• Breaking News

    2.04.2017

    ‘प्रचण्डलाई सिध्याउन बम बनाउने काम भइरहेको छ’

    युवराज दुलाल ‘शरद’ युवा नेता, माओवादी केन्द्र

    युवराज दुलाल ‘शरद’ माओवादी केन्द्रको तेश्रो पुस्ताका सशक्त र प्रभावशाली नेता हुन् । सिन्धुपाल्चोकका स्थायी बासिन्दा दुलाल माओवादीभित्र अध्यक्ष प्रचण्डका विश्वास पात्र र रुचाएका युवा हुन् । कुनै बेला उनी प्रचण्डका अंगरक्षक थिए । २०६२/०६३ को आन्दोलन उत्कर्समा पुग्दै गर्दा गिरिजाप्रसाद कोइरालाले माओवादीलाई राजधानीभित्र ठूला र धक्कामुलक फौजी कारबाहीका लागि आग्रह गरेका थिए । सोही आग्रहअनुसार तत्कालिन माओवादी सेनाको डिभिजन सहायक कमाण्डरसम्म भएका दुलालकै नेतृत्वमा थानकोट प्रहरी चौकीमा हमला भएको थियो । दुलाल माओवादी युवा संगठन वाइसीएलका निवर्तमान वरिष्ठ उपाध्यक्ष र हाल महाधिवेशन आयोजक समिति सदस्य छन् । दुलालसहित सिन्धुपाल्चोकका ७० केन्द्रीय सदस्यले केही दिनअघि सामूहिक राजीनामा घोषणा गरे । राजीनामाको कारण, प्रचण्ड सरकारको कामकारबाही, माओवादीहरुको एकता र वाइसीएलले भविष्यमा गर्ने कामबारे  काठमाण्डु टुडेले दुलालसँग कुराकानी गरेको छ ।
    प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः–

    सिन्धुपाल्चोकका तपाईंसहित ७० जना केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिनुभएछ किन ?

    हामी लामो समयदेखि छलफलमा थियौं । पार्टीलाई सहयोग गर्नुपर्छ भन्ने मान्यतामा हामीले त्यो निर्णय लिएका हौं । ठूलो आकारको कमिटी विधानविपरीत हो । कामकारबाहीका हिसाबले पनि अवैज्ञानिक भयो । पहिला हामी केही साथी त्यो मान्यतामा थियौं, हामीले अहिले जिल्लाका सबै ७० जनालाई नै सहमत गरायौं ।

    जिम्मेवारी नै छाडेर कसरी पार्टीलाई सहयोग हुन्छ, यो त ठाडै असहयोग होइन र ?

    हाम्रो पार्टी र मोहन वैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादीको ठूलो हिस्साबीच एकता भयो । अहिलेको जस्तो जम्बो केन्द्रीय समिति बनाउने भनेर एकता भएको थिएन । नेतृत्वका अगाडि यसलाई सच्याउनैपर्ने बाध्यात्मक अवस्था थियो । यो बाध्यात्मक अवस्थामा नेतृत्वलाई कसै न कसैले सहयोग गनुपर्ने अवस्थामा हामीले सहयोग गरेका हौं ।

    अरुअरु जिल्लामा पनि राजीनामा गराउने अभियानमा हुनुहुन्छ रे हो ?

    पार्टी र नेतृत्वलाई सहयोग गर्नुपर्छ मान्यता राख्ने सबै जिल्लाका, सबै संगठनका साथीहरुसँग यो अभियानमा लाग्न आग्रह गरेका छौं । धेरै ठाउँबाट सकारात्मक खबर पनि आएको छ ।

    त्यसका लागि लविङ पनि गर्नुभएको छ ?

    खस लविङ त गरेका छैनौं । तर, साथीभाई भेट हुँदा, फोनमा कुराकानी हुँदा भन्ने गरेका छौं । चार हजारको केन्द्रीय समिति बन्नुभन्दा अगाडि विभिन्न तहमा केन्द्रीय समिति थपिँदै गर्दा देशैभरका हामी युवाहरुले छलफल गरेका थियौं । सबै साथीहरुले यो गलत छ र यसलाई रोकेर पार्टी नेतृत्वलाई सहयोग गर्नुपर्छ भन्ने कुरा भएको थियो । अन्य जिल्लाहरुबाट पनि हाम्रो अभियानमा साथ हुन्छ भन्ने विश्वास छ ।

    पार्टी नेतृत्वसँग छलफल गरेरै यो कदम चाल्नुभएको हो कि ?

