हिमपातका कारण उच्च भेगमा अत्यधिक चिसो बढेपछि जंगली जनावर र पन्छीहरू औलतिर झरेका र सजिलैसँग जंगली जनावर तथा पन्छीहरूको सिकार हुने गरेको स्थानीयले बताए । राजधानी दैनिकले समाचार छापेको छ ।
जिल्लाका एक दर्जन बढी हिमाली गाविसका स्थानीय जंगली जनावरको सिकार गर्न हुल बाँधेर जंगल जाने गरेका छन् ।
सिकारीहरूले भरुवा बन्दुकलगायत घरायसी हातहतियार र कुकुरको सहयोग लिई सतुवा, घोरोल, बँदेल, थार, डाँफे र कालिजको सिकार गर्ने गरेकोे स्थानीयले बताए । स्थानीयका अनुसार उच्च हिमाली भेगमा हिमपात हुनासाथ गाँउका सबै पुरुष सिकार खेल्न जाने गर्छन् ।
स्थानीय बजार तथा सदरमुकाममा जंगली जनावरको मासुको राम्रै मूल्य पाउने भएकाले पनि चोरीसिकार बढी हुने गरेको स्थानीयले बताए ।
राष्ट्रिय पन्छी डाँफेको प्रतिगोटा १ हजारदेखि २ हजारसम्ममा बिक्री हुने गरेको छ भने मृगको मासु प्रतिकिलोको १ हजारदेखि १ हजार ५ सयसम्ममा बिक्री हुने गरेको वन्यजन्तुसिकारीहरू बताउँछन् ।
जिल्लाका हिमाली गाविस कैलाश, रिलु, काँडा, दौलिचौर, सुर्मा, मेलबिसैना, दाँतोलागायतका जंगलमा खुलेयाम चोरीसिकार भइरहेको भए पनि सरोकारवाला मौन रहेको सर्वसाधारणले बताए ।
जिल्लाका सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारी र राजनीतिक दलका नेतामा आफ्नो गाउँ क्षेत्रमा योजना र आफनो मान्छेलाई जागिर खुवाउन जंगली जनावर र पन्छीको मासु दिने होडबाजी नै चलेको छ ।
जंगली जनावरको चोरीसिकार नियन्त्रण गर्ने मुख्य जिम्मेवारी पाएका प्रहरी र वन कर्मचारीहरू नै खोजी खोजी मासु किन्न आउने गरेकोसिकारीहरूले बताए ।‘जिल्लाका हाकिम सा’पहरूबाट नै जंगली जनावरको मासु पठाइदिनू’ भन्ने आदेश आउँछ, नाम नखुलाउने सर्तमा एक सिकारीले भने, ‘अनि जसरी भए पनि हामीले मासु पु-याउने गरेका छौं ।’ सिकारीसँगै मिलेर जंगली जनावरको मासु किन्ने गरेको एक प्रहरीले बताए ।
‘दुई/चार वर्ष पहिला लेकमा हिउँ पर्नासाथ गाँउमै जंगली जनावर र पन्छीहरू आउँथे । आजकाल त सिकारीले रित्याइसक्यो,’ काँडाका केशव बोहोराले भने । उनका अनुसार आजभोलि त लेकमा समेत फाट्टफुट्ट मात्रमा जंगली जनावर र पन्छीहरू देखिन थालेका छन् ।