काठमाडौं, १५ चैत । नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जिभ सिंह पुरीले काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) बनाउन भारत इच्छुक रहेको बताएका छन् ।
केपी शर्मा ओली नेतृत्वको तत्कालिन सरकारले भारतीय कम्पनीसँग ठेक्का सम्झौता खारेज गरी फास्ट ट्रयाक नेपाल आफैले बनाउने निर्णय गर्दै बजेट समेत छुट्याइसकेका बेला सोमबार राजधानीमा आयोजित कार्यक्रममा राजदूत पुरीले फास्ट ट्रयाक बनाउन भारत इच्छुक रहेको बताए ।
राजदूत पुरीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पनि भारतले गर्न चाहेको बताउँदै भने– ‘काठमाडौं–निगजढ द्रुत मार्ग निर्माणमा भारत आफ्नो संलग्नता होस् भन्ने चाहन्छ । यो हाम्रा लागि रणनीकि रुपमा महत्वपूर्ण काम हो ।’
कार्यक्रममा पछिल्लो समय नेपाल–भारतबीचमा रहेका असमझदारी साँघुरिँदै गएको राजदूत पुरीको भनाई थियो ।
शनिबार काठमाडौं आइपुगेका नवनियुक्त राजदूत पुरीले सोमबार नै कार्यभार सम्हालेका थिए ।