• Breaking News

    2.10.2017

    जयबहादुर चन्दविरुद्ध सर्वोच्चमा रिट, नवराज सिलवाल प्रहरी प्रमुख बन्ने करिब निश्चित

    काठमाण्डु, २९ माघ– भावी प्रहरी प्रमुखका दावेदार डिआईजी जयबहादुर चन्दविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

    वरियतामा तेश्रो नम्बरमा रहेर पनि महानिरीक्षकमा चन्दले गरेको दाबी र त्यसका लागि गरेका प्रयास कानूनविपरीत रहेको भन्दै अधिवक्ता कपीलदेव ढकालले शुक्रबार रिट दायर गरेका हुन् । सर्वोच्चले आइतबार लिखित कारणसहित उपस्थित हुन विपक्षीका नाममा आदेश दिएको छ । प्रहरी महानिरीक्षक नियुक्तिबारे निर्णय गर्ने आइतबार नै मन्त्तिपरिषद बैठक बस्दैछ ।
    सर्वोच्चमा परेको रिटको छिनोफानो नभई चन्दलाई प्रहरी महानिरीक्षक बनाउन मिल्दैन । त्यस कारण पहिलो बरियताका डिआईजी नवराज सिलवाल प्रहरी प्रमुख बन्ने सम्भावना बढेको छ ।
    हालका महानिरीक्षक उपेन्द्रकान्त अर्याल उमेर हदका कारण २ माघदेखि अनिवार्य अवकाशमा जाने भएपछि प्रहरीमा नयाँ नेतृत्व आउन लागेको हो ।
    गृहमन्त्री विमलेन्द्र निधिले गृहसचिव लोकदर्शन रेग्मीलाई आइतबार चन्दलाई महानिरीक्षक प्रस्ताव गरेर मन्त्रिपरिषदमा लैजाने टिप्पणी उठाउन निर्देशन दिएका समाचारहरु आएका थिए । रिटसँगै उनको नाम प्रस्ताव गर्न नमिल्ने भएको छ । चन्द काँग्रेस सभापति शेरबहादुर देउवासँगको व्यक्तिगत र क्षेत्रीय सम्बन्धको दुरुपयोग गर्दै पहिलो र दोश्रो बरियताका डिआईजीहरु क्रमशः नवराज सिलवाल र प्रकाश अर्याललाई बाइपास गरेर आफू प्रहरी नेतृत्व हत्याउन सक्रिय छन् ।
    ‘सर्वोच्च अदालत नियमावली २०४९ को नियम ४० बमोजिम प्रतिशेध, उत्प्रेषण र परमादेश लगायत जो चाहिने आदेश गरिपाउँ’, रिट निवेदनमा छ । अधिवक्ता ढकालले सचेत नेपाल सरकारको मन्त्रिपरिषदमा सुरक्षा निकायको प्रमुखजस्तो महत्वपूर्ण निकायको प्रमुख नियुक्तिका लागि अवैध, असंवैधानिक र गैरकानूनी हस्तक्षेप गरेको भन्ने समाचार निरन्तर सञ्चार माध्यममा आएकाले सचेत नागरिकका हैसियतमा आफूले रिट निवेदन दर्ता गराएको उल्लेख गरेका छन् । वरिष्ठता मिचेर प्रहरी प्रमुख नियुक्ति गर्दा मुलुकको शान्ति सुरक्षामै असर पर्ने दाबी रिट निवेदकको छ ।
    सर्वोच्च अदालतले यसअघि २०६८ सालमा सोही प्रकृत्तिको रिटमाथि सुनुवाई गर्र्दै ‘स्पष्ट आधार र कारणबिना प्रहरीमा वरिष्ठलाई कनिष्ठ र कनिष्ठलाई वरिष्ठ पदमा रुपान्तरित गर्न बाञ्छनीय नहुने’ आदेश दिइसकेको छ ।
    प्रहरी नियमावली–२०७१ को नियम ४१ मा प्रहरी महानिरीक्षकमा बढुवा गर्दा ६ वटा मापदण्ड तोकिएको छ । जसमा ज्येष्ठता, कार्यकुशलता, कार्यकक्षता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्नसक्ने कुशलता तथा आफूभन्दा मातहकाका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्नसक्ने सामथ्र्य छन् ।
    काठमाण्डु टुडे 

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र