काठमाडौं, ९ माघ । आफैंमाथि छानबिन हुनुपर्ने माग गर्दै कलाकार दीपकराज गिरी र दीपाश्री निरौलासहित फिल्म ‘छक्का पञ्जा’ निर्माण समूहले गौशालाको महानगरीय प्रहरी वृत्तमा शनिबार निवेदन दर्ता गराएको छ ।
आजको नागरिक दैनिकमा खबर छ– नवलपरासी स्थायी घर भई काठमाडौंको सिनामंगलमा बस्दै आएका कृष्ण सुवेदीले छक्का पञ्जा पाइरेसीम संलग्न भएको आरोपमा प्रहरीबाट सफाइ पाइसकेपछि पनि गत पुस २८ गते ‘रहस्यमय सृसाइड नोट’ लेख्दै आत्महत्या गरे ।
त्यसपछि दीपक–दीपालाई आत्महत्यामा जिम्मेवार रहेको आरोप लगाउँदै सामाजिक सञ्जालदेखि कतिपय मिडियाले समाचार लेखे भने कारबाहीको माग गर्दै विद्यार्थी संगठनले प्रदर्शन गरे ।
सुवेदीले आत्महत्या गरेका बेला दीपक दीपा भने सोही फिल्मको प्रदर्शनका लागि युरोप पुगेका थिए । बिहीबार स्वदेश फर्किएका उनीहरुले शनिबार आत्महत्याप्रति गहिरो शोक प्रकट गर्दै सत्यतथ्य छानबिनका लागि उजुरी दिएका हुन् ।