काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसबाट संसद्मा प्रतिनिधित्व गर्ने मधेसी मूलका सांसदहरूले संविधान संशोधन विधेयक पारित नभएसम्म मधेसमा जान नसकिने भन्दै संसोधनका पक्षमा पहल गर्न नेतृत्वलाई दबाब दिएका छन् ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले बोलाएको बैठकमा तराई–मधेसबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूले संविधान संशोधन विधेयक पारित नभए निर्वाचनका लागि मधेसमा जान नसक्ने जनाउसमेत दिएका छन् । राजधानी दैनिकले समाचार छापेको छ ।
उनीहरूले पार्टी केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठकले संविधान संशोधन प्रस्ताव पारित गर्ने निर्णय गरिसकेकाले त्यसलाई कार्यान्वयन गर्न पनि पार्टी नेतृत्व गम्भीर भएर लाग्नुपर्नेमा समेत जोड दिए ।
बैठकमा सहभागी बारा–३ बाट निर्वाचित सांसद फरमुल्लाह मन्सुरले मधेस र मधेसी जनताको माग सम्बोधनका लागि पार्टीले जिम्मेवार भएर लाग्नुपर्नेतर्फ बैठकमा सिंगो पार्टीको ध्यानाकर्षण गराएको बताए । ‘पार्टीले मधेसी जनताको माग सम्बोधनका लागि संसद्मा संविधान संशोधन विधेयक दर्ता गरायो, अब त्यसलाई जसरी पनि पास गरेर सहज रूपमा मधेसी जनतालाई निर्वाचनमा सहभागी गराउनुपर्छ भन्ने हाम्रो धारणा रह्यो,’ सांसद मन्सुरले राजधानीसँग भने, ‘सभापतिले जसरी पनि संशोधन पारित गराएरै छाड्ने लाइन लिएको प्रस्ट पार्नुभएको छ ।’
बैठकपछि सभापति देउवाले संशोधन विधेयक पारित गराउन पहल गर्ने निर्णय भएको बताए । उनले प्रमुख प्रतिपक्ष एमाले पनि संशोधनको पक्षमा आएरै छाड्ने जिकिरसमेत गरे । ‘एमालेलाई समेत सहमतिमा ल्याई संविधान संशोधन प्रस्ताव पारित गर्ने निर्णय भएको छ, जसरी पनि पारित गर्न लागि पर्छौं,’ सभापति देउवाले भने ।
गत बिहीबार सांसद मन्सुरसहित मधेसबाट संसद्मा प्रतिनिधित्व गर्ने कांग्रेस संसद्को टोलीले संविधान संशोधन विधेयकलार्ई फास्ट ट्र्याकबाट पारित गर्न सभापति देउवाको ध्यानाकर्षण गराएका थिए । संशोधन प्रस्ताव पारित गरी निर्वाचनको सहज वातावरण बनाउन उनीहरूले सभापति देउवालाई दबाब दिने निष्कर्षसहित यसअघि नै ज्ञापनपत्र बुझाइसकेका छन् ।
बैठकमा नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, एनपी साउद, फरमुल्लाह मन्सुर, तेजुलाल चौधरी, महेश आचार्य, सुरेन्द्र चौधरी, भरत शाहलगायतका उपत्यकामा रहेका सांसद र नेताहरूको उपस्थिति थियो ।
नेकपा एमालेसहित विपक्षी नौ दलले संविधान संशोधन विधेयक कुनै हालतमा पारित हुन नदिने अडान राख्दै आएका छन् । गत १४ मंसिरमा सरकारले संविधान प्रति असन्तुष्ट पक्षको माग सम्बोधन गर्न भन्दै संसद्मा संविधान संशोधन विधेयक दर्ता गराएको थियो ।
राजदूतमा बखेडा नझिकौं : देउवा
कांग्रेस सभापति शेरबहादुर देउवाले राजदूतको नियुक्ति पार्टी केन्द्रीय कार्यसमितिको निर्णयबाट नहुने भन्दै पार्टीमा आएर राजदूत नियुक्तिका विषयमा अनावश्यक बखेडा नझिक्न आग्रह गरेका छन् ।
राजदुत नियुक्ति समावेशी नभएको भन्दै देउवाको ध्यानाकर्षण गराउन पुगेका तराई–मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई देउवाले सरकारबाट भएको निर्णयलाई लिएरर पार्टीभित्र असन्तुष्टि नपोख्न भनेका हुन् ।
राजदूत नियुक्तिको सिफारिस तथा पार्टी सञ्चालनमा सभापतिको कार्यशैलीलाई लिएर शनिबार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरूले छुट्टै भेला गरी निर्णय पुनर्विचार गर्न सभापतिलाई दबाब दिएपछि आक्रोशित देउवाको सो प्रतिक्रिया आएको हो । बैठकमा सभापति देउवाले विगतका प्रचलनहरूमा पनि राजदूत नियुक्ति हुँदा पार्टी केन्द्रीय कार्य समितिको निर्णयबाट नहुने गरेको बताएका थिए ।
नेता पौडेलले केन्द्रीय कार्यसमिति बैठक तत्काल बोलाउन गरेको आग्रहलाई लक्षित गर्दै देउवाले आवश्यक परेको बखत वैठक डाक्ने भन्दै राजदूतकै विषयलाई लिएर बैठक नडाक्ने जवाफ दिएका थिए ।
‘आवश्यक पर्दा केन्द्रीय कार्यसमितिको बैठक बोलाइनेछ, तर राजदूत नियुक्तिको निर्णय गर्न बैठक बोलाउँदिन, आवश्यक पनि छैन,’ देउवाको भनाइ उद्धृत गर्दै एक सदस्यले भने ।
ओली निवासमा पौडेल
पार्टी सभापति शेरबहादुर देउवासँग पछिल्ला दिन असन्तुष्ट देखिएका नेता रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी ओलीसँग विकसित राजनीतिक घटनाबारे बेग्लै छलफल गरेका छन् ।
आफूनिकट नेतासँग बेग्लै बैठक बसेलगत्तै पौडेल आइतवार ओली निवास बालकोट पुगेका हुन् । भेटमा स्थानीय निर्वाचनका लागि सहज वातावरण सिर्जना गर्ने विषयमा कुराकानी भएको पौडेलले बताए ।
‘स्थानीय निर्वाचनका लागि सहज हुने हिसाबबाट अघि बढौं भनेर मैले भने, आलीजीले संशोधन विधेयक असंवैधानिक छ अगाडि बढाउन सकिँदैन भन्नुभयो,’ नेता पौडेलले राजधानीसँग भने, ‘अरू कुरा मिलाएर लैजाने कुरा भयो, अब राजनीतिक अवस्था सहज रूपमा अघि बढ्छ ।’
पौडेलले पार्टी सभापति देउवा नेतृत्व लिन असफल भएको भन्दै शनिबार मात्रै तत्काल केन्द्रीय समिति र संसदीय दल बैठक बोलाउन माग गर्दै पत्र लेखेका थिए । त्यसको भोलिपल्ट (आइतबार) सभापति देउवा मधेसी मूलका सांसदहरूसँग छलफलमा जुटिरहँदा उनी ओलीसँगको छलफलमा थिए ।