहायतामा धुँवा फालिरहेका सवारीसाधनलाई रोकेर परीक्षण गर्ने गरिएको बताउँदै उनले त्यो काम रोकिँदा प्रदूषण नियन्त्रणभन्दा बढ्दो मात्रामा रहेको बताए ।
‘सडकमा कुदिरहेका सवारीसाधनले फालेको धुँवा हेर्दै थाहा हुन्छ, चेकजाँच नै गरिरहनु पर्दैन,’ उनले भने, ‘यस्ता सवारीसाधनलाई हटाउने तथा थोत्रा सवारीसाधनको मर्मतसम्भार गर्न सकियो भने पनि ५० प्रतिशत यहाँको वायुको स्तरमा सुधार आउँछ र यो गर्न पनि सकिन्छ ।’
राष्ट्रिय वायु प्रदूषण रणनीति निर्माण कार्यमा संलग्न विज्ञ डा. भूपेन्द्र देवकोटाका अनुसार काठमाडौं प्राकृतिक रूपले नै संवेदनशील छ र अब मानवीय कारणले यो झन् संवेदनशील बन्न पुगेको छ ।
हामीले सास फेर्ने हावामा सामान्य आँखाले देख्न सकिने र नसकिने धुलोका अनेकन कण हुन्छन् । तीमध्ये केही हानिकारक हुन्छन् त केही असर नगर्ने किसिमका पनि हुन्छन् ।
उपत्यकाका दुई स्थानमा गरिएको वायु प्रदूषण मापनले पनि उपत्यकामा अत्यधिक प्रदूषणको मात्रा बढेको पाइएको छ । एक साताअघि मात्रै जडान गरिएको रत्नपार्कको प्रदूषण मापन केन्द्र बिग्रिएको छ । त्यसको मर्मत गर्न बजेट नभएको विभागले जनाएको छ ।
सवारीसाधनको बढ्दो चाप त थियो नै, त्यसमाथि चक्रपथको सडक विस्तारदेखि भित्री काठमाडौंमा पनि सडक फराकिलो पार्न भत्काइएका घर अलपत्र छाडिदिँदा काठमाडौं धुलो र धुँवाले गुम्सिएको छ । झन् पछिल्लो समय मेलम्ची खानेपानी आयोजनाले नयाँ वितरण प्रणाली जडान गर्न जताततै खाल्डा खनेर छाडेपछि सहरमा धुलोको आतंकै मच्चिएको छ ।
‘यसपालि काठमाडौंलाई प्रदूषित गराउने सबैथोक एकैचोटि प-यो,’ वातावरणविद तोरण शर्माले भने, ‘त्यही भएर काठमाडौं निसास्सिएको छ ।’ वायु प्रदूषणको हिसाबले यतिबेला काठमाडौंको अवस्था भयावह रहेको उनले बताए ।
हानिकारक धुँवाको समस्याबीच यतिबेला निर्माणका कामले काठमाडौंलाई झनै धुलाम्मे बनाएको छ । यस्तो बेला पनि सबै सरोकारवाला निकाय एकअर्कालाई दोष दिएर बसिरहेको शर्मा गुनासो गर्छन् ।
मन्त्रालय मातहतको एउटै मात्र वातावरण विभाग पनि उपत्यकामै छ । ‘धुलो र धुँवाले समस्या उत्पन्न गरेपछि हामीले सरोकारवाला सबैको बैठक गत साता बोलाएका थियौं,’ विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडीले भने, ‘अरू त आए, तर मुख्य सरोकारवाला मेलम्ची, यातायात व्यवस्था विभाग र सडक विभागका प्रतिनिधिले गम्भीर रूपमा लिएनन् ।’
यस्तै उपत्यकामा जताततै तारहरूले हिँड्न नै कठिन भएको पैदलयात्रुले बताएका छन् । ‘जस्तोसुकै स्थितिमा पनि सहरको वातावरण यसरी बिथोलिने गरेर कुनै पनि निर्माण गर्नै पाइँदैन,’ महानिर्देशक दवाडीले भने, ‘त्यही सम्झौता कहाँनिर उल्लंघन भइरहेको छ भनेर हेर्ने काम भइरहेको छ ।’ १६ जना निरीक्षक रहेकामा मुलुकभरि परियोजनामा खटाउनुपर्ने अवस्थाले यतिबेला ५/६ जना मात्र कार्यालयमा उपलब्ध रहेको उनले बताए ।
दैनिक नेपाल