• Breaking News

    2.01.2017

    स्थानीय तहको सम्भव नभए निकायकै निर्वाचन गर्नुपर्ने कांग्रेसको निष्कर्ष

    काठमाडौँ, २० माघ । प्रमुख सत्तारूढ दल कांग्रेसले पुरानै संरचनामा गरिए मात्रै स्थानीय निर्वाचन सुनिश्चित हुने निष्कर्ष निकालेको छ।

    स्थानीय तहको प्रस्तावित पुनस्संरचनालाई लिएर चौतर्फी जटिलता थपिएको बताउँदै कांग्रेसले संक्रमणकालीन अवधिका लागि पुरानै संरचनाको स्थानीय निर्वाचनमा जान उपयुक्त हुने धारणा अघि सारेको हो।

    सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा बुधबार बसेको पार्टीका पूर्व र वर्तमान पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए।

    मधेसी मोर्चा सहमत भएमा भने स्थानीय तहकै निर्वाचनका लागि पनि जान सकिने कांग्रेसको निर्णय छ। स्थानीय तहको पुनस्संरचनाप्रति मधेसी मोर्चाले विरोध गरिरहेका बेला कांग्रेसले पुनस् स्थानीय निकायकै निर्वाचनमा जाने प्रस्ताव अघि सारेको हो।

    स्थानीय निकाय पुनस्संरचना आयोगले एक महिनाअघि नै पुनस्संरचनाको प्रतिवेदन सरकारलाई बुझाइसकेको छ। मधेसी मोर्चाको आपत्ति, कांग्रेस र माओवादी केन्द्रबीचमै पुनस्संरचनालाई लिएर देखिएको विवादका कारण उक्त प्रतिवेदन सरकारले सार्वजनिक गरेको छैन।

    कांग्रेसका दुई दर्जन सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर पुनस्संरचनाप्रति असन्तुष्टि जनाएका थिए।

    प्रधानमन्त्री दाहालले मधेसी मोर्चालगायत असन्तुष्ट पक्षका माग सम्बोधन गर्न आयोगको प्रतिवेदनमाथि परिमार्जनको विषय उठाइरहेका बेला कांग्रेसले स्थानीय निकायकै निर्वाचनमा गए मधेसी मोर्चा सहभागी हुन सक्ने अपेक्षा गरेको छ।

    तर, मधेसी मोर्चाले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पास नहुँदासम्म निर्वाचनमा जान नसकिने अडान राख्दै आएको छ। मोर्चाले बाहिर त्यस्तो अडान राखे पनि पुरानै संरचनामा निर्वाचन गर्न सरकार तयार भए सहभागी हुने दाबी बैठकमा सहभागी अर्का एक सदस्यले गरे।

    ’आयोगको प्रतिवेदनमाथि परिमार्जन गर्नुपर्ने अवस्था छ। विभिन्न ऐन र कानुन बनाउन बाँकी नै छ,’ पौडेलले भने, - ’समयको चापले सबैलाई चित्त बुझ्ने गरी परिमार्जन गरेर स्थानीय तहको निर्वाचन गराउन अब कठिन बन्दै छ।

    संक्रमणकालीन समयका लागि स्थानीय निकायकै निर्वाचनमा गयो भने सम्भव हुन्छ भन्ने मत कांग्रेसको हो। नेता पौडेललाई उदृत गर्दै कान्तिपुर दैनिकले खबर छापेको छ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र