    पार्टी नेतृत्वलाई हामीले बेलाबेलामा यो कुरा भनेका छौं । हामी राजीनामा दिएर हुन्छ वा अरु कुनै तरिकाले तपाईंहरुलाई सहयोग गर्न तयार छौं भद्दा कमिटी बनाएर दुनियाँका अगाडि व्यंग्य र उपहासको माध्यम पार्टीलाई नबनाऔं भनेर भनिनै राखेका छौं ।

    यो त पार्टी एकताको विरोध गरेको जस्तो देखियो नि ? एकता गरेको मन नपरेको हो ?

    हामी पार्टी एकताका पक्षधर हौं । अझै बाहिर रहेका माओवादी धारका साना पार्टीहरुलाई एकताबद्ध गर्र्दै मुलधारको माओवादी आन्दोलनमा ल्याउनुपर्छ भन्ने हाम्रो दृढ मत छ । तर, एकता गर्दा यति भद्दा कमिटीहरु बनाउने नत सर्त थियो नत सहमति नै । हामी पूर्वएमाओवादी मात्र होइन, राजीनामा दिने ७० जनामा एकतामा आएका साथीहरु पनि हुनुहुन्छ । भद्दा कमिटी बनाउने कुरा उहाँहरुलाई पनि मन परेको छैन । अनि कसरी पार्टी एकताविरोधी भन्न मिल्यो र ? माओवादी आन्दोलन बचाउन, त्यसलाई सुदृढ गर्न र माओवादी आन्दोलनको उद्देश्यका लागि पार्टीको एकता भएको हो । संगठन ठूलो बनाउनका लागि होइन ।

    पार्टी अध्यक्षलाई मौखिक जानकारी गराउनुयो कि लिखित राजीनामा दिनुभयो ?

    जिल्लाको एकता भेलामा ४ सय प्रतिनिधि उपस्थित थिए । ४ सय प्रतिनिधि सहभागी जिल्ला भेलाबाट विशेष प्रस्तावका रुपमा राजीनामा प्रस्ताव पारित गरेर जिल्ला भेलाको माइन्युटसँगै ७० जनाको हस्ताक्षरसहितको राजीनामा केन्द्रीय पार्ट अध्यक्षकोमा पुग्ने गरी केन्द्रीय कार्यालयमा बुझाएका छौं । अध्यक्षको प्रतिक्रिया हामीकहाँ आइसकेको छैन ।

    सांगठनिक एकता भए पनि अझै भावनात्मक रुपमा पार्टी एकता भएको देखिएको छैन है ?

    भावनात्मक एकताको प्रक्रिया सुरु भएको छ । छलफल अन्तरक्रिया गर्ने, एकअर्काका मन माझ्ने काम भइरहेको छ । तर, तल्लोस्तरमा जति छलफल र बहस भएका छन्, माथि चाहिं संगठनात्मक असन्तुलनका कारण त्यसो हुन सकेको छैन ।

    दोश्रो संविधानसभा निर्वाचनका बेला प्रचण्डलाई जहाँ गए पनि रुख ढालेर बाटो अवरुद्ध गर्ने र बम पड्काउने र अन्य दलको पैसा खाएर माओवादी उम्मेदवार हराउन सहयोग गरेको आरोप लगाउनुभएको थियो । अहिले ती साथीहरु भेट्दा कस्तो लाग्छ ?

    पार्टी विभाजनका दिनदेखि नै हाम्रो पार्टीका अध्यक्ष प्रचण्डले उहाँहरुलाई विभाजित गएर भएको पार्टीजस्तो व्यवहार गर्नुभएन । हामी संस्थापनमा रहेका नेता÷कार्यकर्ताले पनि कुनै न कुनै रुपमा एकता हुन्न भन्ने आशा बोकेका थियौं । फुटेर जाने साथीहरुले केही तीतो पोख्नुभएको थियो । तर, हामीले माथिदेखि तलसम्म कसैले पनि उहाँहरुमाथि फुटेको जस्तो व्यवहार गरेका थिएनौं । कुनै दिन उहाँहरुलाई पार्टीमा ल्याउनुपर्छ त्यसकारण सहज वातावरण बनाइराख्नुपर्छ भनेरै काम गरेका थियौं । उहाँहरुलाई अप्ठेरो भएको कुरा हामी भन्न सक्दैनौं, तर हामीलाई पार्टी एकता भएर काममा कुनै असहजता र अप्ठेरो छैन । विभाजनपछि पनि हामी छलफलमै थियौं ।
    तर बम पड्काएको विषयमा समीक्षा गरेर उहाँहरुले त्यसबारे प्रष्ट पार्नुपर्ने होइन र ? 

