माघ ३ गते
सह–सचिव ज्यूसँग भेट गर्न सकिन्छ ?
सकिँदैन !
किन ?
उहाँ गोप्य मिटिङमा हुनुहुन्छ ।
आज (आइतबार) भेट हुन सक्छ कि सक्दैन ?
भन्न सकिँदैन !
मैले एउटा निवेदन दिएको थिए ? प्रगति के भए छ ?
के को निवेदन ?
भ्रष्टाचारसम्बन्धी ।
कहिले दिनु भएको ?
बिहीबार वा शुक्रबार ठ्याक्कै मिति याद भएन !
यस्ता निवेदन त कति आउँछ कति ? हेर्न सकिँदैन । कि मिति भन्नुस् कि निवेदनको विषय भन्नुस् !
त्यो त तपाईहरूको काम हो नि । खोज्नुस् न ।
तपाई को हो ? (झर्केर रिसाउँदै)
म सांसद हुँ ।
कुन दलको ? (होच्याउँदै)
नेपाली जनता दलको ?
नेपाली जनता दल त थुप्रै छन् । कुन दलको ?
नेपाली जनता दल एउटा मात्रै छ । त्यसको सांसद हुँ । त्यो दलको अध्यक्ष हुँ ।
ए…ए… तपाई जस्ता सांसद यहाँ ताँती लाग्छ क्या !
तपाईहरूले भनेकै आधार र दबाबमा यहाँ केही हुँदैन ।
यो सम्वाद हो स्थानीय विकास मन्त्रालयको चौथो तलमा रहेका स्वायत शासन महाशाखाका सह–सचिव रेश्मिराज पाण्डेकी निजी सहयोगीको । नायव सुब्बा शकुन्तला शर्माले आफ्नो मर्यादा र आचरण विपरित एक जना सांसदसँग आइतबार जथाभावी अभिव्यक्ति दिँदै थिइन् । शकुन्तलासँगै नजिकैको सोफामा बसेका पियनले पनि सांसदको खिल्ली उडाउँदै थिए ।
नेपाली जनता दलका सांसद तथा अध्यक्ष हरिचरण साह आफ्नो जिल्लामा भएको आर्थिक अनियमिततासम्बन्धी उजुरी स्थानीय विकास मन्त्रालयको स्वायत शासन महाशाखामा उजुरी दिएका रहेछन् । उनले दिएको उजुरी कहाँ पुग्यो भनेर फलो गर्न पुगेका सांसद साहलाई सह–सचिव पाण्डेकी निजी सहयोगी शकुन्तलाले अभद्र व्यवहार गरेपछि केही नबोलेर बाहिरिएका हुन् ।
सांसद साहले कुनै प्रतिक्रिया नदिँदा पनि नायव सुब्बा शकुन्तला शर्माले धेरै बेरसम्म जथाभावी बोल्दै सह–सचिव पाण्डेसँग आफ्ना बारेमा जे उजुरी गर्न मन छ गर्नुस् भनेर धम्की समेत दिएकी थिइन् । तर सांसद साहले ती नायब सुव्वाको किन उजुरी गर्थे र, गरेनन् ।
‘हाम्रो कर्मचारी प्रशासन नसुध्रने भयो’, सांसद साहले भने, ‘मन्त्रालयको नायब सुब्बा जो सह–सचिवको सहयोगी हो । उसले आफ्नो मर्यादा भुलेर व्यवहार गर्छ भने सर्वसाधारणले कस्तो अपेक्षा गर्ने ?’
नायब सुब्बा शकुन्तला शर्माले सांसद साहलाई अभद्र व्यवहार गरे पनि सो विषयमा उनले कुनै प्रतिक्रिया जनाएनन् । ‘आफ्नो पदीय मर्यादा भुल्ने निजी सहयोगीको कसलाई के भन्ने ? कसैलाई केही भनिन् । अपमान भए पनि सहे ।’ साहले आफू सानो दलको सांसद भए पनि जनप्रतिनिधि रहेको भन्दै निजामती कर्मचारीमा सुधारको खाँचो औँल्याए ।
सांसदसँग भएको अभद्रव्यवहारका विषयमा नायब सुब्बा तथा सह–सचिव पाण्डेकी निजी सहयोगी शकुन्तला शर्मासँग सोधिएको जिज्ञासामा उनले भनिन्, ‘यस्ता सांसदहरू कति आउँछन् कति ? तपाईलाई केही सोध्नु छ भने रेश्मिराज पाण्डेसँग सोध्नुस् । मलाई नसोध्नुस् ।’ उनले भनिन्, ‘तपाईलाई जे मन लाग्छ त्यही गनुस् ।’
कार्यालय समयमा निजामती कर्मचारीले लगाउने ड्रेस समेत नलगाएकी शकुन्तला शर्माले आफ्नो परिचयपत्र समेत लगाएकी थिइनन् । ‘मैले नम्र भाषामा उहाँको नाम सोधे तर भन्नु भएन’, साहले भने, ‘म उनको कार्यकक्षमा प्रवेश गर्दा कुर्सीमा लम्पसार परेर सुत्नु भएको थियो । कुनै औपचारिकता पनि पूरा नगरेर अभद्र व्यवहार गर्नुभयो । म त केही पनि बोलिन । के भन्ने ?’
स्थानीय विकास मन्त्रालयबाट बाहिरिएपछि सांसद साहलाई सह–सचिव पाण्डेले फोन गरेर आफ्नी निजी सहयोगी शकुन्तला शर्माले गरेको अभद्र व्यवहारका विषयमा मिडियावाजी नगर्न चेतावनीसमेत दिएका छन् । आफ्नो निजी सहयोगी नायव सुब्बा शकुन्तला शर्माले गरेको अभद्र व्यवहारलाई सच्चाउनुको साटो सह–सचिव पाण्डेले त्यसलाई ढाकछोप गर्न खोजेको सांसद साहको भनाइ छ । ‘सांसदलाई अभद्र व्यवहार गर्ने निजी सहयोगीलाई कारबाही गर्नुको साटो किन बचाउन खोजिएको होला ?’, सांसद साहले भने ।
सांसद साहले दिएको भ्रष्टाचारसम्बन्धी उजुरीको त कुनै सम्बोधन भएको थिएन । तर उनले अपमानित भएर सो शाखाबाट बाहिरिनु परेको छ ।
निजामती कर्मचारीहरूले सेवाग्राहीसँग अभद्र व्यवहार गर्ने गरेको यो पहिलो घटना भने होइन । बेलाबेला यस्ता घटना सार्वजनिक भइरहन्छन् । तर सिंहदरबारभित्र सहसचिवको निजी सहयोगीले बहालवाला सांसदलाई नै यसरी अभद्र व्यवहार गरेको घटनाले निजामती कर्मचारीहरूको गरिमामाथि ठूलो प्रश्न चिन्ह पुनः उब्जाइदिएको छ ।
दैनिक नेपाल बाट