• Breaking News

    2.01.2017

    मेक्सिकोका राष्ट्रपतिलाई ट्रम्पको धम्की, ‘तपाईले सक्नुभएन, म सेना पठाउँछु’

    २० माघ, एजेन्सी।

    अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकन राष्ट्रपति एनरिक पेना नियटोलाई फोन गरि धम्की दिएका छन्। समाचार एजेन्सी एपीको अनुसार, मेक्सिकन सेनाले नियन्त्रण नगरे अमेरिकी सेना पठाएर ‘त्यहाँका खराब मान्छे’हरुलाई तह लगाउने ट्रम्पले फोन गरि मेक्सिकोका राष्ट्रपतिलाई धम्की दिएका हुन।

    समाचार एजेन्सी एपीलाई प्राप्त फोनवार्ताको विवरणमा ट्रम्पले कसलाई ‘खराब मान्छे’ भनेका हुन खुलेको छैन। ड्रग्स डिलर, आप्रवासी वा दुवै वा अन्य केही, ट्रम्पको आशय स्पष्ट छैन। दुई राष्ट्रपतिबीच शुक्रबार बिहान फोन वार्ता भएको हो। एपीले पाएको विवरणमा राष्ट्रपति एनरिकको जवाफ समावेश छैन।

    तापनि यसले नयाँ अमेरिकी राष्ट्रपतिको चकित पार्ने व्यवहार प्रष्ट्याएको र ट्रम्पले कसरी कुटनीतिक कदम चाल्छन् प्रष्ट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन्।

    चुनावी प्रचार प्रसारकै बेलाको जस्तो कठोर भाषा नै ट्रम्पले अहिले पनि प्रयोग गर्ने गरेको यसले जनाउँछ।यसबारेमा बुझ्न खोज्दा ह्वाइट हाउसका प्रवक्ताको प्रतिक्रिया पाउन नसकिएको बेलायतको पत्रिका डेलिमेलले लेखेको छ।

    यी दुई राष्ट्रपतिबीचको फोन वार्ताले दुई देशको सम्बन्धमा केही सुधारको अपेक्षा गरिएको थियो। राष्ट्रपति ट्रम्पले सीमामा पर्खाल लगाउनको लागि मेक्सिकोले पैसा लगाउनुपर्ने बताएपछि निकै विवाद खडा भएको थियो। मेक्सिकोले आफुले सीमामा पर्खाल लगाउनको लागि सहयोग नगर्ने स्पष्ट पारिसकेको छ।

    ‘तपाईको त्यहाँ केही खराब प्रवृतिका मान्छेहरु छन्।’, ट्रम्पले पेना नियटोलाई भने, ‘तिनीहरुलाई रोक्न तपाइले केही गर्नुभएन। लाग्छ तपाईको सेना डराएको छ। हाम्रा डराएका छैनन्, त्यसैले त्यहाँकालाई तह लगाउन सेना पठाउन सक्छु।’

    फोन वार्ताबारे जानकारी भएको एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा यो विवरण समाचार एजेन्सी एपीलाई दिएका थिए।

    एक मेक्सिकन वेबसाइटले पनि मंगलबार यहि फोन वार्ता बारे समाचार छाप्दै ट्रम्पले पेना नियटोको बेइज्जत गरेको लेखेको छ। मेक्सिकोको विदेश विभागले भने ‘झुठमा आधारित’ भन्दै यसलाई अस्वीकार गरेको छ।

    अघिल्लो हप्ता भएको पत्रकार सम्मेलनमा ट्रम्पले पेना नियटोसंगको फोन वार्ता ‘मित्रवत’ बताएका थिए।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र