    यो ‘रियलाइजेशन’ को बेला होइन । विगतमा कसले कमजोरी गरेको थियो, कसले के गरिको थियो भन्नेतिर गइयो भने एकताको लक्ष्य पूरा हुँदैन । रियलाइज आफैंले गर्ने हो ।
    चुनावका बेला प्रचण्ड जहाँ गए पनि रुख ढाल्ने, विद्युतीय धराप थाप्ने, बम पड्काउने काम गरेकाहरुलाई 

    क्षमायाचना नगरी पार्टीमा ल्याइयो भन्ने असन्तुष्टि पनि त छ नि ?

    यो कुरा सबैलाई थाहा भएकै कुरा हो । यो हामीले भन्दा पनि चुनावपछि उहाँहरुको पार्टी केज्न्द्रीय समिति बैठकमा त्यसलाई एजेण्डा बनाएर छलफल गर्नुभएको सञ्चार माध्यमबाट हामीले थाहा पायौं । त्यतिबेला पनि प्रचण्डलाई बम हान्नु ठीक र बेठीक भन्ने दुई धारमा उभिएर उहाँहरुका बीचमा बहस भएको थियो । त्यसमा उहाँहरुले महसुस गर्नुपर्ने पाटो छ । तर, पार्टी विभाजनमा संस्थापन पक्षको पनि कमजोरी थियो कि भन्ने कुरालाई पनि हामीले बिर्सन मिल्दैन । अर्को कुरा प्रचण्डलाई बम पड्काउने र विद्युतीय धराप थाप्ने प्रवृृत्ति अहिले पनि एकतामा आएको छैन । त्यो प्रवृत्तिले प्रचण्डलाई भौतिक रुपमै सिध्याउन चाहेको थियो । तर, सकेन । प्रचण्डलाई सिध्याउन खोज्ने त्यो प्रवृत्ति एकता प्रक्रियाबाहिरै छ । त्यस कारण जो–जो पार्टी एकतामा आउनुभएको छ, उहाँहरुले कान समातेर उठबस गर्नुपर्छ भन्नेमा हामी छैनौ. ।

    त्यसो भए अर्को चुनाव हुँदा प्रचण्डलाई बम पड्काउने खतरा बाँकी नै छ ?

    त्यो खतरा बाँकी छ । त्यति मात्र होइन, एकथरी मानिसहरुको अहिल्यैदेखि तयारी पनि छ । आफू सिन्को नभाँच्ने र प्रचण्डलाई गद्धार र धोकेबाज बन्नेहरु अहिले पनि बम बनाइरहेका छन् । हो उनीहरुले गर्नुपर्छ रियलाइज । त्यो समूह एकतामा नआएको पनि फेरि प्रचण्डलाई बम हान्नकै लागि हो ।

    तपाईं व्यक्तिगत रुपमा प्रधानमन्त्री प्रचण्डसँग सँगै बसेको मात्र होइन, उहाँले रुचाएको व्यक्ति पनि हो । दोश्रोपटक प्रधानमन्त्री भएको पाँच महिना भयो । सरकारका कामबाट अन्तुष्ट हुन सकिन्छ त ?

    प्रचण्ड सरकारले काम गर्न सकेन भनेर आलोचना गर्ने पक्षमा म छैन । संसदको तेश्रो दलका नेताको नेतृत्वमा बनेको सरकार हो यो । सरकारमा विभिन्न प्रवृत्तिहरु छन् । विकास निर्माणलगायत थूप्रै काम गर्न सक्छु भनेर प्रचण्ड सरकारमा जानुभएको हो भन्ने मैले चाहिं बुझेको छैन । मेरो बुझाइमा उहाँ संविधान कार्यान्यवन गरेर मुलुकलाई राष्ट्रिय एकताको सूत्रमा बाँध्ने कामका लागि उहाँ प्रधानमन्त्री बन्नुभएको हो । परिवर्तन धरापमा पर्ने खतरा बढेपछि परिवर्तन संस्थागन गर्नका लागि प्रचण्डको नेतृत्वमा सरकार बनेको हो । हाम्रो पार्टीभित्र यसबारे कुनै भ्रम र द्विविधा छैन । यथास्थितिवादीहरु सरकारमा हाबी हुँदा परिवर्तन उल्ट्याइदेलान भन्ने आशंका हामीलाई भयो ।

