काठमाडौं, २१ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गुमराहमा पारेर सरकारमा हालिमुहाली गर्दै आएका गृहमन्त्री विमलेन्द्र निधिलाई मधेसी मोर्चाले ‘नेरु’ को उपनाम दिएको खुलासा भएको छ ।
भारतसँग राम्रो सम्बन्ध रहेका निधिलाई मधेसी मोर्चाका नेताहरूले ‘नेरु’ भनेर सम्बोधन गर्ने गरेका हुन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
मधेसी मोर्चाभित्र केही समस्या पर्यो भने ‘नेरु’ सँग ‘कुरा गर’ भनेर भन्ने गरिन्छ । भारतीय पक्षसँग निकट रहेका निधिले मधेसी मोर्चाका ‘मै हुँ’ भन्ने नेताहरूलाई पनि पछाडि पारेका छन् । भारतीय पक्षसँग सिधै पहुँच राख्ने गरेका कारण मधेसी मोर्चाका नेताहरू निधिसँग डराउने गर्छन् । ‘विमलेन्द्र निधि भारतीय पक्षको खास मान्छे हुन्’, स्रोतले भन्यो,‘भारतले पनि निधिलाई धेरै विश्वास गरेको छ ।’
भारतको विश्वास पात्र भएकै कारण निधिलाई देउवाले छाड्न सकेका छैनन् । देउवाको विरात थाम्ने गरेर हैसियत बनाउँदै आएका निधिले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्दै आएका छन् ।
‘विमलेन्द्र निधिले आफूलाई कांग्रेसको सभापति र भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्ने गरेका छन्’, स्रोतले भन्यो,‘यस्तै अवस्था रह्यो भने विमलेन्द्र निधिले देशलाई भारतको शरणमा पुर्याउन बेर छैन ।’
मधेसी मोर्चाभित्र केही समस्या पर्यो भने भारतका विश्वासपात्र अर्थात ‘नेरु’ निधिसँग कुरा गर्ने भनेर सल्लाह आउने गरेको स्रोतको भनाई छ ।
निधिलाई मधेसी मोर्चाले पनि भारतपरस्त नेताका रुपमा चित्रित गर्ने गरेको छ । एमालेले पनि निधिलाई ‘भारतीय दलाल’ भन्दै निधिको आलोचना गर्दै आएको छ ।