काठमाडौं, ८ फागुन । नेपाली समकालीन नेताहरूमध्ये पूर्वमाओवादी नेता बाबुराम भट्टराई सामाजिक सञ्जाल प्रयोग गर्नेमा अग्रपंक्तिमा छन् । हरेक दिनजसो उनी समसामयिक राजनीतिबारे टीकाटिप्पणी गरिरहन्छन् । तर, उनले गरेका टीकाटिप्पणी धेरैजसो विवादमा पर्छन् ।
बाबुरामले राखेको स्टाटसमा टिप्पणी गर्नेहरूले उनकै आलोचना गर्ने गरेका छन् । शनिबार पनि बाबुरामले एउटा ट्विट गरेका छन् । जुन ट्विट हाल महाधिवेशनमा जुटेको राप्रपाप्रति लक्षित छ ।
बाबुरामले राप्रपाले धेरै चुरिफुरी देखाएको र त्यो चाँडै अन्धकारको दिशातर्फ उन्मुख भएको उल्लेख गरेका छन् । उनले राप्रपाको गतिविधि इतिहास पछि फर्काउन उद्यत रहेको तर इतिहास पछि नफर्किने, बरु अघि बढ्ने बताएका छन् ।
‘संक्रमणको सुरूङ लम्बिएर उज्यालो नदेखिएपछि यात्री हतासिएर पछि फर्कन खोज्छ ! राप्रपाको चुरीफुरी त्यसैको संकेत हो ! इतिहास पछि फर्कन्न अघि बढ्छ !’ बाबुरामको ट्विटमा उल्लेख छ ।
राप्रपाको महाधिवेशन उद्घाटनमा नयाँ शक्ति नेपाललाई आमन्त्रण गरिएको थिएन । राप्रपाले अरु सबै पार्टीलाई शुभकामना दिन निमन्त्रणा गरेको थियो । राप्रपाको महाधिवेशन उद्घाटनमा सबै दलका प्रमुख नेताहरू सो पार्टीको गुणगान गरेपछि बाबुरामको यस्तो टिप्पणी आएको बताइन्छ ।
बाबुरामले माओवादी छाडेपछि मुलुककै नयाँ राजनीतिक शक्ति बनाउने घोषणा गरी ‘नयाँ शक्ति नेपाल’ पार्टी गठन गरेका थिए । तर, सो पार्टी गठन भएयताको स्थिति हेर्दा अबको चुनावमा राप्रपा नै कांग्रेस–एमालेपछि बलियो शक्ति बन्ने संकेत देखिएपछि बाबुरामको यस्तो टिप्पणी आएको हुन सक्ने राप्रपाका एक नेताले बताए ।
मिडिया एनपी