    पार्टी त सानो होला, तर हिजो नेपाललाई सिंगापुर बनाउने सपना बाँडेका नेता प्रधानमन्त्री हुँदा जनताले विकासको आशा गर्न नपाउने ?

    मैले पनि त्यही भनेको । संसदमा गणितको हिसाब हुन्छ । हाम्रो गणित कमजोर छ ।

    पार्टी तेश्रो भए पनि संसदमा बहुमतको समर्थन पाएका प्रधानमन्त्री हुन् । जनताका पक्षमा काम गर्न खोज्दा संसदले रोकेको छ र प्रधानमन्त्रीलाई ? त्यस्तो कुनै घटना भन्न सक्नुहुन्छ ?

    मैले माथि पनि भनें, हाम्रो संसदको गणितका कारण एउटै प्रवृत्ति भएकाहरुको सरकार बन्न सम्भवै छैन । विभिन्न प्रवृत्तिहरुबीच सन्तुलन कायम गरेर जानुपर्ने बाध्यता छ । अर्को हाम्रो कर्मचारी तन्त्र विकासमा बाधक छ । त्यसले परिवर्तनबाट आएको नेतृत्वको स्प्रिटमा काम गर्न सक्दैन । जोखिम उठाउनै डराउँछ । नेपालको कर्मचारी तन्त्रमा राजनीति हाबी छ । उनीहरु खुलेआम राजनीतिक कार्यकर्ता भएर हिंडेको देखिएकै छ । नेपालको कर्मचारी तन्त्रले परिवर्तनप्रति कहिल्यै उदार भएन र परिवर्तन संस्थागन गर्न दिँदैन ।

    जनताको काम छाडेर राजनीति गरेर हिंड्ने कर्मचारीमाथि कारबाही गर्न कसले छेकेको छ र सरकारलाई ?

    राजनीति गरेर हिंड्ने कर्मचारीमाथि सरकारले चाहँदा कारबाही गर्न सक्छ । तर, सरकार भनेको कमरेड प्रचण्ड मात्र होइन । सरकारमा सबैभन्दा ठूलो साझेदार काँग्रेस छ । यो कुरामा काँग्रेसको साथ हुँदैन । किनकी उसका पनि कर्मचारीमा धेरै कार्यकर्ता छन् । काँग्रेसको साथबिना त्यस्ता कर्मचारीमाथि कसरी कारबाही गर्ने ? हाम्रो बहुमत थियो भने हामीले जानेका थियौं ।

    तपाईंकै दाबी पत्याउने हो भने यो सरकार संविधान कार्यान्वयनका लागि बनेको हो । खै त संविधान कार्यान्यवन भएको ?

    प्रयत्न भइरहेको छ । प्रधानमन्त्रीको जोडबलमा संसदमा संविधान संशोधन प्रस्ताव टेबल भएको हो । यो दुनियाँलाई थाहै छ । तर, संसदको दोश्रो र मुलुकको जिम्मेवार पार्टी एमाले संविधान कार्यान्वयनप्रति कत्ति पनि जिम्मेवार र गम्भीर नहुँदा अप्ठेरो परेको छ ।

    जसका लागि भने संविधान संशोधन गर्न खोजियो, उनीहरु पनि त खुसी भएका छैनन् त ?

    हो, संविधान संशोधन नभए देशै रहँदैन भन्नेहरु पनि जिम्मेवार हुन सकेनन् । प्रधानमन्त्री वा सरकारले मात्र चाहँदैमा समस्या समाधान हुने होइन । तर, प्रधानमन्त्री र सरकारका तर्फबाट त्यसका लागि प्रयत्न भइरहेकै छ ।
    विदेशीहरुको चाहनामा संविधान संशोधन गर्न खोजेपछि देशभित्रको शक्तिबीचमा कसरी कुरा मिल्छ त ?
    प्रचण्डलाई विदेशीको चाहनामा नेपालका कुनै काम गर्ने चाहना पनि छैन । गर्न जरुरी पनि छैन । मैले नजिकबाट चिनेको प्रचण्ड त्यो स्तरको नेता होइन । प्रचण्ड समकालिन नेपालमा सबैभन्दा राष्ट्रवादी नेता हो । यो कुरा भविष्यले देखाउँछ ।

    प्रचण्डका बारेमा आजको दिनमा तपाईंको यस्तो दाबी कसैले पत्याउलान् त ?

