अस्पतालमा उपचार गराउँदै राम गिरी (बायाँ), चुरोट सल्काउँदै गरेका दावा लामा(दायाँ
काठमाडौं, ५ फागुन । गत साता दरबारमार्गस्थित एक क्लवका सञ्चालकमाथि काभ्रेली गुण्डा समूहका नाइके दावा लामा भनिने जितेन्द्र तामाङले सांघातिक आक्रमण गरेको घटनालाई लिएर प्रहरीमा हंगामा मच्चिएको छ ।
लामाको आक्रमणबाट घाइते भई व्यापारी राम गिरी अस्पतालमा उपचार गराईरहेका बेला उल्टै उनी विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी परेको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
आक्रमणकारी गुण्डा नाइके लामा विरुद्ध गिरीले ज्यान मार्ने उद्योगमा जाहेरी दिएपछि लामाले पनि प्रहरीमा सेटिङ मिलाई गिरी विरुद्ध नयाँ व्यक्ति खडा गरी सार्वजनिक अपराधमा मुद्दा दर्ता गराउन लगाएका छन् । तर, जसले गिरी विरुद्ध उजुरी दर्ता गरेका छन्, ति पात्र लामाले नै खडा गरेको प्रहरी स्रोत बताउँछ ।
जिल्ला अदालत काठमाडौंले ज्यान मार्ने उद्योगमा लमालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिइसकेको छ । लामाको आक्रमणबाट टाउको फुटेका पिडीत गिरीलाई पनि आफू जस्तै गुण्डा सावित गर्न लामाले कांग्रेसका नेताहरुमार्फत परिसरलाई दबाब दिएपछि चिन्दै नचिनेका व्यक्तिले गिरी विरुद्ध मुद्दा दर्ता गरेको स्रोत बताउँछ ।
काठमाडौंमा गुण्डागर्दी नियन्त्रण गर्न कुनै कसुर बाँकी नराख्ने बताउने एसएसपी छविलाल जोशीले कस्तो कानुनी शासन चलाउन खोजेका हुन् ? यो घटनापछि गम्भिर प्रश्न चिन्ह उब्जिएको छ । स्रोतका अनुसार लामालाई छुटाउने चलखेल अन्तर्गत गिरी विरुद्ध उजुरी हाल्न लगाइएको हो ।
व्यवसायी गिरीमाथि सांघातिक आक्रमण गरेर आफ्नो आतंक राजधानीमा देखाउन खोजेका दावालाई छुटाउन गृहमन्त्री विमलेन्द्र निधिले प्रहरी अधिकारीलाई दबाब दिएको प्रहरी उच्च स्रोतले जनाएको छ । दावाको समूहको सांघातिक आक्रमणपछि टाउकोमा छवटा टाँका लागेर गम्भीर अवस्थामा अस्पतालमा उपचार गराइ रहेका गिरीले दोषीलाई कानूनअनुसार कडा कारबाही गर्न मागसहित आफूले प्रहरीमा उजुरी दिएको बताए ।
स्रोतका अनुसार केही युवती परिचालन गरी दावाले ठूला व्यापारीलाई समेत ब्ल्याकमेलिङ गर्दै आएका थिए । तर, ती व्यपारीहरु प्रतिष्ठामा आघात पुग्ने डरले प्रहरीसम्म जान सकेका छैनन् ।
काभ्रे जिल्लामा बुद्धचित्त संकलनका साथै ठेक्कापट्टा, जवरजस्ती असुली, चन्दा आतंक, कुटपिट, अपहरणलगायतका आपराधिक क्रियाकलापमा संलग्न रहेको उजुरीका कारण दावालाई प्रहरीले पटक–पटक पक्राउ गरेर कारबाहीसमेत गरिसकेको छ ।
तर, काभ्रेबाट प्रतिनिधित्व गर्ने सांसद तीर्थबहादुर लामासहितका कांग्रेसी नेताहरूको दबाबका कारण दावाले उन्मुक्ति पाउँदै आएको पीडितहरूको गुनासो छ ।
गुन्डा नाइके ‘चरी’ भनिने दिनेश अधिकारी र ‘घैँटे’ अर्थात कुमार श्रेष्ठ प्रहरी इन्काउन्टरमा मारिएपछि दुलाभित्र लुकेर बसेका गुन्डानाइकेहरू कांग्रेस नेता विमलेन्द्र निधि गृहमन्त्री भएसँगै फेरि सलबलाउन थालेका छन् ।
एसएसपी सर्बेन्द्र खनाल अपराध महाशाखा टेकुमा रहेका बेला राजधानीका गुन्डा नाइकेहरूलाई तह लगाएर शान्तिसुरक्षा बनाउन ठूलो भूमिका खेलेका थिए । उनको सरुवासँगै दावा लामा, प्रवीण खड्का जस्ता गुन्डा नाइकेहरूको क्रियाकलापले बढ्न थालेकोमा फेरि प्रहरी प्रशासनमाथि प्रश्न चिन्ह खडा गरिदिएको छ ।