काठमाडौं, चैत १२— शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘लप्पन छप्पन’ले पहिलो दिनमा उत्साहजनक व्यापार गरेको छ । मुकुन्द भट्टद्धारा निर्देशित फिल्मले पहिलो दिनमै सर्वाधिक सफल भनिएको फिल्म छक्कापञ्जाको रेकर्ड तोडेको छ भने लूट २ को रेकर्ड तोड्न असफल भएको छ ।
प्रदर्शनको पहिलो दिन फिल्मले काठमाडौं उपत्यका र उपत्यकाबाहिर गरी करिब ८० लाख भन्दा बढीको व्यापार गरेको छ । सर्वाधिक सफल छक्कापञ्जाले प्रदर्शनको पहिलो दिन करिब ६४ लाखको व्यापार गरेको थियो ।
फिल्मले राजधानीसँगै काठमाडौं बाहिरका प्रमुख शहर पोखरा, नारायणगढ, बुटवल, हेटौँडा, बिर्तामोड लगायतमा पनि उत्साहजनक व्यापार गरेको बताइएको छ ।शुक्रबार काठमाण्डौका सबै हलमा असी प्रतिशत भन्दा बढी अकुपेन्सी रहेको जनाइएको छ । प्रदर्शनको दोस्रो दिन शनिबार सार्वजनिक बिदा परेकोले आज पनि फिल्मले राम्रो व्यापार गर्ने बताइएको छ ।