    कमरेड प्रचण्डको व्यवहारले पुष्टि हुन्छ त्यो कुरा । उहाँ राष्ट्रवादी, परिवर्तन प्रेमी र गणतन्त्रवादी नेता हो । यो कुरा इतिमासमा बारम्बार पुष्टि हुँदै आएको छ । सरकारको नेतृत्वमा बसेका कारण विभिन्न मुलुकका मानिससँग भेटघाट गर्नुपर्छ, छलफल गर्नुपर्छ । त्यही आधारमा विदेशीसँग झुकेको आरोप लगाउनु प्रचण्डको मुलुक र जनताप्रतिको समर्पण र इमानमाथि प्रश्न उठाउन मिल्दैन । अर्को कुरा प्रचण्डले देशका नदीनाला र प्राकृतिक सम्पदा भारुमा बेचेर बालकोटमा बंगला ठड्याउनेहरुबाट राष्ट्रवादको परीक्षा पास गरेको प्रमाणपत्र ग्रहण गर्नुपर्दैन । प्रचण्डको राष्ट्रवादमाथि प्रश्न उठाउनेहरुले रुक्मांगत कटवाललाई जननिर्वाचित सरकारले कानूनअनुसार बर्खास्त गर्दा कुनकुन शक्ति केन्द्रमा कसरी हारगुहार गरेका थिए र कसको खुट्टा समातेका थिए भन्ने कुरा हामी माओवादीरुको कुरा सुन्नुपर्दैन कटवालकै पुस्तक पढे ऐनाजत्तिकै छर्लङ्ग हुन्छ । कटवालको पुस्तकमा राष्ट्रवादका चर्का कुरा गर्नेहरुको गन्धा अनुहार ऐनामा जत्तिकै टल्किएको छ ।

    यदि आरोपहरु गलत हुन् भने माओवादी आफैंसमेत सहभागी भएको पूर्ववर्ती केपी ओली सरकारले चीनसँग गरेको पारवहन र व्यापार सम्झौता कार्यान्यवनमा किन सिन्कोसम्म भाँचिएको छैन त ?

    चीनसँग जो सन्धि÷सम्झौताहरु भएका छन् ती सबैको कार्यान्वयन गर्ने प्रक्रियामा सरकार छ । राज्यका केमानिज्महरुले दु्रत गतिमा काम गर्न नसक्दा ढिलाइ हुन गएको मात्र हो । नेपाल–चीन सम्बन्ध चिसिएकोबारे
    सार्वजनिक रुपमा यति धेरै प्रश्न उठिसकेपछि प्रधानमन्त्रीले त्यसबारे बोल्नुपर्ने होइन र ?
    अहिलेको मुख्य कार्यभार भनेको संशोधनमार्फत संविधानको सर्वस्वीकार्यता बढाउने र कार्यान्वयन गर्ने हो । त्यो काममा सरकार इमान्दारीपूर्वक लागेको छ । एकै समयमा धेरैवटा काम समानान्तर रुपमा अगाडि बढाउन सकिंदैन । सरकारको प्राथमिकता अहिले मुलुकभित्रै राष्ट्रिय एकता बलियो पार्ने हो । त्यसपछि मात्र छिमेकीहरुसँगको सम्बन्धको कुरा आउँछ । घरमा आगो लागिरहेका बेला पहिला घरको आगो निभाउनुपर्छ अनि छिमेकीलाई कुनै आशंका छ भने त्यसलाई मेटाउनुपर्छ । काम पनि भएका छन्, जस्तै उर्जामन्त्रीले प्रधानमन्त्रीको निर्देशनमा उर्जामन्त्रीले प्रधानमन्त्रीको निर्देशनमा उज्यालो नेपाल ‘उज्यालो नेपाल’ अभियानअन्तर्गत कसैले कल्पनै नगरको लोडसेडिङ अन्त्य गरेर देखाइदिनुभयो । त्यसरी नै अरु मन्त्रीहरुका पनि तोकिएका जिम्मेवारी छन् । सबैले काम गर्नुप¥यो नि त । सन्धि÷सम्झौता कार्यान्यवन गर्ने मन्त्रालयहरु छन् । मन्त्रालयका सबै काममा प्रधानमन्त्रीले हात हाल्न मिल्दैन । राज्यका सबै मेसिनरीहरुले एकैसाथ काम गर्ने अवस्था हाम्रोमा छैन ।
    त्यसको अर्थ मन्त्रीहरुले नै प्रधानमन्त्रीलाई टेरिरहेका छैनन् ?
    नटेरेको म भन्दिन । तर, प्रधानमन्त्रीको स्प्रिटमा मन्त्रीहरुले काम गर्न सकेका छैनन् । कर्मचारी तन्त्रलाई चलाएर काम गर्न सक्ने सामथ्र्य मन्त्रीहरुमा कमै देखियो ।

