फागुन २ ,
नेपालसहित विश्वभर भोलि ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रेम दिवस मनाइँदैछ । विशेष गरी युवा–युवतीले यसलाई विशेष चाडकै रूपमा मनाउने गरेका छन् । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रेम दिवस विशेष रूपले मनाउन थालिएको छ ।
यो दिन प्रेमी–प्रेमिकाले एकअर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्ति समक्ष प्रेम प्रस्ताव पनि राख्ने गर्छन् । दिवस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम हुँदैछन् । सहर–बजारका विभिन्न फूल पसल रातो गुलाबले झकिझकाउ भएका छन् ।
कसरी सुरु भयो भ्यालेन्टाइन डे ?
अहिले विश्वभर युवा–युवतीले विशेष महत्त्वका साथ मनाउने भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवासबारे विभिन्न किम्वदन्ती पाइन्छ । यो दिवसको सुरुआत प्राचीन रोमनबाट सुरु भएको हो ।
मध्ययुगमा इंल्यान्ड र फ्रान्समा १४ फेब्रुअरीका दिनदेखि चराले आफ्नो जोडीको खोजी गर्न सुरु गर्ने तथा प्रेममा लिप्त भएर सम्भोग गर्छन् भन्ने धारणा थियो । यस्तै, प्राचीन रोमनमा महिला र विवाहकी देवीलाई सम्मान गर्दै यो दिन उत्सव मनाउने गरिन्थ्यो भन्ने किम्वदन्ती छ । यी र यस्तै धेरै किम्वदन्तीको संयुक्त प्रभावबाट प्रेम दिवासको सुरुआत भएको हो ।
विशेष गरी ‘भ्यालेन्टाइन डे’को औपचारिक सुरुआत इस्वी सम्वत २६९ रोमनबाट सुरु भएको हो । यो दिवससँग एउटा दुखान्त प्रेम कथा जोडिएको छ । तत्कालीन रोमन सम्राट क्लोडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लाएका थिए ।
प्रेम तथा विवाहले सैनिक कजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लोडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए ।
तर, सम्राटको नियम मन नपराउनेमध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए । उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रूपमा विवाह गराए । सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाएर जेलमा राखे ।
जेलमा रहँदा सन्त भ्यालेन्टाइनको जेलरकी दृष्टिविहीन छोरीसँग माया बस्यो । आफूलाई मृत्युदण्ड दिनुअघि सन्त भ्यालेन्टाइनले ‘लभ फ्रम योर भ्यालेन्टाइन’ भन्ने हस्ताक्षरसहितको प्रेमपत्र आफ्नी प्रेमिका अर्थात् जेलरकी छोरीलाई दिएको कथन छ ।
उनले आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकार गरेका थिए । उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । यही दिनको सम्झनामा सन्त भ्यालेन्टाइने प्रेमका लागि गरेको त्यागको सम्झना गर्दै विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रूपमा भ्यालेन्टाइन डे मनाउने गरिएको हो ।
भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको २ सय २९ वर्षपछि सन् ४९८ मा इसाइ धर्मगुरु पोप जेलासिएसले भ्यालेन्टाइनको सम्झनामा दिवसकै रूपमा मनाउने घोषणा गरेका थिए । त्यसपछि इंल्यान्ड र फ्रान्स हुँदै पछिल्लो समय विश्वभर १४ फेब्रुअरीलाई भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसको रूपमा मनाउने गरिएको छ ।
-एजेन्सीको सहयोेगमा