    पार्टी एकता भएको एक वर्षमा वाइसीएलको एकता गर्नुभयो, किन ?

    युवा संगठनका निश्चित मान्यता र चरित्र हुन्छन् । विधानले निर्देशित गरेको परिधिभित्र रहेर वाइसीएलको एकता सम्मेलन वा भेला गर्नुपर्छ भन्ने हाम्रो अडान थियो । हामीले उठाएको सैद्धान्तिक प्रश्नको जवाफ नदिँदै पार्टीले वाइसीएलको विधानविपरीत एकता गर्न निर्दशन दिएको थियो । हामीले युवा साथीहरुलाई ‘कन्भिन्स’ गर्न सकेनौं र हामी आफैं पनि ‘कन्भिन्स’ हुन सकेनौं ।

    वाइसीएलमाथि विगतमा रक्तचन्दन तस्करी र यार्सा गुम्बाको व्यापार गरेको जस्ता आरोप लागेको थियो । तस्करीका लागि किन पार्टीहरुले युवा संगठन बनाउनुप-यो र ?

    वाइसीएलले रक्तचन्दन तस्करी गरेको होइन, बरु तस्करहरुको कठालो समातेर खुलामञ्चबाट जनतासामु सार्वजनिक गरेको हो । अहिले पनि हामीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको रक्तचन्दन कति छ, सोध्नुस् । बरु रक्तचन्दन तस्करी गर्दै आएका अरु पार्टीका नेता र युवा संगठनलाई हामीले तस्करी राकेको मन परेन र गलत आरोप लगाइयो । वाइसीएलले जनपक्षीय काम गरेको सह्य नभएर हामीमाथि विपक्षीले नभएका आरोप लगाएका हुन् । उनीहरुले वाइसीएलको विघटनमा मात्र आफ्नो अस्तित्व देखेका थिए । वाइसीएलमा लागेका कारण व्यक्तिगत रुपमा कसैले खराब काम गरेको कुराको म जिम्मा लिन सक्दिन । तर, संस्थागत रुपमा हामीले धेरै राम्रा काम गरेका छौं ।
    जस्तै ?
    सरकारले कलंकी–थानकोट सडक विस्तारका लागि धेरैपटक प्रयत्न गरेको थियो । तर, सरकारले प्रहरी÷प्रशासन लगाएर पनि त्यो काम गर्न सकेको थिएन । तर, वाइसीएलले हामी सरकारलाई साथ दिन्छौं भनेर जनतासँग मिलेर बाटो विस्तारको काम थाल्ने वातावरण बनायो । अहिले बाटो फराकिलो पार्ने काम भइरहेको छ, त्यो हामीले गरेका हौं । काठमाण्डुमा गुण्डा राज थियो । व्यापारीहरु गुण्डाहरुसँग त्राहीमाम थिए । हप्ता असुली गरेर गुण्डाहरुले काँग्रेस र एमालेका नेतालाई बुझाउँथे । हामीले ती गुण्डाहरुका कठालो समातेर ठेगान लगायौं । अनि जुन पार्टीका गुण्डा थिए, हामीले उनीहरुका गलत कमाउ धन्दा बन्द गरिदिएपछि दानापानी बन्द भएर छटपटिएका विरोधी पार्टीका नेताहरुले हाम्रो बदनाम गर्ने कोसिस गरे । यो कुनै आरोप होइन । राजधानीलाई आतंकित पारेर गुण्डागर्दी गर्ने चक्रे मिलन, गणेश लामा, बाहुन डन, प्रहरी इन्काउण्टरमा मारिएका दिनेश अधिकारी ‘चरी’, कुमार घैंटे को थिए र उनीहरुको सञ्चालन कसकसले गरेका थिए भन्ने त छर्लङ्ग भइसकेको छ नि ? जसलाई गुण्डाहरुले लुटेर हप्तामा पैसाका बिटो बुझाउँथे वाइसीएलले ती गुण्डालाई ठेगान लगाएपछि ती नेताहरुका निद हराम भएका थिए । काठमाण्डुलाई हरियाली बनाउनुपर्छ भनेर सडकमा वृक्षारोपण गर्दा केही दल र नेतालाई टाउको दुःख्यो । अहिले हामीले रोपेका रुखहरुमा मानिसहरु शीतल तापिरेहका छन् । के रुख रोपेर राजधानी हरियाली बनाउनु हाम्रो अराजकता थियो ?

    तपाईंहरुको एकता भेलामा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले एमाले र केपी ओलीप्रति लक्षित गरेर मुलुकमा प्रतिगामी हावा बगाउनेको प्रतिकार गर्न दिर्नेशन दिनुभएको थियो । भेलाले त्यस्तै निर्णय गरेछ, कसरी गर्नुहुन्छ प्रतिकार ?

    हामी सकैका विरुद्धमा होइन, हाम्रो पार्टी र आन्दोलनलाई बचाउने काममै बढी सक्रिय हुन्छौ. । एमालेले विगतमा हामीविरुद्ध युवासंघलाई गुण्डागर्दीमा उतारेको थियो । त्यसका लागि उसले पेशेवर अपराधी र गुण्डाहरुलाई संगठनमा ल्याएको थियो । उदहरणका लागि पर्शुराम बस्नेत, बाहुन डन र चरीजस्ता खुंखार गुण्डाहरु एमाले युवासंघको नेता भए । प्रहरीको इन्काउण्टरमा गुण्डा मारिँदा संसद् अवरुद्ध गर्ने र नेपाल बन्द गर्ने पार्टी हो एमाले । हामी एमाले जसरी नांगो गुण्डागर्दी गर्दैनौं । किनकी युथफोर्स वाइसीएलप्रतिको प्रतिशोधात्मक भावनाले जन्मिएको जत्था थियो । वाइसीएल कसैको प्रतिशोधमा जन्मिएको होइन । यो कम्युनिष्ट युवाहरुको लिग हो ।

    वाइसीएल युवा लिग होइन, सिन्धुपाल्चोक लिग बनाउनुभयो रे तपाईंहरुले । जस्तै यसअघिका संयोजक आरसी शर्मा, महासचिव रामप्रसाद सापकोटा र तपाईं वरिष्ठ उपाध्यक्ष तीनैजना सिन्धुपाल्चोकबाट किन चाहिएको ?

    यो आन्दोलनले विकास गरेको नेतृत्व हो । आन्दोलनले कहिले चितवन नै चितवनको नेतृत्व विकास गरेको छ । कहिले रोल्पाको, रुकुमको गरेको छ । पार्टीको अध्यक्ष चितवनको, महासचिव चितवनको हुनुहुन्थ्यो, बाबुराम भट्टराई पार्टीको उपाध्यक्ष गोरखाको हुनुहुन्थ्यो । उहाँहरु सबै एउटै क्षेत्रको मानिसहरु हुनुहुन्थ्यो नि । जनयुद्धमा जनमुक्ति सेनाका प्रमुख चार कमाण्डरमध्ये सबैजना रोल्पा÷रुकुम वरिपरिका मात्रै हुनुहुन्थ्यो । तर, के जनमुक्ति सेना रोल्पा÷रुकुममा मात्रै थियो ? आन्दोलनको विशिष्ट अवस्थामा नेतृत्व विकास हुँखाखेरिको स्रंयोग मात्रै हो यो । हामी तपाईंले नाम लिएका मानिसहरु सिन्धुपाल्चोकका हौं । तर, हामी एकै ठाउँबाट विकास गरेर आएका होइनौं । कोही पूर्वमा, कोही काठमाण्डुमा, कोही मध्यमा र कोही पश्चिममा काम गरेकाहरु छौं हामी ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र